काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक आज बोलाइएको छ । च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव पक्षीय संसदहरुले फिर्ता गरेपछि दलको बैठक आज बोलाइएको हो ।
बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ । आजको बैठकमा माधव पक्षीय सांसदहरु पनि सहभागी हुने भएका छन् । यस्तै पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा दर्ता गराइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएसँगै धरापमा परेको उनको मुख्यमन्त्री पद तत्कालको लागि जोगिएको छ । संसद सचिवालयमा दर्ता भएको निवेदनमा माधव नेपाल पक्षका २३ जना प्रदेशसभा सदस्यमध्ये २० जनाले निवेदनमा हस्ताक्षर गरेका छन् भने बाँकी ३ जना सांसदहरुले आज निवेदन दर्ता गर्ने भएका छन् ।
खनाल-नेपाल समूहका २२ जना सांसदहरुमध्ये १/२ जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।
गत पुस १० गते पौडेलविरूद्ध तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै ३ जना मन्त्रीले राजीनामा दिएका थिए । नेकपा माओवादीको २३ जना र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।
तर मंगलबार प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ । नेकपा एमालेकी सांसद रचना खड्काले मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको बताइन् । फरक परिस्थितमा अविश्वास प्रस्ताव दिइएको थियो । अहिले पार्टी एक भएको अवस्थामा परिस्थिति फेरिएको छ, त्यसैले अविश्वास प्रस्ताव फिर्ता लिन लागेको उनले बताइन् ।