काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले आगामी भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको गरेको हो ।
हालका प्रहरी महानिरीक्षक दिपक थापाले आगामी भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन् । नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। आइजिपी नियुक्त भएसंगै खापुङ को हुन् भनेर उनको बारेमा चर्चा-चासो बढेको छ ।
प्रहरीको ३२औं आईजीपी नियुक्त भएका खापुङहाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन् । खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन् । अरू एआईजी उनीभन्दा जुनियर हुन् ।
जन्म
२०२७ सालमा तेह्रथुम जिल्लाको साबिक मोराहाङ हालको मेन्छ्यायेम गाउँपालिकामा जन्मिएका खापुङ नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक नियुक्त भएका छन् ।
पारिवारिक पृष्टभूमि
किसान परिवारमा जन्मिएका खापुङको परिवारलाई कृषि कर्म गरेरै खान पुग्थ्यो । बाउ बाजेको प्रशस्त जग्गाजमिन भएकाले उनले जीवनमा अभावको महसुस गर्नु परेन । तर उनका बुबाआमा छोराछोरी पनि आफूजस्तै किसान बनून् भन्ने चाहँदैन थिए र जीवनमा केही गर्नुपर्छ भनेर छोराछोरीलाई सम्झाउँने गर्थे । चन्द्रदेवका बुबा ललितबहादुर खापुङ भने गाउँमा सामाजिक अभियन्ताका रुपमा काम गर्थे ।
शिक्षा
चन्द्रकुवेरको पढाई राम्रो थियो । सानैदेखि खोज तथा अनुसन्धानमा दखल राख्ने व्यक्तिमा उनी गनिन्थे । विद्यालयमा पनि उनको नाम सबैले अनुशासित र जेहेन्दार विद्यार्थीमा लिन्थे । २०४२ सालमा उनले एसएलसी दिँदा उनको विद्यालयबाट तीन जना मात्र पास भए । ती तिनमध्ये खापुङले सबैभन्दा राम्रो नतिजा ल्याएका थिए । एसएलसीपछि बुबाले उनलाई काठमाडौं पढ्न पठाउने निधो गरे । २०४३ सालमा पढ्नका लागि उनी काठमाडौं आए । काठमाडौं आएपनि कहाँ पढ्ने ? कहाँ बस्ने ? केही योजना थिएन । दाजुले नेपाल ल क्यापसमा भर्ना गरिदिएपछि उनले त्यहीँ पढ्न सुरु गरे । पढ्दै जाँदा २०४९ सालमा उनले बीएल पास गरे ।
२०४६ सालको पञ्चायत ढाल्ने आन्दोलनका कारण उनको २०४८ सालमा सकिनुपर्ने बीएलको परीक्षा रोकिएको थियो । पञ्चायत र संवैधानिक राजतन्त्रको साक्षी उनीपनि थिए । काठमाडौंको बसाईमा त्यो बेला पाएको दुस्ख र संघर्षको असरले उनलाई पनि गलाएको थियो । चन्द्रलाई त्यो बेला काठमाडौं छाडेर घर जाऊ कि जस्तो पनि लागेको थियो । तर, उनी हारेनन् । कानूनको विद्यार्थी भएकाले समयको उपयोग गर्दै पञ्चायती व्यवस्था र बहुदलको बारेमा उनले गहिरोसँग अध्ययन गर्ने मौका समेत पाए ।
जागिर
चन्द्रदेव बीएल सकेर काठमाडौंमै लोकसेवाको शाखा अधिकृतको तयारी गर्दै थिए । निजामती सेवामै आफूलाई समर्पित गर्ने सोच उनको थियो । यसैबीच ताप्लेजुङका साथीहरू आएर इन्सपेक्टरमा फारम खुलेको बताए । उनको रहर त्यतातिर थिएन । साथीहरूले अनुभवका लागि भएपनि दिऊँ भनेर कर गरेको हुनाले उनले परीक्षा दिए ।
खापुङ २०५२ कार्तिक २६ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए । हालका आईजीपी थापासँगै भर्ना भए पनि सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपी भएर अवकाशमा गइसकेका छन् । कुँवर २०८१ चैत ५ मा अवकाशमा गएका थिए ।
दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् ।
तेस्रो लटमा खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेलले नियुक्ति लिएका थिए । एआईजी आचार्य २०८१ जेठ १० मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । प्रशासन विभागमा कार्यरत एआईजी कृष्णहरि शर्मा पोखरेल एआईजीको ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाँदै छन् । पोखरेलको अवकाश निश्चित भएसँगै सो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा रहेका थिए।
३२ औँ प्रहरी महानिरीक्षक बन्न लागेका खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।
खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।












