भरतपुर, ८ भदौ । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू श्य्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ ।
जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरु समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा प्रयाप्त आइसोलेशन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरु धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले गत बैशाख महिनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरुमा २४३५ श्य्या रहका छन् । ती मध्ये १७६ वटा आइसियू र ४९ वटा भेन्टिलेटर छन् । यो क्यान्सर अस्पताल बाहेकका अस्पतालको तथ्याङ्क भएको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा ३० श्य्याको आइसियू छ । यसमा १० वटा कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ वटा भेन्टिलेटर मध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ । “सामान्य अवस्थामा यो प्रयाप्त हो अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भन्नुभयो”, तर कोभिडका बिरामी बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।” यो अवधिमा कुनैपनि अस्पतालले आइसियू र भेन्टिलेटर थप नगरेको उहाँले जानकारी दिनुभयो । “सङ्क्रमितका जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं”, उहाँले भन्नुभयो । गम्भीर बिरामीको उपचारको लागि आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका सङक्रमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आइसियू प्रयाप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सर अस्पतालमा १५ श्य्याको आइसियू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।” उहाँले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिनुभयो । “क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका सङ्क्रमितको उपचार गरेका छैनौं” उहाँले भन्नुभयो “स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।” आवश्यक परेको खण्डमा भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उहाँले बताउनुभयो । “मान्छेको ज्यान भन्दा ठूलो कुरा केही होइन” उहाँले भन्नुभयो “यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।”
जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज (सिएमसी) मा छन् । ३७ वटा भेन्टिलेटर आफूहरुसँग रहेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उहाँले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिनुभयो । जिल्लाको अर्को कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० श्य्याको आइसियू कक्ष र १० वटा भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् ।
नारायणी सामुदायीक अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर प्रयाप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।” अस्पतालका पाँच भेन्टिलेटर मध्य ३ वटा आइसियू र २ वटा अप्रेशन थ्रियटरमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । दुई वटा श्य्या बराबर एक आइसियू हुनुपर्ने अन्तर्राष्ट्रिय प्रवधान रहेको उहाँले उल्लेख गर्नुभयो । आइसियू खर्चिलो रहेका कारण पनि अस्पतालमा प्रयाप्त राख्न नसकिएको उहाँको भनाइ छ । पछिल्लो दिनमा जिल्लामा सङ्क्रमितहरु बढ्दै गएका छन् भने सङ्क्रमितमा लक्षणहरु पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव बृद्ध, दीर्घरोगी बालबालिका, सुत्केरीमा परेमा धेरै आईसियू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञहरु बताउँछन् । यसका लागि जिल्लामा तयारी पर्याप्त भएको उहाँहरुको भनाइ छ । सम्भावित महामारीलाई लक्षित गरी समयमै आईसियू र भेन्टिलेटरको व्यवस्था गर्नतर्फ सम्बन्धित निकायका ध्यान जानुपर्ने देखिन्छ ।