१२ असार २०८१, बुधबार

प्रदेशको गौरवको आयोजना शिलान्यास


किरण गुरुङ

दमौली, २८ कात्तिक । गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको हो ।

बैदीलाई शून्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ । शालिग्राम कोरिडोरलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेकाले कोरिडोर निर्माण सम्पन्न भएपश्चात् यस क्षेत्रकै विकासका ढोका खुल्ने मन्त्री गुरुङले बताउनुभयो । देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यले प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई विकास गर्न लागेको उहाँको भनाइ छ ।

सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शालिग्राम कोरिडोरले घिरिङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विसं २०७६ फागुन ११ गते सम्झौता भएको सो कोरिडोरको काम २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

रु २५ करोड आठ लाख ७३ हजार ५१३ लागत रहेको सो परियोजनाको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । सोकम्पनीले कोरिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिनलगायतका काम गर्नेछ । कोरिडोरको रु ३८ करोड ९६ लाख लागत अनुमान गरिएपनि रु १३ करोड कममा ठेक्का लागेको हो ।

यसैबीच सोही मार्गमा रहेको दुपर्दी खोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । मन्त्री गुरुङले पुलको पनि शिलान्यास गर्नुभयो । रु तीन करोड ८३ लाखको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । विसं २०७७ वैशाख २२ गते सम्झौता भएको पुल २०७८ वैशाख २० गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । सो पुल निर्माणको ठेक्का पराजुली कन्स्ट्रक्सन प्रालि लमजुङले पाएको छ । पुल २० मिटर लामो हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !