६ जेष्ठ २०८१, आइतबार

पाँचौँ भूकम्प स्मृति दिवसमा मुख्यमन्त्री गुरुङको सन्देश


पृथ्वीसुब्बा गुरुङ

चिप्लेढुङ्गा, १२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले आज जारी गर्नुभएको सन्देशमा उक्त श्रद्धासुमन व्यक्त गर्नुभएको हो । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो ।

सन्देशमा भनिएको छ, “यतिबेला भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्यता बटुलेर एकापसमा सहकार्य र सहयोेगको भावनाका साथ उद्धार, राहत र पुनःनिर्माणको अभियानमा जुटेको इतिहास स्मरण गर्न र गराउन चाहन्छु । हामी अहिले विश्वव्यापी महाविपद कोभिड–१९को महामारीविरुद्धको लडाइँमा छौँ । सङ्कटै सङ्कटको गर्भबाट गुज्रँदै समाधानको बाटो हिँडेको हाम्रो गौरवशाली इतिहास र आजको दिन कोभिड–१९ले निम्त्याएको महासङ्कटमाथि विजय प्राप्त गर्न हामी सबैलाई अवश्य प्रेरणा दिनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ ।”

सन्देशमा मुख्यमन्त्री गुरुङले उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको सङ्क्रमणबाट जोगिन पूर्व सतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको र लकडाउनको पूर्ण पालनासहित सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका निर्देशन र सूचनालाई व्यवहारमा पूर्ण कार्यान्वयन गर्नका लागिसमेत आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !