२० असार २०८१, बिहिबार

कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै कर्णाली सरकार


कर्णाली प्रदेशसभा

सुर्खेत, २२ वैशाख । प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ ।

भारतसँग सिधै जोडिएको बाँके नेपालगञ्ज र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्ने सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोना प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी भएको बताउनुभयो ।

“हामी यतिबेला सीमानाका र आवश्यकीय क्षेत्रका लागि स्वास्थ्य जनशक्ति तयार गरेका छौँ । यो प्रदेशको स्वास्थ्य अवस्था र जनशक्तिका विषयमा थप तयारी गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको बैठक बसालिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सशक्तिकरण गर्नेतर्फ हामी जोड दिइरहेका छौँ ।” यहाँका हरेक नागरिकलाई आत्मानुशासित र सजग गराउन सचेतनाका कार्यक्रमलाई पनि अगाडि बढाइने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोरोना प्रतिकार्यको रणनीतिक योजना अगाडि बढाउनका लागि आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठक बोलाइएको छ । सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालकोतर्फबाट विभिन्न ठाउँमा जनशक्ति खटाउने तयारी भइरहेको र सीमा नाकामा कन्ट्र्याक ट्रेसिङलाई पनि बढाउन लागिएको उहाँको भनाइ छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सीमा नाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिक आवतजावत रोक्ने र सीमा नाकामा परीक्षण बढाउने कार्यमा थप जोड दिइने बताउनुभयो । कर्णाली सरकारले कोरोना महामारीबाट बच्न र सुरक्षित हुन कर्णालीवासीलाई अपिल पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !