१२ आश्विन २०८१, शनिबार

सुनसान छ साँखु


Nepalpatra

साँखु, २३ चैत । अत्यावश्यक कामले आवत जावत गर्ने सवारीसाधन र सर्वसाधरण बाहेक यहाँ चहलपहल निकै कम छ । कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले लकडाउन जारी राख्दा ऐतिहासिक साँखु क्षेत्र सुनसान बनेको छ ।

शंखरापुर नगरपालिकावासीले लकडाउनलाई पालन गरिरहेका छन् । खाद्यन्न दूध, पानी र ग्यास लगायतका अत्यावश्यक सवारीसाधन बाहेक अन्य यातायात ठप्प छन् । कोरोनो भाइरसको सम्भावित जोखिम हुन नदिने उपाय मध्ये घरभित्रै रहनु भएकाले सर्वसाधरण भरभित्रै बसेका छन् । सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन आग्रह गर्दै आएको छ । सो भाइरसको जोखिम हुन नदिन नगरपालिकाले जनचेतनाका कार्यक्रम वडा मार्फत् जारी राखेको छ । यहाँ अत्यावश्यक केही पसलबाहेक अन्य सबै बन्द छन् । सरकारले खाद्यान्न, तरकारीजस्ता पसल खुला राख्न आग्रह गरेपनि अधिकांश पसल बन्द छन् । खुद्रा–खाद्यान्न, तरकारी तथा फलफूल पसल बन्द गरी कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्नेलाई कडा कारबाही गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले जानकारी दिनुभयो ।

नगरपालिकाले कोरोनाको रोकथामको लागि नगरभित्रका इन्द्रेणी, साँखु, जहरसिंहपौवाका विभिन्न स्थानमा गरी ३० श्ययाको क्वारेन्टाइन तयार गरेको छ । त्यस्तै सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालमा गरी आठ वटा आइसोलेसन वार्ड तयार पारिएको छ । नगरभित्र हालसम्म सो भाइरसका बिरामी फेला परेका छैनन् ।

नगरपालिकाले सबै वडामा जनचेतनाका लागि माइकिङसहित मास्क, स्यानिटाइजर वितरण गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । नगरभित्र २६ हजारभन्दा बढी मास्क र केही थान स्यानिटाइजर वितरण तथा १० भन्दा धेरै स्थानमा साबुन पानीसहित हातधुने व्यवस्था मिलाएकोे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !