१२ असार २०८१, बुधबार

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै


जोगबनी-कटहरी रेलमार्ग बिस्तार

धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ । रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ ।

विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो ।

मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ ।

पहिलो चरणमा जयनगरबाट कुर्थासम्म तथा दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सेवा सञ्चालनमा आइसकेको छ । तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म मार्ग निर्माण हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !