७ मंसिर २०८१, शुक्रबार

को हुन् काँग्रेस सभापतिमा उम्मेदवारी दिने साहसी यूवा युवराज न्यौपाने ?


युवराज न्यौपाने

काठमाडौँ । नेपाली काँग्रेसका यूवा नेता युवराज न्यौपानेले काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम अनुसार राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

आखिर को हुन् काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता गर्ने यूवा युवराज न्यौपाने ? भन्ने चासो नेपाली काँग्रेस वृत्तमा बढेको छ । काँग्रेसमा यूवाले नेतृत्वको दावी गर्न असहज भईरहेका बेला प्रतीकात्मक रुपमा न्यौपानेको सभापतिमा उम्मेदवारी दर्ताले सकारात्मक सन्देश अवश्य जाने देखिन्छ ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले उम्मेदवारी दिएको बताएका छन् । न्यौपानेले पार्टीमा बारम्बार परीक्षण भइसकेका अनुहारलाई फेरि अवसर दिन नहुने बताएका छन् ।

वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताले युवा उमेरमै कांग्रेस स्थापना गरेको स्मरण गराउँदै न्यौपानेले अब पनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्व गर्नुपर्ने बताए । आफ्नो उम्मेदवारीलाई हलुका ढंगले नलिन आग्रह गर्दै न्यौपानेले पार्टीभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न आफूले उम्मेदवारी दिएको उनले बताए ।

उनले आफूलाई युवा महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहने पनि बताएका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब अभिभावक भएर बस्न उनले आग्रह गरेका थिए । आफूले उम्मेदवारी फिर्ता नलिने पनि उनले बताएका छन् ।

अहिले कांग्रेस महाधिवेशनको दोस्रो दिन नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् । यसअघि नेता कल्याण गुरुङले पनि सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यो पनि पढ्नुहोस्

युवराज न्यौपानेद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !