२१ पुस २०८१, आइतबार

को हुन् कांग्रेसमा सर्वाधिक मत ल्याएर शशांकलाई पछि पार्ने मुक्ताकुमारी ?

को हुन् मुक्ताकुमारी यादव ?


मुक्ताकुमारी यादव

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुक्ताकुमारी यादवले केन्द्रीय सदस्यमा सबभन्दा बढी मत ल्याएर डा. शशांक कोइरालालाई पछि पारेकी छन् । आखिर कांग्रेसमा सर्वाधिक मत ल्याएर शशांकलाई पछि पार्ने मुक्ताकुमारी को हुन् ? भन्ने चासो नेपाली काँग्रेस वृत्तमा बढेको छ ।

आज मंगलबार सम्पन्न भएको मतपरिणाम अनुसार यादवले ३९६० मत ल्याएकी छन् । यसअघि काँग्रेसको खुलातर्फ ३५ जना निर्वाचित केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री डा. कोइरालाले ३८३६ मत ल्याएका थिए । यादवले कोइराला भन्दा १२४ बढी मत पाएकी छन् ।

कांग्रेस पदाधिकारीमा महामन्त्रीमा निर्वाचित गगन थापाले सबैभन्दा बढी ३०२३ मत प्राप्त गरेका थिए । यसअघि गगनलाई पछि पार्दै डा. शशांकले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य विजयी भएका थिए ।

आखिर कसरी मुक्ताकुमारीलाई कांग्रेस केन्द्रिय सदस्यमा सर्वाधिक मत आयो भन्ने पनि जिज्ञाशा बढेको छ । यसको एकमात्र कारण हुनसक्छ – उम्मेदवारी दिँदा उनी कुनै प्यानलमा नखुल्नु । सामाजिक सञ्जाल फेसबुकमा समेत उम्मेदवारी दिएको जानकारी गराउँदा उनले कुनै प्यानल खुलाएकी थिइनन् ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उनको नाम भएकोले उनलाई सर्वाधिक मत आएको हो ।

को हुन् मुक्ताकुमारी यादव ?

२०३४ भदौ १३ गते महोत्तरीमा जन्मिएकी यादवको स्थायी ठेगाना तत्कालिन बालबाखर गाविस-४, धनुषा हो । उनका बाबुको नाम राम आशिष यादव हो भने श्रीमानको नाम राम ईश्वर यादव हो ।

शिक्षाशास्त्रमा स्नात्तक तह सम्मको अध्ययन गरेकी यादवले २०५३ सालदेखि राजनीतिमा लागेकी हुन् । उनी विगतमा नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्य हुनुको साथै नेपाल शिक्षक संघमा पनि आवद्ध भएकी थिइन् ।

उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादीका कारण विस्थापित पनि भएकी थिइन् । यादव मधेशी महिला कोटाबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । काँग्रेसमा उनी धनुषा-२ बाट प्रतिनिधित्व गर्छिन् ।

उनी २०७० सालको संविधानसभामा काँग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन । यस्तै २०७४ सालमा भएको राष्ट्रियसभा निर्वाचनबाट उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् । यादव राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।

यादव यसअघि काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार भएर चुनाव लडेपनि पराजित भएकी थिइन् भने १४ औं महाधिवेशनमा भने सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

अहिलेसम्म आएको मतपरिणाम अनुसार शशांकलाई पछि पार्दै मुक्ताकुमारी ‘म्यान अफ दि इलेक्सन’ भएकी छिन् । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदानमा अहिले मत परिणाम आउने क्रम जारी छ ।

मतपरिणाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !