११ बैशाख २०८१, मंगलबार

विकासका काम धमाधम


गण्डकी, २२ वैशाख । पोखरा महानगरपालिका–३२ मा विकासका कामले तीव्रता पाएको छ । प्रदेश गौरवका आयोजनासँगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन लगायतका हरेक क्षेत्रमा विकासका कार्यक्रमले गति लिएका हुन् ।

नेपालको एकीकरणका क्रममा यस क्षेत्रका १२ वटा राज्यका राजा कास्कीको पूर्वी भेगमा जम्मा भई सम्झौता गरेको यहाँको ‘राजाको चौतारा’ लाई दोस्रो लोकतान्त्रिक जनआन्दोलनपछि नाम परिवर्तन गरी ‘जनताको चौतारा’ नामाकरण गरिएएको छ । मालमूल फाँटमा रहेको यस चौतारालाई इतिहासको साक्षीका रुपमा नेपाली सेनाको सहयोगमा पुनर्निर्माण गर्न थालिएको पोखरा महानगरपालिका–३२ का वडा सदस्य विष्णु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ऐतिहासिकता झल्कने स्वरुपमा उक्त चौतारा रु ४० लाखको लागतमा पुनर्निर्माण गर्न लागिएको हो ।

तत्कालिन समयमा यो चौतारा नेपालको पूर्वपश्चिम हिँड्ने मूल मार्गमा पर्दथ्यो । यहीँबाट काठमाडौँ, पश्चिमतिर जुम्ला र किल्ला काँगडासम्मको लस्कर चल्थ्यो । पूर्व पश्चिमबाट दक्षिणतर्फ हालको तनहुँ भीमादतर्फ जाने हुलाकी मार्ग पनि यहीँबाट छुट्टिने भएकाले हुलाकका जाँचकीले यही चौतारामा बसेर हुलाक जाँच्ने गरेको इतिहासमा उल्लेख छ ।

इतिहासमा युद्ध विराम गरिएको चौतारा भएकाले यसको गरिमा र महत्वलाई कायम गर्न शान्ति, मेलमिलाप र सहअस्तित्वको प्रतीकका रुपमा पुनर्निर्माण गर्ने तयारी गरिएको हो । पुनर्निर्माणका क्रममा ऐतिहासिक राजाहरूको झल्को आउने सालिक, स्तम्भ, बटुवा बस्ने टहरो, तलाउ, पानीको घडा, बगैँचासहितको पार्क, प्रतीक्षालय निर्माण गरिने वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो ।

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको यस वडामा गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा पोखरा महानगरपालिका–३२, मालमूलको स्यालतहरामा गण्डकी विश्वविद्यालयको भवनको हालै शिलान्यास गरिएको छ । दक्ष जनशक्ति उत्पादनका साथै र व्यावहारिक शिक्षा दिने स्थलका रुपमा विश्वविद्यालय स्थापित हुने विश्वास लिइएको छ । वडामा हाल आठवटा सरकारी विद्यालय रहेकामा एक गुरुकुलसहित दुईवटा मावि र पाँचवटा आधारभूत विद्यालय रहेका छन् ।

त्यस्तै, पाँचवटा संस्थागत विद्यालय छन् । निर्माणाधीन गण्डकी विश्वविद्यालय करीब ७४ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । विश्वविद्यालयका लागि मालमूल फाँट र गुठाको चौरको बीचमा ३५५ रोपनी जग्गा छुट्याइएको छ । वडा भित्रै बन्न लागेको प्रदेश बसपार्कको काम प्रक्रियागत रुपमा अघि बढेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कको जग्गाका लागि मुआब्जा व्यवस्थापनका लागि समिति गठन गरिसकिएको छ । प्रस्तावित बसपार्क बन्ने स्थानमा ९२ रोपनी सार्वजनिक जग्गा रहेको छ भने ६२ रोपनी लालपुर्जा एवम् ८० रोपनी सेतो पुर्जा सहितको जग्गा छ ।

वडाभित्र माछापालनको कार्यक्रमअन्तर्गत खुदी खोलामा माछापालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी सकिएको छ । उक्त आयोजनाअन्तर्गत वार्षिक रु दुई अर्ब २५ करोड बराबरका माछा उत्पादन हुने अनुमान गरिएको छ ।

पोखरा ३२ कै मजुवाको सात तरेमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि ५० रोपनी जग्गा छुट्याइएको छ भने उक्त क्षेत्रमा नै शहीद पार्क निर्माणका लागि २५५ रोपनी जग्गा छुट्याइएको छ । वडामै पर्ने महत्वपूर्ण पर्यटकीयस्थल रुपातालमा रुपाताल परियोजनाअन्तर्गत रु ४५ करोडमा बाँध बन्ने र साबिकको तालको सतहभन्दा थप चार मिटर माथिसम्म उचाइ थपिने वडाध्यक्ष कार्कीको भनाइ छ । पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्र्ने यस वडामा पूर्वाधार विकासका क्रमले गति लिएसँगै यहाँका राजाको चौतारा, मालमूल फाँट, गगनगौंडा, लामेआहाल लगायतका स्थानमा बस्ती विकासको क्रमले पनि गति लिँदै गएको स्थानीयवासी बताउँछन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !