८ बैशाख २०८१, शनिबार

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र उनको योगदान


फाल्गुनन्द

पृष्ठभूमि

महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक थिए । फाल्गुननन्दलाई किराँत भाषामा मुहिगुम आङसिमाङभनिन्छ । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे ।  फाल्गुनन्दको जन्म पूर्व नेपालको इलाम जिल्लामा भएको थियो । आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई सधै बिहान बेलुकी चोखो नीतोसँग माङसेवा गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दिब्य ज्योती प्राप्त गरेका थिए ।

परिचय

किरात धर्मावलम्बीहरुको महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए । राष्ट्रिय विभूति फाल्गुनन्दले दश थुमका लिम्बु र १७ थुमका किरातीहरुलाई आजभन्दा ८८ वर्ष अघि पाँचथरको लब्रेकुटीमा वृहत चुम्लुङ (भेला) गराई तत्कालीन समाजमा भएका विकृति, विसङ्गति र कुसंस्कारहरुलाई हटाउन सत्यधर्म मुचुल्कामा सहीछाप गराएको घटना चर्चित रहेको छ ।

योगदान

आफ्नो गाँउ, ठाँउ आफ्नो जात तथा विशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाख २४ गते तत्कालिन दश लिम्बुवान सत्रथुमका समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजीक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी १० बुंदे लिखित मुचुल्का जसलाई सत्य धर्ममुचुल्कापनि भनिन्छ, बनाईयो र करीब हजारौका संख्यामा उपस्थितहरूले आआफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए ।

फाल्गुनन्दले किरात साम्जिक मुन्धुम (शास्त्र) को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलिपूजाको अत्यगरी शुद्ध फलफुलबाट सेवा आरधनाको प्रारम्भ, हराउन लागेको धर्म, संस्कृतिको पुनरउत्थान जस्ता महान कार्यहरु गरे । किरात समुदायमा मासांहार, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनु भएको सन्देशका कारण उनलाई महान समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ भने हुलाक टिकट प्रकाशित गरेको थियो ।

गुरु फाल्गुनन्द सर्किट

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानहरुलाई धार्मिक मार्गमा समेटेर गुरु फाल्गुनन्द सर्किटलाई १०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । पाँचथरको नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट (लोब्रे कुटी-गजुरमुखी धाम-लारुम्बा-चुक्कीनाम्बा) लाई समेटेको छ ।

झापा, इलाम र पाँचथर जिल्लाका स्थानीय तहहरु मिलेर गुरु फाल्गुनन्द सर्किटको निर्माण र प्रचार-प्रसार गरेमा विश्वभरिका किरातहरुको धार्मिक केन्द्र बन्ने र यसबाट नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिने सम्भावना रहेको छ । झापाको दमक हुँदै इलामको रवि चिसापानी र पाँचथरको लेब्रेकुटी–सिलौटी जोड्ने सडकको नाम फाल्गुनन्द मार्ग प्रस्ताव गरिएको छ ।

‘फाल्गुनन्द सर्किट’को सबैभन्दा महत्वपूर्ण स्थान इलामको माङ्सेबुङ–५ स्थित लारुम्बा धार्मिकस्थल हो । जहाँ किरात धर्मका गुरु आत्मानन्द लिङ्देनको आश्रम रहेको छ । विश्वभरीका किरातहरुको धार्मिक केन्द्रको रुपमा विकास भइरहेको लारुम्बामा गुरु आश्रमसहित विश्व किरात मुन्धुम पाठशाला, सेवा सावा (पुजारी) प्रशिक्षण केन्द्र, किरात लिपी पाठशाला आदि रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !