६ जेष्ठ २०८१, आइतबार

पार्टीलाई भावनात्मकरूपमा एकताबद्ध बनाउनु मुख्य कार्यभार : इन्चार्ज गुरुङ


पृथ्वीसुब्बा गुरुङ

कास्की, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक एवं भावनात्मकरूपमा अझै एकताबद्ध बनाउनु मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

२७औँ मदन–आश्रित दिवस एवं दोस्रो पार्टी एकता दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र)का बीचको एकतापछि नेपालको कम्युनिस्ट आन्दोलनले देशभित्र मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भइ विश्व कम्युनिस्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी जनताको जनवादी व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई २१औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रूपमा स्थापित गर्नका लागि बलियो आधार तयार पार्न पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अघि बढाउँदै निष्ठा र धैर्यतापूर्वक लाग्न आजको यस दिनले हामी सबैलाई थप प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।

मानव जातीको अस्तित्वका लागि चुनौती बनेर आएको कोभिड–१९ विरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस सङ्कटको बेलामा अझ दृढतापूर्वक जुट्नसमेत थप प्रेरणा प्राप्त होस् भन्ने कामना इन्चार्ज गुुरुङले गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !