३० कार्तिक २०८१, शुक्रबार

लकडाउनमा पाशुपत क्षेत्रको अवस्था


पाशुपत क्षेत्र

काठमाडौँ, ५ वैशाख । देश लकडाउन (बन्दाबन्दी) मा नरहेको भए यही वैशाख १ गते पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन्थ्यो । प्रहरीलाई पनि थाम्न निकै गाह्रो पर्नेगरी हरेक वर्ष नयाँ वर्षका दिन देखिने राजधानीबासीको भीड यसपालि पशुपतिनाथमा देखिएन ।

त्यसदिन सार्वजनिक बिदा पनि पर्ने भएकोले पशुपतिनाथ लगायत मन्दिरमा नयाँ वर्ष शुभ रहोस् भन्ने कामनासहित मन्दिर दर्शन गर्न जानेहरुको ठूलो भीड हुने गर्दछ । तर नयाँ वर्षमा धेरैको रोजाइमा पशुपतिनाथ नै पर्दछ ।

यसपटक कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गरेको छ । पशुपतिनाथ मन्दिर लगायत देशभर धेरै भक्तजनको भीड हुने मन्दिरमा भक्तजनलाई प्रवेश गर्न दिइएको छैन । त्यसैले हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर पवित्र पाशुपत क्षेत्र पनि नयाँ वर्षका साथै गएको चैत ११ देखि सुनसान छ ।

भक्तजनहरुका लागि दर्शन गर्न खुला नरहे पनि पशुपति क्षेत्र विकास कोषले भने बन्दाबन्दीका समयमा पनि विभिन्न काममा सक्रियता देखाएको छ । शुपतिनाथ लगायत यहाँका सबै मन्दिरमा नित्य पूजा जारी छ । पशुपतिमा घाट सेवा पनि पूर्ववत् रुपमा नै सञ्चालन भइरहेको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताउनुभयो । बन्दाबन्दीका अवसरमा बेखर्चीलाई शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा पनि कोषले गरेको छ । मूल मन्दिरसँगै घाट क्षेत्रको सफाइ पनि जारी छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण दैनिक पशुपतिनाथ मन्दिर दर्शन गर्ने भक्तजन भने प्रभावित भएका छन् । साढे दुई दशकदेखि नित्य बिहान पशुपतिनाथ मन्दिर दर्शन गर्नुहुने पूर्व सांसद प्रा.विदुर पौडेल दर्शनार्थीलाई नरोक्दा विदेशबाट आउनेको पनि मन्दिरमा भीड लाग्ने भएकाले प्रवेश गर्न नदिनु उपयुक्त कदम भएको बताउनुहुन्छ ।

कोरोना भाइरस विदेशबाट नै आएका देखिएकोले सङ्क्रमण फैलन नदिन पनि विदेशीको आवागमन हुने स्थलमा जमघट बन्द गराएर नेपालीलाई सुरक्षित राख्न सकिन्छ । पशुपतिनाथ मन्दिरमा नित्य रुपमा हुने पूजा, भोग लगायत विधि भने पूर्ववत् जारी रहेको मूलभट्ट गणेश भट्टले बताउनुभयो । जस्तोसुकै अवस्थामा भगवान्को आराधना गर्ने विधिमा सम्झौता गर्न नसकिने उहाँको भनाई छ ।

बन्दाबन्दीअघि पशुपतिमा अर्पण गरिने फूलपाती भट्टलाई समाउन दिइने गरेकामा हाल वरैबाट बार लगाइएको छ । नित्य दर्शनार्थी पशुपतिमा ध्यान, जप गरेर समेत बस्थे । नित्य दर्शनार्थीलाई अहिले दर्शन गर्न गएपनि बिहानै वरैबाट दर्शन गरेर फर्कनुपर्ने पूर्व सांसद पौडेलले बताउनुभयो ।

छाडा गाई र बाच्छा संरक्षण

कोषकै सक्रियतामा बन्दाबन्दीका बेला सडकमा छोडिएका तीन हजार गाई बाच्छा राख्नका लागि गोठाटारमा अस्थायी टहरा निर्माण शुरु भएको छ ।

कोष, छाडा गाई बाच्छा संरक्षण अभियान लगायत संस्थाको सक्रियतामा चैत २६ गतेदेखि उपत्यकाका नगर क्षेत्रमा छाडा गाई बाच्छा सङ्कलन शुरु गरिएको हो । सङ्कलनबाट जम्मा भएका गाई बाच्छा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कोणस्थित वाग्मती नदी किनारमा नअटेपछि गोठाटारस्थित कोषको जग्गामा अस्थायी टहरा निर्माण शुरु भएको सदस्य सचिव ढकालले बताउनुभयो ।

“टहरा निर्माणस्थलमा घाँस छ, चराउन चरन पनि भएकाले राख्न पनि सहज हुन्छ, यहाँ रहेको कोषको ५३४ रोपनी जग्गामध्ये १०० रोपनीमा गौशाला बनाउने नै योजना छ”–उहाँले भन्नुभयो । उपत्यकाका काठ क्षेत्रका नगरपालिकामा पालिएका गाईले बाच्छा जन्माए केही महीनापछि पशुपति क्षेत्र, वाग्मती किनार लगायत सडकमा छोडिने गरेको छ । यसैगरी गाई पनि नब्याउने भएपछि यसरी नै छोडिन्छ । यस्ता गाईबाच्छा सङ्कलनका क्रममा नगरपालिकाका माध्यमबाट गाईपालकलाई पनि जिम्मेवार बनाउन नगर प्रमुखहरुसँग समेत छलफल भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

छलफलका क्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले अभियानलाई सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको छ । बाँकी नगरप्रमुखलाई सहमतिमा ल्याएर यस अभियानलाई अघि बढाइने जनाइएको छ ।

गत वर्ष जेठ १ गतेदेखि वाग्मती किनारमा छाडा छोडिएका गाईबाच्छा संरक्षण शुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो । पछिल्लो समय धेरै गाईबाच्छा जम्मा हुन थालेको र त्यहाँको क्षमता नपुग्ने भएकाले कोषसँगको सहकार्यमा आगामी जेठ १ गतेदेखि सार्ने गरी टहरा निर्माण भइरहेको उहाँले सुनाउनुभयो ।

जम्मा भएका गाईबाच्छालाई दाताले आफ्नो जन्मदिन लगायत शुभ अवसरमा दाना, पिठो, घाँसलगायत आवश्यक सामग्रीका लागि सहयोग दिने गर्नुभएको छ । संरक्षित गाईबाच्छालाई घाँस दाउराको व्यवस्था गर्न आधा दर्जन स्वयंसेवी दैनिक खटिने गर्नुभएको छ ।

पशुपति क्षेत्रको वनकालीमा पनि हाल नन्दीस्थलका रुपमा छाडा गाई बाच्छा संरक्षण गरिएको अभियानकर्मी गोपाल न्यौपानेले बताउनुभयो । मुलुकी संहितामा सार्वजनिक स्थलमा आफूले पालेका गाईबाच्छा छोडेमा कारबाही गरिने व्यवस्था छ । अब छाडा छोड्नेलाई यो व्यवस्थाअनुसार कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने अभियानकर्मीको माग छ ।

विमानस्थलसँगैको संरक्षणस्थलमा पहिले नै ७० वटा गाईबाच्छा थिए । उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईको बाच्छा जन्मिए केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी पुडासैनीले जनाकारी दिनुभयो । बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महीनामै पशुपति एवं वाग्मती किनारमा छोडिदिन्छन् । जसका कारण सडक दुर्घटनाका समस्या समेत बढ्ने गरेको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार गाईलाई गौमाताका रुपमा पुजिन्छ । स्थानीय गाईको गोरसमा औषधीय गुण रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसेको छ । जसको प्रयोगले १४८ प्रकारका रोग निको हुने अनुसन्धाकर्मी गोव्रती योगी सोमराज बताउनुहुन्छ ।

शास्त्रीय रुपमा गरिने प्रत्येक शुभकर्ममा गाईदानको महत्व समेत उल्लेख गरिएको छ । गाईको यही महत्वका कारण कोष र अभियान लगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाईबाच्छा उद्धार गरी राख्न टहरा निर्माण अभियान शुरु भएको हो ।

जारी छ सरसफाइ

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने रोकिएको छैन ।

विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका रुपमा पुज्ने पशुपतिनाथ परिसरमा खेम्स क्लिनिङले तीन वर्षअघिदेखि शुरु गरेको सरसफाई अहिले यो विषय परिस्थितिमा पनि जारी छ । यो सफाइ अभियान शुरु भएपछि विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र सफा देखिन थालेको छ । सफाइ शुरु गरेपछि पशुपति क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्या समेत बढेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

कुचो लगाउने, पानी हाल्ने पुछ्ने काममा सफाइकर्मी सक्रिय छन् र उनीहरुले आधुनिक प्रविधि र सामग्रीको सहायताले यस्तो कार्य गर्ने गरेका छन् । हुने गरेका छन् । कोषका सदस्य सचिव ढकाल कोरोना फैलन नदिन भक्तजनलाई प्रवेश निषेध गरिए पनि परेवाको विष्टाका कारण हुने फोहर सफाइका लागि पनि अभियान जारी रहेको बताउनुहुन्छ ।

बन्दाबन्दी भएपनि दैनिक १५ जना सफाइकर्मी पशुपतिमा खटिएको खेम्स क्लिनिङका स्थलगत (फिल्ड) अधिकृत नवराज भट्टराईले जानकारी दिनुभयो । सफाइपछि कोभिड १९ भाइरसबाट बच्न २५ लिटर पानीमा एक ट्याब्लेट क्लोरोसेट हाली छर्कने गरिएको छ । जसले पशुपति क्षेत्रलाई ‘डिस्इन्फेक्टेड’ बनाउने छ । यस्तो पानी छर्किएपछि छ घण्टासम्म कोरोनाका कीटाणु आउन नसक्ने प्रयोगशालामा प्रमाणित भएको भट्टराईले सुनाउनुभयो ।

खेम्स क्लिनिङले बन्दाबन्दीको समयमा पनि विभिन्न अस्पताल, प्रतिष्ठान तथा अन्य स्थलहरुमा सफाइको काम जारी राखेको जनाएको छ । यसरी सफाइको काममा खटिनेलाई सुरक्षात्मक सामग्री र कतै अस्पतालहरुमा सफाई गर्नेलाई भने व्यक्तिगत सुरक्षा सामग्री (पिपीई) लगाएर सफाइको काम गर्न लगाइएको उहाँले बताउनुभयो । यो भाइरसको प्रकोप रोक्नका लागि सरसफाई नै प्रमुख कार्य भएकोले पछिल्लो समयमा सफाइका लागि धेरैतिरबाट चासो आएको र कतिपय व्यक्तिहरुले आधुनिक र प्रविधिबाट गरिने सफाईका लागि घरघरबाट पनि सफाइका लागि माग आइरहेको खेम्स क्लिनिङका भट्टराईले जानकारी दिनुभयो ।

जङ्गल रहेको पशुपति क्षेत्रको मृगस्थलीमा भने थोरै जनशक्तिले कोषको काम चलाइरहेका कारण हाल सफाइ गर्न नसकिएको कोषका कार्यकारी निदेृशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

बन्दाबन्दीमा निःशुल्क भोजन

मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशामा जीवन यापन गरिरहेकालाई चैत १६ गतेदेखि शुरु गरिएको निःशुल्क भोजन बन्दाबन्दी तीन साता बितिसक्दा पनि जारी छ । चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा शुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० जनालाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ । भोजन गराउँदा कोरोनाबाट बच्न बुधबारदेखि ‘प्लेट’को प्रयोग भने बन्द गरिएको छ । भोजन बनाएर पाकेटमा राखिदिने गरिएको छ ।

भोजन गराउँदा सरकारले तोके बमोजिमको दूरी कायम गरी कोरोना नफैलिने गरी सजगता अपनाइएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !