खोटाङ, १८ चैत । कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बस्ने उनीहरु सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको छ । गत फागुन २९ गते दुबईबाट नेपाल फर्किएका रतन्छाका २६ वर्षीय युवालाई शनिबार बेलुकादेखि क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । रतन्छास्थित साकेला माविमा निर्माण गरिएको १० श्ययाको क्वारेन्टाइनमा उनलाई १४ दिनका लागि राखिएको हो ।
यस्तै यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुईमध्ये एक अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन् । केपिलासगढी गाउँपालिकाका एक युवा धरानस्थित क्वारेन्टाइनमा बसे पनि जन्तेढुङ्गा गाउँपालिकाका अर्का युवा भने होम क्वारेन्टाइन बसेका हुन् ।
उनलाई गत चैत १२ गते साँझदेखि १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्ने गरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताउनुभयो ।
नेपालमा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेक्रम शुरु भएसँगै जिल्लामा पनि क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेमा स्थानीय तहबीच होडबाजी नै चलेको थियो तर विदेशबाट फर्किनेको सङ्ख्या अधिक भए पनि निर्माण गरिएका क्वारेन्टाइनमा राख्नेतर्फ ध्यान गएको छैन ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका कतिपय स्थानीय तहले भर्खरै मात्र विदेशबाट फर्किएका व्यक्तिको लगत सङ्कलनको काम शुरु गरेको पाइएको छ । यसअघिदेखि नै लगत सङ्कलन शुरु गरिएका कतिपय स्थानीय तहमा समेत अहिलेसम्म यकिन तथ्याङ्क जम्मा भइसकेको छैन ।