८ मंसिर २०८१, शनिबार

हावाहुरी प्रभावितलाई एक करोड दिइने


२२ चैत, रुपन्देही । प्रदेश नं ५ सरकारले बारा र पर्सा क्षेत्रका हावाहुरी प्रभावितलाई रु एक करोड सहयोग गर्ने भएको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावितहरुको सहयोगका लागि रु एक करोड रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

गत आइतबार साँझको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको थियो । यस्तै मन्त्रिपरिषद्को बैठकले अस्वस्थ रहनुभएका काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । क्यान्सर रोगले ग्रस्त हुनुभएका पोखरेल अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत रहनुभएकाले उहाँको उपचारमा सरकारले सहयोग गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताउनुभयो ।

यसैगरी प्रदेश सरकारले प्रदेश सभाका सदस्यको जीवन बीमा गर्ने निर्णय समेत गरेको छ । एकजना बराबर रु १० लाखको स्वास्थ्य बीमा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा÷नगरसभाको कार्यसञ्चालन कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेशको आवधिक योजनाको आधारपत्र ०७६/७७ —०८०/८१ र प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन स्वीकृत गर्ने, कानून मस्यौदा तथा सुझाव आयोगको कार्यविधि थप गर्ने र आयोगका अध्यक्ष तथा सदस्यको म्याद थप गर्ने तथा प्रदेशको घरेलु सौर्य ऊर्जा प्रणाली अनुदान कार्यविधि स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकले बाँकेको खजुरा गाउँपालिकाको केन्द्र परिवर्तन गरी बागेश्वरीमा रहेको वडा नं– ३ स्थित बागमती नगरमा कायम गर्न गाउँपालिकाले गरेको प्रस्ताव सरकार समक्ष पठाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !