१४ पुस २०८१, आइतबार

खोटाङमा विदेशबाट आएका सबै रिपोर्ट ‘नेगेटिभ’


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

खोटाङ, १३ वैशाख । विदेशबाट घर फर्किएका खोटाङका ११५ स्थानीय बासिन्दाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा १५ व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसीआर परीक्षण गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न ¥यापिड डायग्नोष्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाबाट वैशाख ३ गतेदेखि अभियानकै रूपमा शुरु गरिएको पहिलो चरणको आरडिटी उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका पुगेर टुङ्ग्याइएको हो ।

रावाबेँसीका तीन, साकेला गाउँपालिकाका १५, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नौँ, हलेसी तुवाचुङ नगरपालिकाका २३, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाका पाँच÷पाँच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आठ, खोटेहाङ गाउँपालिकाका २६, बराहपोखरी गाउँपालिकाका एक र जन्तेढुङ्गा गाउँपालिकाका २० जनामा आरडिटी गरिएको थियो । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन जिल्लाका १० वटै स्थानीय तहमा पुगेर आरडिटी गरिएको हो ।

प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्ने १२० किट पठाएपछि विदेशबाट फर्किएका व्यक्तिको आरडिटी शुरु गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि विदेशबाट १४० जना घर फर्किएको भए पनि चैतयता घर आएका व्यक्तिको मात्र आरडिटी गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

आरडिटीका क्रममा खोटाङबाट पिसीआर टेष्टका लागि पठाइएको नमूना स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको संयोजक चाम्लिङले बताउनुभयो । संयोजक चाम्लिङका अनुसार जिल्लाबाट १६ नमूना सङ्कलन गरेर पठाइएकामा १५ जनाको नमूना स्वाबको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । जिल्लाबाट पठाइएकामध्ये एक जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा परीक्षण गरिएको आरडिटीको रिपोर्ट नेगेटिभ देखिए पनि १० प्रतिशतको नमूना सङ्कलन गरेर पिसीआर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।

खोटेहाङ गाउँपालिकाबाट पाँच, हलेसी तुवाचुङ नगरपालिकाबाट छ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट चार र जन्तेढुङ्गा गाउँपालिकाबाट एक जनाको पिसीआर टेष्टका लागि नमूना पठाइएको थियो । यसभित्र फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीसँगै कतारबाट काठमाडौँसम्मको यात्रा गरेका एक युवा तथा उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुर ठानागाउँका एक पुरुषको पिसीआर रिपोर्ट पनि समावेश गरिएको थियो ।

प्रदेश सरकारले पठाएको किट अपुग भएकाले थप माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सामग्री भने पर्याप्त आइसकेको जनाइएको छ । जिल्लाका दश वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि निर्माण गरिएका क्वारेन्टाइन बस्नेको सङ्ख्या ८७ जना मात्र रहेको छ ।

बेलायतमा खोटाङकी एक युवतीको मृत्यु, १२ जना सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पु्ख्र्यौली घर भई हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको बेलायतमा मृत्यु भएको हो ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित बिमालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतस्थित जर्ज इलियट अस्पतालमा भर्ना गरेर उपचार गर्ने क्रममा मृत्यु भएको समाजसेवी एवं ब्रिटिस गोर्खा भेट्रान एशोसिएशनका महासचिव भीम सारुले बताउनुभयो । अहिलेसम्म अविवाहित रहेकी बिमाको मङ्गलबार मृत्यु भएको हो ।

उनी पूर्व गोरखा सैनिक बाबुसँगै बस्न गत वर्ष बेलायत पुगेकी थिइन् । बुबा, आमा र बहिनीका साथमा बेलायतस्थित नटिङ्घम बस्दै आएकी बिमाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युको विषयमा किराँत रदु नाछिरिङ साखाम केन्द्र केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमार्फत दुःख व्यक्त गरेको छ ।

यसैबीच बेलायतमा बस्दै आएका १२ खोटाङ्गेलाई कोरोना सङ्क्रमण भएको खोटाङ सेवा समाज युकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा एक, बेजिङस्टकमा छ, आशफोर्डमा तीन तथा क्याट्रिक र ओकिङमा एक÷एक जना खोटाङ्गे सङ्क्रमित भएको उल्लेख छ । उनीहरुको अहिले बेलायतस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बेलायतमा उपचाररत सङ्क्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको खोटाङ सेवा समाज युकेले जनाएको छ ।

यता १० स्थानीय तह रहेको खोटाङ जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् । छिमेकी जिल्ला उदयपुरमा एकैदिन १२ सङ्क्रमित भेटिएलगत्तै खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गर्ने घोषणा गरे पनि बाहिरी जिल्लाबाट प्रवेश गर्नेको सङ्ख्या रोकिएको छैन । लकडाउनका कारण यातायात सञ्चालन नभएपछि रोकिएर बसेका स्थानीय बासिन्दा समस्यामा परेको गुनासो आउन थालेसँगै स्थानीय तहले उद्धार शुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !