११ पुस २०८१, बिहीबार

तेह्रमध्ये पाँच मोटरेबल पुल मात्र निर्माण


पुल निर्माण

अमरगढी। वर्षौँ बितिसक्दा डडेल्धुरा जिल्लामा निर्माण भइरहेका पक्की मोटरेबल पुल सम्पन्न हुनकिरहेका छैनन् । साना–ठूला गरी १३ वटा पुलको निर्माण गरिसक्नुपर्ने समयावधि सम्पन्न भइसकेको छ ।

निर्माणको जिम्मेवारी पाएको ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेका हुन् । अधिकांश पुल निर्माणको काम ५० प्रतिशत पनि सम्पन्न हुनसकेको छैनन् । निर्धारित समयमा पुल निर्माण नहुँदा अहिले स्थानीय बासिन्दालाई जोखिमपूर्णरूपमा आवजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

डिभिजन सडक कार्यालय डोटीको सहयोगमा जिल्लामा निर्माण भइरहेका ती सम्पन्न हुन नसक्दा ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुने गरेको छ । ती पुलमध्ये पाँच मात्र निमार्ण सम्पन्न भएको कार्यालयले जनाएको छ । बाँकी पुल समयमै सम्पन्न नहुँदा आफूहरुले सरकारले दिएको सेवा सुविधा प्रयोग गर्नबाट बञ्चित हुनुपरेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय लोकेन्द्र विकले बताउनुभयो ।

उहाँले भन्नुभयो“नवदुर्गा गाउँपालिका–२ सँग जोडिने सडक रडूवाखोला–मणिलेक सडक पर्ने पुल करिब चार वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।” हरेक वर्ष असार मसान्तमा सम्पन्न हुने भने पनि ठेकेदार डिभिजन कार्यालयसँग थप म्याद गरी काम ढिलाइ गर्ने गरेका स्थानीयवासीको गुनासो छ ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रङ्गुन पुल काम थालनी भएकोे सात वर्ष बितिसकेको छ । उक्त स्थानमा पुल बन्दा मुख्य धाममध्येको चौथो धाम परशुरामधामलगायतका पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाशकुमार पाण्डयेले जानकारी दिनुभयो ।

हाल जिल्ला निर्माणाधीन मोटरेबल पुलमध्ये पाँच पुल सम्पन्न भएको कार्यालयका इञ्जिनीयर वीरेन्द्र चन्दले जानकारी दिनुभयो । निर्माण गर्दागर्दै कुनै समस्या आएमा मात्रै काम सम्पन्न गर्न म्याद थप गर्नुपर्ने भए पनि जिल्लामा बिनाकारण म्याद थप गरिएको छ । विभिन्न कारणले समयमै निर्माण कम्पनीले काम सम्पन्न नगर्दा म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा निर्माण भइरहेका ती पुलको निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद एक वर्ष थप गरिएको छ । पुल निर्माण नहुँदा वर्षात्को समयमा स्वास्थ्य उपचारदेखि आवश्यक दैनिक उपभोग्य सामग्री किन्नका लागि समेत स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ । बिनाकारण म्याद थप गरेर निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारवाही गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।

पुल निर्माणका क्रममा जिल्लामा निर्माण अवधि लम्ब्याइ ठेकेदारले खोलाबाट गिट्टी, बालुवा र ढुङ्गाजस्ता नदीजन्य सामग्री अन्य ठाउँमा निकासी भइरहेको र स्थानीय सरकारले चासो नदेखाएका कारण करोडौँ मूल्यको नदीजन्य सामग्री निकासी भएको स्थानीयवासीको गुनासो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !