लमजुङ, २० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गर्नुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गर्नुभएको हो ।
मुख्यमन्त्री गुरुङले बाढीपहिरो नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको र यस बस्तीको आवश्यक सहयोग गर्ने बताउनुभयो । जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकार रहेको भन्दै प्रदेश सरकार सधँै जनताको साथमा रहेको उहाँले प्रस्ट पार्नुभयो । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढीपहिराले करिब ५०० घरमा क्षति पु¥याएकाले प्रदेश सरकारले तिनको पुनःनिर्माण गरिदिने उहाँको भनाइ छ ।
दुवार गाउँका बाढीपहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनःस्थापना गरिदिन आग्रह गरेका थिए । पहिरोको जोखिम रहे पनि तत्काल कतै जाने ठाउँ नभएकाले बाढीपहिरोको बेवास्ता गर्दै ज्यानको बाजी राखेर दिनरात कटाउँदै आएको उनीहरुको भनाइ छ ।
गत असार २६ गते आएको अविरल वर्षासँगैको बाढीपहिराले दुवार गाउँका छ घर पूर्णरुपमा ध्वस्त बनाएको छ भने ७० घर उच्च जोखिममा रहेका छन् । बाढीपहिराले गाउँका कुनै घर चर्किने, कुनै ढल्किएको अवस्थामा रहेको वडाध्यक्ष तुलबहादुर घलेले बताउनुभयो । बस्ती बीचमा पानीको मूलसमेत पलाएकाले थप जोखिम भइरहेको उहाँको भनाइ छ ।
निरीक्षणमा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक मायानाथ अधिकारी, सांसदद्वय मधुमाया अधिकारी र धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहभागी हुनुहुन्थ्यो ।
यसैबीच राष्ट्रिय युवा सङ्घको पहलमा दोर्दी गाउँपालिकाका युवाहरुले बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ । मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो । सङ्घमा आवद्ध युवाहरुले रकम सङ्कलन गरेर ४५ बोरा चामल, ४५ बोरा तेल र ४५ नून सहयोग गरेका छांै ।” उनीहरुले ४५ घरलाई उक्त सामग्री सहयोग गरेका थिए ।