कुरो फ्रान्सको हो, करिब १५ -१६ वर्ष अगाडी एक गोरा दम्पतिको अस्पतालमा छोरी भयो। दम्पति दंग थिए तर बच्ची त्यति गोरी थिइन। समय संगसंगै बच्ची बढ्दै गई, उसको रुपरंग कालो हुदै गयो र कपाल खुङ्गरुङ्ग परेको। कुनै हिशाबले बच्ची गोराको बच्ची जस्ती थिइन। मानिसहरू कुरा काट्न थाले र केटाले श्रीमतीमाथि शंका गर्न थाल्यो तर श्रीमतिचाहिं आफ्नो बफादारितामा अडिक थिइन् । कुरो यति बिग्रदै गयो कि दम्पति छोडपत्रतिर लागे र दम्पति अनि त्यो बच्चीको डी.एन.ए. परिक्षण हुने भयो। त्यति बेला बच्ची १५-१६ बर्षकी थिइन् र आमा छोरीबीच अथाह प्रेम थियो।
डी.एन.ए. परिक्षणको क्रममा २ अचम्मको नतिजा आयो। पहिलो अचम्म: बाबुछोरीको डी.एन.ए. मिलेन र त्यो भन्दा पनि अचम्मको कुरो के थियो भने आमाछोरीको पनि डी.एन.ए. मिलेन। यसबाट के प्रमाणित भयो भने बच्ची उनीहरु दुबैको सन्तान रहेनछे। अनुसन्धान सुरु भयो र एउटा तथ्य आगाडी आयो। कुरो के भएको रहेछ भने जुन दिन त्यो दम्पतिको बच्ची भएको थियो, त्यहि दिनमा एक काला दम्पतिको पनि बच्ची भएको रहेछ। दुर्भाग्यवस एक लापर्वाहा र जडिया नर्सले नशाको शुरमा झुक्केर बच्चीहरु साट्न पुगीछ।
त्यो तथ्य थाहा पाएपछि आमाछोरीलाई छाँगाबाट खसेको जस्तो भयो तर उनीहरुबीचको सम्बन्ध र प्रेममा कुनै कमि आएन। कौतुहलता दुबैको मनमा थियो त्यसैले ति काला दम्पतिको ठेगाना पत्ता लगाएर आमा छोरी लागे, आफ्ना जन्मका छोरी आमा भेट्न। भेटेर कुरा गर्दा उता आमा छोरी पनि छाँगाबाट खसेझै भए तर यतिका बर्षसम्ममा उताका आमा छोरी बीच पनि निकै प्रेम हुनु स्वाभाविकै थियो।
उनीहरु बीच प्रश्न थियो अब के गर्ने ? तर दुबै पक्षले कुनै हिच्किचाहटबिना नै आफ्ना जन्मका भन्दा पनि मनका तथा कर्मका आमा छोरी रोजे र पहिलेकै स्थितिमा बसे।
यो सत्य घटनाबाट यो प्रमाणित हुन्छ कि मातॢप्रेम यति अन्धो हुन्छ की यो कुनै नियम र परिधिभित्र अटाउन सक्दैन।