३० कार्तिक २०८१, शुक्रबार

विक्रम संवत् प्रकृतिसँग संवन्धित छ


bikram-sambat

विक्रम संवत् २०७४ वैशाख १ गते शुक्रवारदेखि प्रारम्भ हुदैछ । विक्रम संवत् भन्दा ५७ बर्षपछि ईस्वी संवत् २०१७ अप्रिलको दोस्रो हप्तामा चालु छ । विक्रम संवत् भन्दा १३५ बर्षपछि शक संवत् १९३८ प्रतिवदामा नयाँ बर्ष विक्रम संवत् चैत्र २६ गतेदेखि प्रारम्भ भएको छ । नेपाल संवत् ११३६ विक्रम संवत् ९३७ बर्षपछि कार्तिक २६ गतेदेखि प्रारम्भ भएर आएको छ ।

वि.संं.२०२२ भन्दा अगाडिसम्म नेपालमा विक्रम संवत् र नेपाल संवत् बारेमा कुनै मुद्दा उठाइएको थिएन । २०२२ सालमा रेडियो नेपालबाट नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाबाट समाचार प्रशारण हुन्थ्यो । हिन्दी र नेवारी भाषाबाट मात्र समाचार प्रसारण हुँदा अन्य भाषाभाषीहरुले चित्त दुःखाएकाले सबै भाषालाई रेडियोबाट प्राथमिकता दिलाउन कठिनाई भएकाले २०२२ सालदेखि राष्ट्रभाषा नेपाली र अन्तर्राष्ट्रिय भाषाको रुपमा अंग्रेजीबाट मात्र समाचार भन्ने परिपाटी कायम भएपछि नेवार जातिले चित्त दुःखाएर नेपाल संवत् र नेवारी भाषालाई आधार बनाएर संगठीत हुने जातीय संगठन खोले ।

उक्त संगठनमा भूवनलाल प्रधान, प्रेमबहादुर कंसाकार, मानिकलाल श्रेष्ठहरु सशक्त भएर लागे । भूवनलाल प्रधान कहलियाका राष्ट्रवादी थिए । उनी २०१७ सालको परिवर्तनमा राजा महेन्द्रको अध्यक्षतामा गठीत मंत्रिपरिषदका मंत्री पनि बनेका थिए । तर पछि हेरफेरमा उनी फेरि मंत्रिपरिषदमा समावेश नभएको कारणले हुनसक्छ उनी पनि नेपाल संवत् र नेवारी भाषालाई अगाडि बढाउने जातीय जालोमा लागेका थिए । २०२२ सालमा जातीय आन्दोलनको रुपमा स्थापित मुद्दाहरुलाई २०२६ सालदेखि मंका खलः को नामबाट पद्मरत्न तुलाधरको सक्रियतामा सक्रिय गराइयो । यस कुरालाई २०६३ सालको जनआन्दोलनपछि पद्मरत्न तुलाधर माओवादीसँग मिलेर विक्रम संवत् हटाएर नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन सक्रिय बनेका थिए । आफ्नो देशको संवत्, आफ्नो मातृभाषाको विकासमा सक्रिय हुने सबैको अधिकार छ । तर जातीयतालाई मात्र तेस्र्याएर इतिहासका तथ्यहरुलाई नैं भ्रमित बनाउनु नेपाल जस्तो संवेदनशील राष्ट्रमा कसैको हितमा हुन्न । सम्पूर्ण जातजातिका नेपालीहरु एक हुनुपर्नेमा जातीय कुराको आधारमा नेपालमा तनावग्रस्त गराउने यस्ता कुतत्वहरुदेखि हामी सारा नेपालीहरु सचेत हुन सक्नुपर्छ ।

विभिन्न जाति, भाषाभाषी, धर्म र परम्पराहरुमा आवद्ध बासिन्दाहरुको देश हो नेपाल । सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिहरुको बीचको अनेकतामा एकता कायम गर्नु नेपालको विशेषता हो । तर २०२२ सालपछि नेवारी समूदायबाट जातीय मुद्दालाई बढाउन थालेपछि पूर्वाञ्चलमा किरातीहरु र २०६३ सालपछि तराईलाई आधार बनाएर भारतबाट पालित पोषित र निर्देशित मधेसीहरु जातीय मुद्दा झिकेर नेपाल टुक्रयाउनसमेत धम्की दिन थालेका छन् । यस हिसावले सोच्दै नसोची कुनै जातिले आफ्रनो स्वार्थपूर्ति गर्न जातीय मुद्दा चर्काएपछि देशभित्र बिग्रह उत्पन्न हुनु स्वाभाविकै हो । नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाइनु पर्छ, विक्रम संवत् नेपालको होइन, यो भारतको संवत् हो । नेवारीभाषा नेपालको राष्ट्रिय भाषा हो । संयुक्त राष्ट्रसंघमा पनि नेवारी भाषालाई नेपालको राष्ट्रिय भाषाको मान्यता गरेर पठाइएको हो भन्ने नेवारी समूदायका केही अगुवाहरुले मुद्दाहरु उठाइए ।

विक्रम संवत् र नेपाल संवत् दुबै नेपालका आदि र मौलिक संवत् हुन् । तथापि विक्रम संवत्को तुलनामा नेपाल संवत् बारेमा इतिहासमा खास पूष्ठी भएको भेटिदैन । नेवाल संवत् शंखधर शाख्वा भन्ने ब्यापारीबाट उठान भएको संवत् हो भन्ने नेवारी समूदायका केही अगुवाहरुको भनाई छ । तर यो संवत्को उठान लिच्छवि राजा राघवदेवबाट उठान भएको हो । नेवार जातिकै संस्कतिविद् इतिहासकार धनवज्र वज्राचार्य, वैकुण्ठप्रसाद लाकौल, इतिहासकार शंकरमान राजवंंशी, कृष्णबहादुर उदय आदि यस्ता धेरै विद्वानहरुले नेपाल संवत्का प्रणेता राजा राघवदेवनैं हुन् भनेर प्रमाणित गरिसकेका छन् । तर पछि जातिय प्रतिष्ठाको बिषय बनाएर ‘सुनमा परिणत भएको बालुबा बेचेर सो पैसाबाट गरीब जनताको ऋण तिरिएको बेलादेखि शंखधरबाट नेपाल संवत् शुरु गरिएको हो भनेर इतिहासले नपत्याउने कुरा गरिएको छ । नेपाल संवत्को ब्याख्याता मध्येका भूवनलाल प्रधान पनि हुन् । इतिहासकार भूवनलाल प्रधानसँग मेरो घनिष्टता थियो । तर विक्रम संवत् बारेका उहाँका कुरामा म सहमत थिएन । मैले विक्रम संवत्को पुस्तक छापेर उहाँ सख्त बिमारी भएको अवस्थामा उहाँलाई भेट्न बबरमहल घरमा गएर विक्रम संवत् नामक नयाँ पुस्तक लिएर बडो सम्मानसाथ नमस्कार गरेर हातमा दिएँ । उहाँले पे्रमपूर्वक ग्रहण गर्नु भयो र छोरा भिक्टर प्रधानले लिनु भयो । मैले पत्रपत्रिकाको माध्यमबाट यहाँका विचारहरु पटक पटक खण्डन गरिसकेको पनि थिएँ । भूवनलाल प्रधान एक राजनीतिज्ञ तथा इतिहासविद् हुनुहुन्थ्यो । उहाँको हामी सम्मान गर्छौ तर संवत् बारेमा उहाँले गरेका खोज तथा व्याख्यालाई समर्थन गर्न सकिदैन ।

उहाँले विक्रम संवत् चन्द्रशम्सेरका पालाभन्दा अगाडि चलेकै थिएन र चन्द्र शम्सेरका पालादेखि चलाएको हो भनेर लेख्नु भएको थियो, जुन कुरा सत्य होइन । पृथ्वीनारायण शाह भन्दा अगाडि, सेनवंशी राज्यकाल र त्यसपछिको शासनकाल र जङ्गबहादुरको मुलुकी ऐन, चन्द्र शम्सेरको शासनकाल अगाडि–पछाडि नेपालको शासन व्यवस्थामा विक्रम संवत्ले अग्रस्थान लिएको कुरा जहाँ पनि भेटिन्छ । यसरी इतिहासलाई मेट्न खोज्नु राम्रो होइन । जोतिषीले भनेको समयमा राजाले झिकाएको सुनमा परिणत हुने भनिएको बालुवा शंखधरले आफै बोकाएर लगेर बेची रिन तिरिदिएर संवत् चलाएको भन्ने प्रसङ्ग छोडेर भूवनलालजीले पछि लेख्नु भयो– नदीले बगाई ल्याएको बोटे, सुनाहा समुदायले बटुल्ने गरेका सुनका कंँणहरु बटुल्ने गर्छन् । तर त्यो सन्दर्भ शंखधरको बेलाको होइन । शंखधरको समयमा बालुवा नैं सुनमा परिणत भएको कुरा हो तर सुनका कँणहरु बटुलेको कुरासँग जोडेर सफाई दिन मिल्दैन । वास्तवमा शंख धारणा गर्ने शंखधर, चक्रधर भनेका बिष्णु हुन् । राजाहरुलाई बिष्णुको अवतार मानिएकाले राजालाई चक्रधर, शंखधर पनि भनिन्छ । पशुपतिनाथ उन्मुक्त भैरव पश्चिमपट्टि राजाहरुको मूर्तिसँगैको शंखधारण गरेको मूर्ति भगिरथ राजाको हो । यही मूर्तिलाई नेपाल संवत्का पक्षधरहरुले शंखधर भन्ने गरेका छन् । तर यो मूर्ति भगिरथ राजाको मूर्ति हो ।

पृथ्वीमा पानी नपरेर हाहाकार मच्चिएपछि राजा भगिरथले प्रजाको दुःखको लागि शिव तथा भागिरथीको तपस्या गर्दै भएको अवस्थाको मूर्ति हो । भागिरथी गंङ्गाको प्रतीकको रुपमा शंख धारण गरिएका मूर्तिहरु धाराहरुमा राख्न गरिन्छ । सुनधारामा भएको त्यस्तै मूर्ति, अन्य लिच्छवि धाराहरुमा राखिएका मूर्ति र देव मंदिर अगाडि जहाँ पनि त्यस्तै शिला मूर्तिहरु राखिएका हुन्छन् । तर ती मूर्ति संवत् चलाउने भनिएका शंखधरका होइनन् । स्मरणहोस् कि शंखधरलाई ज्यापु भनिन्छ । शंख धारण गर्नु, राजाको जस्तो मुकुटधारी टाउको र कानमा कुण्डल धारणा गरेको ज्यापुबंशमा कहीं प्रमाण भेटिन्न र होइन । २०६४ कार्तिक २७ गतेको गोरखापत्रमा इतिहासकार के.वी. उदय लेखेका छन्– ‘राजा राघवदेवको समयमा शंखधर भन्ने पूँजीवाल काठमाण्डौंमा थिए भन्ने प्रमाण छैन ।’ यसरी २०२२ सालदेखि २०७३ सालसम्म यिनैं झूठा हाउँगुजी देखाएर केही नेवारी साथीहरुले नेपालीहरुबीच नचाहिंदो भ्रम सिर्जना गर्दै आएका छन् ।
नेपालको इतिहासमा नेवार जातिको ठूलो देन छ । हिन्दु तथा बौद्ध धर्म, संस्कृतिमा नेवार जातिको ठूलो देन छ । नेवारहरु राष्ट्रवादी हुन् । म नेवार समुदायको संधै सम्मान गर्छु तर विक्रम संवत् र नेपाल संवत्बीच विवाद झिकेर इस्वी संवत् लागे गर्ने कतिपय गद्दारहरुको समर्थनमा लाग्नु यो नेवार जातिकै अपमान हो ।

विक्रम संवत् २०७४ प्रारम्भ हुदै छ छ । विक्रम संवत् नेपालका उपज र मौलिक संवत् हो । विक्रम संवत्को वास्तविक इतिहास के हो त्यस्तो अध्ययन नगरी सिधै विदेशी संवत् भन्नु दुःखदायी कुरा हो । पहिलो लिच्छवि राजा विक्रमादित्यबाट उठान भएको विक्रम संवत् नेपालको गौरव हो । भारत, चीन, पाकिस्तान लगायत अंग्रेजी सम्राज्य कायम भएका राष्ट्रहरुमा त्यहाँका मौलिक संवत्हरुलाई विस्तापित गरेर ईस्वी संवत् चलाइएको थियो । ती देशहरुमा अध्यावधि इस्वी संव्त चलेको छ । तर नेपाल सम्राज्यवादी शक्तिको पकडमा नपरेको हुँदा यहाँका मान्यताहरु यथावत रहि रहेकाले विक्रम संवत् पनि यसरी लोकप्रिय संवत्को रुपमा चलि आएको हो । नेपाल माथि कुनै विदेशीहरुको आधिपत्य थिएन भन्ने कुराको ज्वलन्त प्रमाण हो– विक्रम संवत् ।

लिच्छविकालको उत्तरार्धमा र मल्लकालमा नेपाल संवत् निकै प्रचलनमा रह्यो । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडिका मल्ल राज्य लगायत विभिन्न साना राज्यहरु, बाइसी, चोबिसी लगायत सेनवंशी राज्यहरुले विक्रम संवत्लाई नैं राजकीय संवत्को रुपमा प्रयोग गर्दै आएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व पत्र–संग्रहहरुमा अनेकौं अभिलेखहरु प्रकाशित छन् । विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित सम्वत्हरुलाई विक्रम सम्वत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन्– ‘मानदेवको संवत् ३८६को चाँगुको अभिलेखको सम्वत् ‘विक्रम संवत्’ हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।’ यसैगरी नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत्नै मानेका छन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ– ‘जुन समय ई.पू. ५८ बर्षमा यो सम्वत् उठान भएको थियो उस समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन ।’ अंग्रेजी सम्राज्य स्थापनापछि ईस्वी संवत् एसियामा चलनचल्तीमा आएको हो । नेपाल संवत् कार्तिक शुक्ल प्रतिवदा (गोरु तिहार) मा प्रारम्भ हुन्छ । त्यसै दिन नेवार समूदायको म्हः पूजा परेकाले नेपाल संवत् र म्हः पूजालाई सँगसँगै नेवार समूदायले गौरवमय तरिकाले मनाउँछन् । विक्रम संवत् भन्दा ९३६ बर्षपछि राजा राघवदेवबाट उठान भएको नेपाल संवत् पनि नेपालको मौलिक संवत् हो । नेपाल संवत् । लिच्छविकालको उत्तराद्र्धदेखि मल्लकालमा नेपाल संवत् निकै प्रचलनमा रह्यो । नेपालका विभिन्न जाति, समूह, धर्म, संस्कृति र परम्पराका कारणले विश्वले नेपाललाई एक सुन्दर र शान्त भूस्वर्ग ठानेको छ । यो नेपाली संस्कृति बनिसकेकोछ । नेपालमा लोसार कहिलेदेखि चल्यो भन्ने खास समय भन्न सकिएको छैन । हाम्रो अनुरोध छ लोसारलाई गुरुङ, मगर र तामाङहरुले एकै दिन वा तीनदिन एकैपटक भव्यताकासाथ मनाउने परम्परा बसाल्नु पर्दछ । लोसारको उद्गम तिब्बत हो । धर्म, संस्कृतिको उद्गम जहाँ भएपनि त्यसको सीमा हुँदैन । लोसार उत्सवको रुपमा हरेक बर्ष मनाउँदे आएता पनि संवत्को रुपमा यो चलनचल्तीमा आएन । नेपालमा संवत्हरुमा विक्रम संवत्, शक संवत्, नेपाल संवत् र इस्वी संवत्हरु आवश्यकता अनुसार चलनचल्तमिा आएका छन् । हिमतखण्डको यो क्षेत्र सभ्यताको उदगम्स्थल भएकाले विक्रम संवत् एसियाका धेरै देशहरुमा चलनचल्तीमा पनि आयो । भारतको आसाममा र भारतको पश्चिम बंगालमा पनि वैशाख १ गते उत्सवको रुपमा मनाउँछन् । श्रीलंका, कम्बोडिया, लाओसमा पनि वैशाख १ गतेमा उत्सव स्वरुप मनाउने चलन अध्यावधि रहेकाले पनि यसको प्रभाव परेको देखिन्छ ।

विक्रम संवत्मा बर्षमा ३६५ दिन र गते लगायत तीथिबाट पनि लेखिने हुँदा यो चलनचल्तीमा व्यवहारिक भइरहेको छ । नेपाल संवत्मा ३५४ दिन मात्र हुने र तीथिबाट मात्र चल्ने हुँदा तिथिहरु गडबड भइरहने अवस्थामा नेपालमा यो व्यवहारिक हुन नसकेको हो । त्यस्तै शक संवत् यो भारतको मौलिक संवत् हो । यसलाई भारतको मौलिक संवत् मानेर पं. जवाहरलाल नेहरुले भारत स्वतन्त्र भएपछि चलाउन खोजेको थियो । उसका पनि वर्षमा ३५४ दिन हुने र थीतिहरुबाट मात्र चल्ने हुँदा व्यवहारिक हुन सकेन र अंग्रेजी सम्राज्यकालदेखि नैं प्रचलनमा आइरहेको इस्वी संवत् प्रचलनमा ल्याइएको हो । शक संवत् विक्रम संवत् भन्दा १३५ पछि सम्राट कनिष्कबाट उठान भई विक्रम संवत्का थीति, बारहरु ्रग्रहण गरिएको हो । नेपाल संवत्को उठान बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘चीन, तिब्बत र नेपाल’ पुस्तकमा लेखेका छन्– ‘नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको, स्मारकस्रुप यिनले नैं ‘पशुपतिभट्टारक–संवत्को नामले नयाँ संवत्को आरम्भ गराएकाु, पछि यस सम्वत्सँग शंखधरको नाम जोडिन थालेको पाइन्छ, तर शंखधर संवन्धी अलौकिक र अतिरञ्जित किंवदन्तीहरु माथि भने विश्वास गर्न सकिदैन ।’ अर्कातर्फ नेपाल संवत् बारेमा फ्रान्सेली विद्धान सिल्यान लेभीले लेखेका छन्– नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यससमयको वृहत भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीति विरुद्ध त्यहा“का जनताले विद्रोह गरी साम्राज्य कमजोर हुन पुगेको अवस्थामा नेपाल भोट सम्राज्यबाट स्वतन्त्र भएको र त्यसैको संझना स्वरुप इ.सं. ८७९–८८० तिर नेपाल संवत् चलेको भनेका छन् ।

विक्रम संवत् प्रकृतिसँग संवन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपाल भित्र नैं देख्न सकिन्छ । ‘हरेक बर्ष मेष संक्रान्ति, नवबर्षका दिन विक्रम संवत् वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ । सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा बर्षमा एकदिन मात्र फूल्ने सलहेस फूल जस्मा एउटै मात्र माला जस्तो लामो झयाम्म परेको लटरम्म फूल हो । अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिदै नयाँ बर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फूल्दछ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलीदै भोलिपल्छ झर्ने गर्छ । विक्रम संवत्का खास तीथि र गतेहरुमा मेघ गर्जने र पानी पर्ने गर्छ । वैशाख १ गते मेष संक्रान्तिमा, साउने संक्रान्तिमा, माघे संक्रन्तिमा, शिवरात्री, जनै पूर्णिमा, घटस्थापनाका दिन मेघ गर्जने र पानी पर्ने गर्छ । यसले पनि विक्रम संवत्सँग तीथिहरुको अन्तरनिहीत संवन्ध छ । विक्रम संवत्ले मौलिक पहिचान दिन सकेको छ । अतः विक्रम संवत् २०७३ को उपलक्षमा नेपालमा दिगो शान्ति र स्थायित्वको लागि संवैधानिक राजसंस्था र विश्वकाृ एकमात्र हिन्दुअधिराज्यलाई यथावत कायम राखी नेपालको सार्वभौम स्वतन्त्रताको लागि हामी सबै समर्पित हुन सकौं भन्दै २०७३ सालको शुभमुहूर्तमा हार्दिक शुभकामना ज्ञापन गर्दछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !