८ मंसिर २०८१, शनिबार

‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’


सुदूरपश्चिम प्रदेश

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ । स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौं, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो ।

अभियान अन्तर्गत जिल्लामा सरकारी कार्यालयका सबै कर्मचारीको नियमित स्वास्थ्यपरीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान अन्तर्गत स्वास्थ्य कार्यालयले जिल्लाका सबै सरकारी कर्मचारीको स्वास्थ्यपरीक्षण गरिरहेको हो । उहाँले भन्नुभयो,“कर्मचारीको स्वास्थ्य जाँच गरी नसर्ने रोगबाट बच्न स्वास्थ्य सल्लाहसमेत प्रदान गरिरहेका छौँं, नसर्ने रोगबाट बच्नको लागि अपनाउनपर्नुे स्वास्थ्य सावधानीका बारेमा जानकारी र सतर्कता अपनाउन प्रोत्साहन दिनको लागि स्वास्थ्य परीक्षणको काम जारी राखेका हौं ।”

जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्य चेकजाँच गर्दै स्वस्थ जीवनशैली अपनाउन अभियानले सहयोग गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कर्मचारीले कार्यालयमा बसेरै काम गर्ने गरेको र शारीरिक क्रियाकलापमा कम सक्रिय हुने गरेकोले विभिन्न खालका नसर्ने रोगको जोखिम बढ्दै गएको उहाँको भनाइ छ ।

विभिन्न रोगको जोखिम कम गर्न अभियान सञ्चालनमा आएको हो । यस्तै अस्वस्थकर खानपिन, धूमपान तथा मद्यपानको प्रयोगबाट निम्तिने जोखिमपूर्ण व्यवहार गर्न अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कर्मचारीको मधुमेह, रक्तचाप, शरीरको मोटोपना, मिर्गाैला र कोलेस्ट्रोल आदीको परीक्षढा गरी समयमै रोग पत्ता लाग्ने र निवारणका लागि सहज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानका लागि प्रदेश सरकारले तीन लाख बजेट विनियोजन गरेको छ । पहिलो चरणमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य परीक्षणको काम भइरहेको र दोस्रो चरणमा पालिकाका कर्मचारीको पनि स्वास्थ्यपरीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालयको टोलीले कर्मचारीको नियमित स्वास्थ्य जाँच गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !