२४ पुस २०८१, बुधबार

भोट के मा हाल्ने ?


tips-tiwari

डाक्टर भन्दै थिए, ” ए ! तिम्रो त तालु नै पो खुइलिसकेछ।” कारण सोधेँ, भिटामिन डिको कमी भन्ने जवाफ् आयो । मैले सानो कक्षामा पढेको, बिहानको पारिलो घाममा भिटामिन डि मिल्छ अरे ! अनि बिहान उठ्नेबित्तिकै पारिलो घाम ताप्न मन लाग्यो र सोचें मैले आफ्नो तालु जोगाउनकै निम्ति भए’नि भोट त सुर्यमा दिनु पर्छ तर बिडम्बना आधा घन्टा’नि सुर्यको नजिक बस्न नपाउदै पोल्न थाल्छ र शरीरले रुखको सित्तल छहारी खोज्दछ । मन पोल्दा सुख नदिए’नि तन पोल्दा सुख दिने यहि रुख रहेछ अनि मन तानिएर भोट त रुखलाई पो दिउँ जस्तो लाग्छ ।

बुढा बुबाआमालाई छोडेर राजधानी पढ्न आएपछि घरमा काम गर्ने मान्छे नभएर खेत बारी बाझै छन् । खेत नजोते खाने पो आखिर के? नेताको जिब्रोले जोतेर खान नपुग्ने,अनि सोच्दछु खेतबारी जोत्न कामलाग्ने त हलो पो रहेछ र भोट पनि हलो मै दिन्छु । यति सोच्दासोच्दै आँखा ऎनामा जुध्नपुग्छ । हेरेको शरीर त निकै दुब्लाएछ ! ३५ डिग्री सेन्टिग्रेडको चर्को घाममा पनि भित्रपट्टि थर्मोकोट लगाउनुपर्ने बाध्यता नत्र जिउमा लुगा हो कि लुगामा जिउ हो छुट्टाउनै गाह्रो । हुन पनि काठमाडौमा कसरी मोटाइओस! धुलो र धुवाँ बाहेक अरु के नै छ र खान लाई । गाईको दूध खाएर हजुरबुबा मोटाएझैँ मलाई नि गाईको दूध खाएर मोटाउने भूत जाग्यो । यतिका बर्षसम्म गाईलाई घाँसमात्रै हालेर चित्तबुझाएको मैले यस्पटक त भोट समेत हाल्ने विचार जाग्यो, धर्मको नि रक्षा हुने जीउ नि लाग्ने । गाईकै प्रसङ्ग उठिरहँदा सोच्दछु, गाईलाई चाहिने घाँस काट्न त हँसिया अनि गोठ बनाउन हथौड़ा चाहिने रहेछ र फेरि भोट हँसिया हथौड़ामा दिनुपर्ने ठानें ।

देशमा व्यापक बन्द हडताल भैरहने अवस्था छ अचेल त्यसैले बन्दलाई पनि असर नपर्ने त साइकलको आकृती मानसपटलमा कोरिनपुग्छ एक्कासि अनि भोट फेरि साइकलमा दिने बिचार गरें। रन्जुले भनेजस्तो एक कि.मि.कुदायो भने पाँच रुपैयाँ नि पाइने । यतिका दोधार चलिरह्दा झसङ्मै साँझ पो परिसकेको हुन्छ अनि बिचलित मन उही त हो टशिदेले पुग्दछु र एक गिलास तान्न्पुगछु र सोचें आखिर विचार त गिलासले पो जन्माउने रहेछ । गिलास साथमा हुँदा जोस जाँगर नि आउने मन पनि हरर। अनि आँखा चिम्लेर भोट गिलासलाई दिन मन लाग्छ । टशिदेलेबाट फर्कदै गर्दा एक हेर्दा अलि पढेलेखेको जस्तो ब्यक्ति भेट हुन पुग्छ र मलाई सम्झाउदै थियोे साथी यो त स्थानीय चुनाब हो ब्यक्ति हेरेर दिनु अनि फेरि सोचे ब्यक्ति हेरेर दिने भए त त्यो साहुनीको छोरीलाई हेरेर दिनुपर्यो, मोरी अचाक्ली राम्री पनि छे, तसर्थ म निर्वाचन आयोगसमक्ष यी सबैलाई भोट हाल्ने व्यवस्था मिलाइदेउ नत्र म पनि मोर्चासंग एकता गरी आधा जनता खुशी हुने आधा जनता दु:खी हुने कडा भन्दा कडा संसोधन प्रस्ताव तिमी समक्ष राख्दछु।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !