९ असार २०८१, आइतबार

को हुन् नवनिर्वाचित सभामुख अग्नि सापकोटा ?


अग्नि सापकोटा

पृष्ठभूमि र जन्म  : चौर्तफी विरोध हुँदाहुँदै र लामो रस्साकस्सीपछि संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाले सभामुख पाएको छ । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका अग्नि सापकोटा निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गरेको हो ।

बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ साल फागुन २४ गते सिन्धुपाल्चोक जिल्ला साविकको चौतारा-७ कुभिन्डेमा जन्मिएका हुन् नवनिर्वाचित सभामुख अग्नि सापकोटा ।

शिक्षा

उनले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

अनुभव

सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए । उनले १५ वर्षसम्म शिक्षण गरे । ७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्यापक भएर काम गरे ।

राजनीतिक यात्रा

शिक्षण पेशामा रहँदा नै उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । ०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका सापकोटा ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य भए । ०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए ।

सापकोटा ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने तर पराजित भए । शिक्षकबाट राजीनामा दिएपछि सापकोटा पूर्णकालीन राजनीतिमा लागे । ०४९ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । शान्ति प्रक्रियापछि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा सभासद निर्वाचित उनी हाल २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक-१ बाट निर्वाचित सांसद हुन् ।

अग्नि सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिन्छन् । २०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दादेखि सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् । माओवादीले जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्ये सापकोटा एक हुन् । १० बर्षे सशस्त्र जनयुद्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा उनी प्रचण्डलाई छोडेर कतै लागेनन् ।

यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रको प्रवक्ताको भूमिका समेत निर्वाह गरे । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री भए । २०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भू-संरक्षण मन्त्री थिए । उनले अहिलेसम्म दुईपटक मन्त्री हुने अवसर पाएका छन् । प्रचण्डले २०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी सहित सापकोटालाई पनि पठाएका थिए ।

सापकोटामाथि विचाराधीन मुद्दा

सशस्त्र युद्धका बेलामा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका उनीमाथिको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । सापकोटासहित तत्कालीन माओवादीका अरु ६ जना नेता र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेविरुद्धको अवहेलनासहित अरु २ वटा मुद्दा पनि सर्वोच्चमा विचाराधीन छन् ।

८ वर्षअघि दायर भएको मुद्धामा सर्वोच्च अदालतमा गत असारदेखि भने अन्तिम सुनुवाई चलिरहेको छ । गत असोजमा पेशी तोकिएको मुद्दाको अर्को पेशी भने आगामी माघ २२ गतेका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । सापकोटाले भने आफु निर्दोष रहेको बताउँदै आएका छन् । मुद्दाको पेशी गत असोज २९ गतेका लागि तोकिएको भएपनि ‘हेर्न नभ्याइएको’ भन्दै हटाएर आगामी माघ २२ गतेका लागि अर्को पेशी तोकिएको छ ।

भूमिगत र बन्दी जीवन 

सापकोटाले १० वर्ष भूमिगत जीवन र करिव २ वर्ष बन्दी जीवन बितेका छन् ।

विदेश भ्रमण 

चीन, भारत, बंगलादेश र हङकङ्ग

यो पनि पढ्नुहोस् 

यौन दुर्व्यवहारको आरोप लागेका महराको राजनीतिक यात्रा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !