७ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा दर्जन पुल निर्माण अन्तिम चरणमा


पुल निर्माण

जाजरकोट, ४ असोज । भेरी करिडोरमा पुल निर्माण कार्य तीव्र बनाएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

पश्चिम जाजरकोट हुँदै पूर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुन लागेका हुन् । भेरी करिडोरअन्तर्गत छेडागाड–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा यो सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छवटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छवटा पुलको काम अन्तिम चरणमा पु¥याएको छ ।

तोकिएको समयभन्दा ढिलो गरी निर्माणकार्य सम्पन्न हुन लागेका यस खण्डका पुलहरु डिजाइनमा समस्या आएपछि केही समय ढिला भएको रसुवा सूर्य कन्स्ट्रक्शन जेभीका सञ्चालक सूर्यबहादुर खड्काले बताउनुभयो । लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ ।

यस सडकखण्डको जिरोविन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलको लागि बोलपत्र आह्वान भएको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाडखोला र ताँसुखोला (चौखा) मा पुल निर्माणका लागि काम शुरुको प्रक्रिया अगाडि बढिसकेको छ । यो मध्ये नलगाड नदी र झुर्मेखोलामा पुस मसान्तभित्र पुल निर्माण कार्य सम्पन्न भइसक्ने छ । सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो । त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ ।

रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो । त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुईवटा पुल निर्माणका लागि बोलपत्र आह्वानको कामसमेत भएको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि कालोपत्र गर्न शुरु भएर काम चालू अवस्थामा छ ।

यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुलपुलेसा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारण वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताउनुभयो । पासागाडबाट यो सडकखण्डको कालोपत्रको कामसमेत शुरु भएको छ । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रोसामु अवसर र चुनौती दुवै रहेको जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”

सडक हस्तान्तरणपछि पुल निर्माण शुरु

भेरी करिडोरभित्रको जाजरकोट–डोल्पा सडकखण्ड एक पर्यटकीय रुटको रूपमा समेत रहेको छ । यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्षभन्दा बढी समय लगाएर ‘ट्रयाकओपन’ गरेको यो सडक अघिल्लो वर्ष मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो ।

एक सय १६ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडकखण्डभित्र नलगाड जलविद्युत् आयोजना (११७ मेगावाट) र जगदुल्ला जलविद्युत् आयोजना (१०६), ताँसुगाड जलविद्युत् आयोजना (४.५ मेगावाट) र भेरी एबिसी आयोजना निर्माणमा सहजता हुनेछ । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डमा ३३ केभी विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । चार सय केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ । त्यस्तै मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम पनि शुरु भएको छ । त्यस्तै जाजरकोट–जुम्ला सडकखण्डको कामसमेत चालू अवस्थामा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !