३ आश्विन २०८१, बिहीबार

सम्भव भएसम्म सबैलाइ भन्नुहोस “ह्याप्पी बर्थ डे टु यु”


कुनै जमाना थियो, जुन दिन उमेर बढ्दा खुसी लाग्थ्यो। सायद आफुलाइ जवान महसुस गर्न। अरुले फुच्छे भन्दा निकै चोट पर्दथ्यो मनमा । पख् !एक दिन म पनि ठुलो हुन्छुनि भन्ने भान हुने गर्दथ्यो । घरमा आमाले अब त तँ १६ बर्ष लागिस् भन्दात खुसीको सिमानै रहेको थिएन। लाग्थ्यो म पनि अब जवान भएँ, को भन्दा के कम।आफ्ना पाखुरी ठुला भए जस्तो लाग्ने। अझ ओठमाथी बसेका जुँगाका रेखी ऐनामा हेर्दा त मख्खै परिन्थ्यो। कहिलेकहिँ आमाले गाली गर्दा “मान्छे हेर्दा बुहारी ल्याउने बेला भई सक्यो” भन्दा त झन् खुसीले गद गद भइन्थ्यो।

कक्षा आठको जिल्ला स्तरिय परिक्षाको फर्म भर्ने बेलामा हेड सरले उमेर सोध्दा सबै केटाहरुले आफुलाइ केटीहरुको अगाडी जवान देखाउन आफ्नो उमेर साबिक भन्दा दुइ तिन बर्ष बढाएर भनेको कुरा सम्झँदा हाँसो उठ्छ । त्यती खेर न जन्म दर्ता प्रमाण पत्र चाहिने न त अरु केही। जती भनिदिए पनि हुने । लहै लहैमा लागेर आफुले पनि एक बर्ष ता बढाइयो।

दोस्रो पटक प्रहरी इन्स्पेक्टर को लागी फर्म भर्न जाँदा त उमेर बढी भो भनेर फर्म नै स्विकृत भएन । गज्ज्ब गरिएछ उ बेला । तर अचम्मको कुरा जिवनका झन्डै २५ बसन्त पार गर्दापनि यो “ह्याप्पी बर्थ डे टु यु” भनेर कसैले भनेको सुनिएन। त्यती बेला फेस बुक पनि भर्खर चलाउन सुरु गरेको थिएँ । फेरी त्यो फेसबुक एकाउन्टमा जन्म मिती कती राखियो कती पत्तै भएन। दुइ बर्ष अघाडी सम्म अर्कै दिनतिर पो साथीहरुले “आज तेरो बर्थ डे रे हो ? पार्टी चाहिन्छ नि सोल्टी” भन्दा झसङ्ग भैन्थ्यो। अनि उनिहरुले भन्थे ” मान्छेको बर्थ डे दुइ किसिमको हुन्छ नि त, एउटा फेसबुक बर्थ डे, अर्को वास्तविक” । त्यो फेसबुक बर्थ डे चाहिँ लव पार्नको लागी रे। कुनी के हो, जन्म महिना अनुसार केटाकेटी हरु कस्ता हुन्छन् भनेर खुबै चर्चा चल्ने गर्छरे युवाहरु माझ ।

“फ्रेबुअरीमा जन्मनेहरु त खतरा हुन्छन् ” एउटा साथिले सुनाएको थियो मलाइ ।
“कस्ता खतरा भनेको ?” मैले सोध्दाउस्ले भन्थ्यो
“कुरै नगर , यो फ्रेबुअरमा जन्मने केटा भनेपछी केटी हरु फिदा हुन्छन् ” ।
क्या गज्जब् ! त्यसो त म वास्तविक फ्रेबुअरीमै जन्मेको हुँ, किन नलेख्ने वास्तविक जन्म मिती भनेर राखियो फेसबुक मा।
अब यो फिदा भनेको के र छ कुनी खै ! मेरो जन्म फेसबुकमा फ्रेबुअरी राखेको तिन बर्ष भयो। यसले फिदा भए कि भएनन् त थाहा भएन मलाइ तर मलाइ भने नसोचेको फाइदा भयो।
आफ्नो वास्तविक जन्म दिनको दिन “ह्याप्पी बर्थ डे टु यु” भनेको सुन्न पाइयो । यो कसैले ह्याप्पी भन्दा ह्याप्पी हुने र नभन्दा नहुने भन्ने त होइन । तर खुसी के मानेमा भने मलाइ सम्झिने कती रहेछन भनेर चाहिँ खुसी लाग्ने रहेछ ।
उमेर बढ्दै जाँदा अनेक चिन्ताले सताउनु स्वभाविक हो । तनाब नहुने मान्छे त कमै हुन्छन होला सायद । ऐना हेर्यो , कता कता पल्याक पुलुक फुलेका कपाल देखिन्छन् , फेरी गाला तिर बिस्तारै चाउरिन तयार भएका छालाहरुले गिज्याउँछ । एक किसिमको डर , त्रास ले वास गर्छ मनमा । यो बर्थ डे न आए पनि हुने जस्तो लाग्ने । तन्नेरी केटा केटीहरुले ह्याप्पी बर्थ डे यु भन्दा अब तँ बुढो हुदै छस् भने जस्तो लाग्ने । त्यसै पनि यो चार तिरको तनाब, देसको स्थिती अनि यो वाताबरण, अब के चाहियो ।

तर यो भन्दापनि महत्व पुर्ण कुरा के रहेछ भने कती ले मलाइ सम्झिए भन्ने कुराले असर पार्ने रहेछ। कहिले पनि नभेटेको तर फेस बुकमा मात्र साथी भएका हरुले पनि जन्म दिनको शुभकामना लेखेको देख्दा साँच्चै हर्ष बिभोर बनाउँदो रहेछ। यो निराशा हरुको बिचमा हजार आशाहरु जन्मिदा रहेछन् । अझ कसैले त उज्जल भविश्यको कामना गरेको देख्दा झन् खुसी लाग्ने। साँच्चै यो कस्तो शक्ती रहेछ यसमा । यो कस्तो अदृस्य खुसी । यो कस्तो अदृस्य उत्साह ? केही फरक महसुस हुने, केही फरक सोच्न बाध्य बनाउने, मेरो पनि धेरै मान्छे रहेछन जस्तो हुने। केही नया गर्न बाध्या बनाउने।

फेरी अर्को अदृस्य पिडा पनि हुँदो रहेछ । आफुले नजिक सोचेको र सँधै भेटेको मान्छेले किन भनेनन् भनेर चाहीँ बडो चिन्ता हुँदो रहेछ । हज्जारले भनेर कुनै एक मान्छे जो आफ्नो नजरमा नजिक र आफ्नो महशुस हुन्छ उस्ले विस नगर्दा कस्तो नजानिदो पिडा हुँदोरहेछ मनमा । जे होस् जो होस् एक मिनेट खर्च गर्नुहोस् र लेखिदिनुहोस् खुलेर “ह्याप्पी बर्थ डे टु यु”, यसले हरेक मानिसमा नया उर्जा दिनेछ, केही फरक सोच्न र केही फरक गर्न ।

भरत भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !