भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिएका छन् ।
आज बिहानसम्मको मतपरिणाम अनुसार बाँस्तोलाले ६ हजार ६५० मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ६ हजार २९३ मत प्राप्त गर्दै खत्रीले बीणालाई ३५७ मतान्तरले पछ्याई रहेका छन् ।
उपप्रमुखमा एमालेका रमेश बुढाथोकीले अग्रता कायमै राखेका छन् । बुढाथोकीले अहिलेसम्म ८ हजार ४ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले सात हजार ४३२ मत पाएकी छन् । नगरपालिकाको– ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो पटक विजयी भएको छ ।
वडाध्यक्षमा राप्रपाका धनबहादुर लामाले एक हजार ४११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याउनुभयो । राप्रपाबाट सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, हरिप्रसाद लामिछाने, महिलामा आरती लामा र दलितमा सोनु विश्वकर्मा छन् ।