२ कार्तिक २०८१, शुक्रबार

बरबोटमा म्हाने छ्योइलिङ स्तुपा


स्तुपा

बनेपा । नमोबुद्ध नगरपालिका–८ को बरबोट पर्यटकको गन्तव्य बनेको छ । सुख्खा चौरमा अहिले सुन्दर स्तुपा पार्क निर्माण हुन लागेकामा स्थानीय बासिन्दा खुशी देखिन्छन् । भैँसीलाई आहाल राखिने पोखरी सुक्दै गएपछि अतिक्रमण पनि बढ्दै गएकाले संरक्षण गर्न म्हाने छ्र्योलिङ स्तुपा निर्माण गर्न लागिएकोे हो ।

पोखरी संरक्षणका साथै आन्तरिक तथा बाह्य पर्यक भित्र्याउन स्तुपा निर्माण गरी ठूलो बुद्ध प्रतिमा र गुरु रिन्पोछेको मूर्ति स्थापना गरिने स्थानीय समाजसेवी यज्ञबहादुर लामाले बताउनुभयो ।उहाँको नेतृत्वमा ‘म्हाने छ्योइलिङ स्तुपा’ निर्माण उपभोक्ता समिति गठन गरी चार वर्ष अगाडि काम शुरु गरिएकामा अहिले पूरा नभए पनि घुम्न जानेका लागि पार्क आनन्द लिने ठाउँ भएको छ ।

पर्खालभित्रको पोखरीमाथि निर्माण गरिएको स्तुपा भित्र बुद्धका विभिन्न आकृति राखिएका र बाहिर घेरामा ढुङ्गा छाप्ने र सरसफाइ को काम बाँकी जानकारी दिँदै समाजसेवी लामाले रकम अभाव र कोरोनाको कारणले पनि काम रोकिन पुगेको जानकारी दिनुभयो ।

शाक्यमुनि बुद्ध सबै भन्दमाथि अवलोकेश्वर९चेङग्रेसी०, मञ्जुश्री, बज्रपाणि र गुरु पद्मसम्भाव ९गुरु रेन्पोछे०लगायत मूर्ति निर्माण भइसकेको छ । स्तुपाको वरिपरि विभिन्न माने तथा छ्योर्तेन निर्माण गरिएको छ । सांसद गङ्गाबहादुर तामाङले स्तुपा निर्माणका लागि रू २९ लाख, नमोबुद्ध नगरपालिकाले रू २६ लाख, वाग्मती प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले रू २० लाख उपलब्ध गराउनाका साथै स्थानीयवासीबाट सङ्कलित रू छ लाख गरी कूल ७६ लाखको लागतमा निर्माण कार्य अघि बढाइएको थियो ।

धार्मिक किंवदन्तीअनुसार नमोबुद्ध जङ्गलमा सिकार खेल्न आएका कान्छो भाइ ङिचेछेन्बोलाई बघिनीले खाएकीले रिसाएका दाजु डा छेन्पो र ल्हा छेन्पोले बाघ लखेट्दै बरबोटमा आइपुगे । थकित दुबैले त्यहाँ आराम गर्दा बैराग लागेर अब कहिल्यै पनि हिंसा नगर्ने प्रतिबद्धता जनाउँदै हतियार त्यागेर दुई पिप्ले ९दुई वटा पिपलको बोट० रोपेका थिए ।

तीमध्ये एउटा पिपलको पात झर्दा अर्कोको पलाउने हुँदा सधैँ हरियो देखिन्थ्यो । एउटा पिपल २०४० सालमा ढले पनि अर्को भने अझैसम्म छ । पवित्र मनले हिंसा त्याग गरेको ठाउँ भएकाले नै पनि योस्थल धार्मिक आस्थाको केन्द्र बन्न पुगेको बताइन्छ ।

बिपी राजमार्ग खुल्नुअघि डाँडापारी भेगका अधिकांश बासिन्दा जिल्ला सदरमुकाम जान महादेवटारको सानीखोला हुँदै खाक्सीबाट बरबोट, दाप्चा, तल्लो हटिया, श्यामपाटी, नमोबुद्ध हुँदै पनौती, बनेपा र धुलिखेल आउने गरेकामा यातायातको साधन चल्न थालेपछि सो क्षेत्र प्राय सुनसान बनेको थियो । अहिले सो स्तुपा निर्माणले फेरि पनि गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेकाले यहाँको विकासमा सहयोग पुग्नेमा स्थानीय बासिन्दा आशावादी छन् ।

नगरपालिकाले पनि यस स्थललाई आकर्षक गन्तव्य बनाउने योजनाअनुरूप काम गर्दै आएकोे छ ।पछिल्लो समय नगरपालिकाले नमोबुद्ध गुम्बा क्षेत्रमा प्रवेशका लागि वडा नं १स्थित फूलबारी र वडा नं ११ स्थित नमोबुद्धमा द्वार निर्माण गरेको छ । अहिले नमोबुद्ध भएर दाप्चाको बरबोट जान सहज भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !