१९ असार २०८१, बुधबार

मूल्यवृद्धि भएको भन्दै बाँकेमा व्यवसायीले निर्माण कार्य ठप्प

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा


बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

नेपालगञ्ज । बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् ।

यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे ।

“पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँ”, अध्यक्ष खड्काले भने । सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन् ।

सङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले कतिपय व्यवसायीले साम्रगी खरिद गर्न नसकेकाले तनाव झेल्नुपरेको उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा यो अवस्था आएको बताए ।

सङ्घले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ । कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासो गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !