११ श्रावण २०८१, शुक्रबार

तनहुँका पत्रकारलाई बीमा


पत्रकारिता

तनहुँ । ब्यासनगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तनहुँको समन्वयमा जिल्लाका पत्रकारको आरोग्य बीमा गरिएको छ । जिल्लामा रही सक्रिय रुपमा काम गर्दै आएका ६७ पत्रकारको सगरमाथा इन्सुरेन्स बीमा कम्पनी दमौलीबाट बीमा गरिएको हो ।

ब्यासनगरपालिकाले एक पत्रकारलाई रु एक हजार पाँच सय ५० का दरले रु एक लाख तीन हजार आठ सय ५० प्रिमियम भुक्तानी गरिदिएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिनुभयो । बाँकी अपुग रकम करिब रु तीन हजार दुई सय महासङ्घ तनहुँले व्यवस्थापन गरेको छ ।

उहाँका अनुसार कूल रु ६ करोड तीन लाख बराबरको बीमा गरिएको छ । एक जना पत्रकारको रु नौ लाखका दरले बीमा गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रु सात लाख दुर्घटना बीमा र रु दुई लाख स्वास्थ्य उपचारसम्बन्धी बीमा गरिएको छ ।

जिल्लाका पत्रकारको क्षमता वृद्धि तथा लोक कल्याणकारी विज्ञापन लगायतका क्षेत्रमा ब्यासनगरपालिकाले योगदान गर्दै आएको नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य एवं जिल्लाका पूर्वअध्यक्ष प्रदीप काफ्लेले बताउनुभयो । रिपोर्टिङको सिलसिलामा पत्रकारहरु हिँडीराख्नुपर्ने भएकाले जोखिम बहनका लागि नगरपालिकाले बीमामा सहयोग गरेको ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले गत वर्ष रु एक लाखको कोरोना बीमासमेत गरिदिएको थियो । उक्त बीमा पोलिसी मङ्गलबार नगरप्रमुख न्यौपानेले पत्रकारलाई प्रदान गर्नुभएको थियो ।

किसानलाई अनुदानमा कृषि औजर

जिल्लाको भिमाद नगरपालिकाले किसानलाई मङ्गलबार ६३ थान कृषि औजर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गराउने उद्देश्यले किसानलाई प्रोत्साहन गर्न सुपथ मूल्यमा औजार प्रदान गरिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताउनुभयो ।

औजारका माध्यमबाट किसानले छोटो अवधिमा धेरै काम गर्न सक्ने र उत्पादनमा समेत वृद्धि गर्न सहयोग पुग्ने हुनाले औजार प्रदान गरिएको उहाँले बताउनुभयो । “रोजगारीको सिलसिलामा युवाहरु विदेश पलायन हुँदा गाउँघरमा वृद्धवृद्धा मात्रै रहँदा खेतबारी बाँझो हुन गएकाले थोरै जनशक्तिले पनि खेतबारी बाँझो नहुने भएकाले औजार वितरण गरिएको हो,” उहाँले भन्नभुयो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा नौवटै वडाका किसानलाई हातेट्र्याक्टर, कम्बाइन मिल, ब्रस कटर, थ्रेसरलगायत कृषि औजार वितरण गरेको हो । नगरभित्रका फर्म दर्ता भएका कृषक, समूह लगायतलाई सो औजार वितरण गरिएको हो । त्यसैगरी नगरपालिकाले किसानलाई ५३ वटा कृषि यन्त्रहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७७÷७८ को कार्यक्रमअन्र्तगत कृषि औजार वितरण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !