१२ आश्विन २०८१, शनिबार

पोखरामा गीतकार प्रतिष्ठान गठन


पोखराको फेवातालमा डुंगा पल्टिँदा

चिप्लेढुङ्गा, ३ चैत । पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् ।

खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ । खनियाको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…, सबको पिरतीमा दरबार हुन्छ…’ लगायत गीत चर्चित छन् ।

त्यसैगरी समितिको उपाध्यक्षमा शीतल गिरी रहनुभएको छ । उहाँको ‘मविना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गीत निकै चर्चित छ । महासचिवमा अनुराग अधिकारी चयन हुनुभएको छ । उहाँको ‘नानीको चञ्चले बानीले बिगा¥यो…, ‘कहिले फूल बनी फक्रेर फुलूँ भन्छ मन…’ लगायत गीत चर्चित छन् ।

प्रतिष्ठानको कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यहरुमा रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन हुनुभएको छ ।

यसैबीच प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पँगेनी ‘शिव’, डा कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकारमा चयन गरिएको छ । प्रारम्भिक चरणको भेलामा उपस्थित गीतकारहरुमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारहरुलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न विधागत संस्थाहरु स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष खनियाले बताउनुभयो । उहाँले गीतकारको हकहितका लागि कार्य गर्ने, गीतकारको अस्तित्व र पहिचानको खोजी गर्नेलगायत उद्देश्य रहेको प्रतिष्ठान कुनै संस्थाको शाखा नभई स्वायत्त संस्था हुने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !