१४ असार २०८१, शुक्रबार

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र


हेटौँडाबाट–कुलेखानी–काठमाडौँ फाइल फोटो

ढोरपाटन, बागलुङ । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो ।

पाँच वर्षअगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ । यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए ।

विसं २०७६ मा कालोपत्रको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने भए पनि यस वर्ष बल्ल कालोपत्र गरेको उनले बताए । निर्माण कम्पनीले यस वर्ष ९० प्रतिशत काम सक्ने अनुमान गरे पनि लक्ष्यमा पुग्न सकेको छैन ।

हटिया बजारबाट ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारा भन्ने स्थानसम्म मात्रै काम गरेको उनले जानकारी दिए । कम्पनीले २८ करोडमा जिम्मा लिएको थियो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले १९ वर्ष अगाडि स्थानीयले चन्दा उठाएर निर्माण गरेको सडक अहिलेसम्म कालोपत्र हुन नसकेको बताए ।

स्थानीय सरकारको सडक कालोपत्र गर्न स्रोत र साधानले नभ्याउने जनाउँदै समयमै स्तरोन्नति नहुँदा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको नगरप्रमुख गैरेले बताए । यस वर्ष थोरै भए पनि कालोपत्र हुँदा गलकोट र ताराखोलाका तल्लो क्षेत्रका नागरिकलाई सहज हुने जनाइएको छ ।

प्रमुख गैरेले भने, “प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्छौँ, नगरपालिकाको मात्रै स्रोतले नभ्याउने हुँदा अहिलेसम्म सडकको स्तरवृद्धि हुन नसकेको हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !