११ मंसिर २०८१, मंगलबार

पहुँचयुक्त संरचनाको कर्णाली बनाऔँ : नगरप्रमुख सुवेदी


कर्णाली । विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत दुई दिनसम्म सञ्चालन भएको ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’सम्बन्धी तालिम समापन कार्यक्रममा सोमबार नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरसहित कर्णालीमा निर्माण हुने सम्पूर्ण संरचना पहुँचयुक्त बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटीविज्ञ) र पत्रकार सञ्चारकर्मीबीचको छलफलबाट पहुँचयुक्त डिजाइनको आवश्यकता र औचित्यबारे निर्माण गरेको मस्यौदा नगरपालिकामा पेश गर्न भन्दै नगरप्रमुख सुवेदीले सिकेका कुरा सबैका लागि हुने गरी जीवन व्यवहारमा उतार्न सुझाउनुभयो ।

महासङ्घका अध्यक्ष विष्णुप्रसाद शर्माले पहुँचयुक्त संरचना नितान्त आवश्यक भएको बताउनुभयो । “अब सेवा प्रदायक हरेक निकायले पहुँचयुक्त वेबसाइट निर्माण गर्नुपर्दछ”, अध्यक्ष शर्माले भन्नुभयो, “हामीले तत्काल कर्णालीका वीरेन्द्रनगर तथा लेकबेँसी नगरपालिका र गुराँस तथा सिम्ता गाउँपालिकालाई पहुँचयुक्त पालिका निर्माणमा जोड दिँदैछौँ ।”

उहाँले कर्णालीमा हालसम्म दोभाषे जनशक्ति नहुँदा अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको गुनासो पोख्नुभयो । अपाङ्गता भएका व्यक्ति रमेश केसीले कागजमा लेखिएको अधिकारले अपाङ्गताका समस्या हल नहुने भन्दै कार्यान्वयतर्फ जोड दिन सरोकारवालालाई आग्रह गर्नुभयो । प्राविधिकद्वय रोशनी शाही र विशेष शर्माले तालिमले सर्वमान्य सिद्धान्तमा आधारित भएर संरचना निर्माण गर्न नौलो सीप प्रदान गरेको र परम्परागत नभई पहुँचयुक्त संरचना निर्माणमा जान आँखासमेत खुलेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका आर्किटेक्ट परामर्शदता मिलन बगाले र ‘हामीलाई पनि समावेश गर’ परियोजनाका संयोजक विमल पौडेलले पहुँचयुक्तताको सर्वव्यापी सिद्धान्तबारे प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकद्वयले पहुँचयुक्तताको विश्वव्यापी सिद्धान्तसँग सम्बन्धित न्यायोचित प्रयोग, प्रयोगमा लचकता, सरल र सहज पहुँच, इन्द्रीयगोचर (प्रत्यक्ष÷स्पष्ट) सूचना, त्रुटिप्रति सहिष्णुता, न्यून बलको प्रयोग, पहुँच र उपयोगका लागि आकार एवं स्थानका बारेमा प्रष्ट्याउनुभएको थियो ।

तालिममा अपाङ्गता भएका व्यक्ति (बहिरा)लाई प्रशिक्षकद्वय दिलमाया गुरुङ (पोखरा) र स्मृति योगी (दाङ)ले साङ्केतिक भाषाबाट तालिममा उठेका विषय तथा सवालको अनुवाद गर्नुभएको थियो । उक्त तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !