८ मंसिर २०८१, शनिबार

ललितपुरको ग्वार्काेमा ‘फ्लाइ ओभर’ बनाइने


काठमाडौँ

काठमाडौँ । विभागले चालु आर्थिक वर्षमा ग्वार्काेमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्काेमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ ।

‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का सम्झौता भए पनि आगामी वर्ष निर्माणको काम हुने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार अहिले यसको डिजाइनको काम भइरहेको छ ।

विभागले सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । यी दुई स्थानमा आगामी वर्ष मात्रै प्रक्रिया शुरु हुने उहाँले बताउनुभयो । थापाले भन्नुभयो, “पहिले ग्वार्काेमा निर्माण शुरु भएपछि नै अरु दुई ठाउँमा निर्माणका लागि ठेक्का सम्झौता हुनेछ ।”

चीन सरकारले चार वर्ष पहिले विस्तार गरेको कोटेश्वर–कलङ्की सडकको तीन चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाइएको हो । विभागले आगामी वर्षमा सवारी चाप बढी भएका चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । चक्रपथकै अरु चोकमा र शहरी क्षेत्रका विभिन्न चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्दै जाने बताइएको छ ।

नेपालमा अहिलेसम्म ‘फ्लाइ ओभर’ निर्माण भई नसकेको भए पनि यसअघि बलम्बुमा निर्माण शुरु भएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण गर्दा सोही योजनाअन्तर्गत त्यहाँ ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो । आगामी तीन वर्षमा आयोजना सम्पन्न हुँदा ‘फ्लाइ ओभर’ पनि निर्माण भइसक्ने छ ।

सरकारले आफ्नै लगानी र वैदेशिक लगानी दुवैमार्फत ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । चीन सरकारले नै निर्माण गर्ने भनिएको कलङ्कीबाट धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘अण्डर पास’ र ‘फ्लाइ ओभर’ निर्माण गर्ने गरी डिजाइन भएको थियो ।

काठमाडौँ उपत्यकाको बढी सवारी चाप रहेको चोकमा पर्ने थापाथली र जडीबुटी चोकमा पनि ‘फ्लाइ ओभर’ निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले चासो देखाएको छ । नियोगले अध्ययन र छलफल गरे पनि ठोसरुपमा कुनै निर्णय भने भइसकेको छैन । उपत्यकामा धेरै ठाउँमा सडक विस्तार गरिए पनि चोकमा सवारी चाप कम नभएकाले ‘फ्लाइ ओभर’ निर्माणको आवश्यकता भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !