१८ असार २०८१, मंगलबार

पूर्व–पश्चिम राजमार्ग काँकडभिट्टा–केरखा खण्ड स्तरोन्नति गरिँदै


पूर्व–पश्चिम राजमार्ग

झापा । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ । पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने काम जारी रहेको एभ्रास्कन–कालिका जेभीका कन्ट्र्याक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताए । पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन–कालिका जेभीले लिएको छ । पूर्वी खण्डमा १८ पुल र एक सय ४३ कल्भर्ट निर्माण गरिने छ ।

हाल उक्त खण्डमा १० पुलको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी काम भइरहेको प्रसाईंले बताए । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल ६५ निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको छ । बर्खापछि राजमार्गमा आवागमन अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर कालोपत्र गरिने उनले बताए ।

हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने छ । यसरी स्तरोन्नतिको काम गर्दा यातायात अवरुद्ध कम हुन्छ । सडकमा अहिले माटो भर्ने काम भइरहेको छ । डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको प्रसाईंले बताए । स्तरोन्नति थाल्नुअघि सडक क्षेत्रका रुख काटिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !