१२ आश्विन २०८१, शनिबार

एउटा टिचरको डायरीबाट: “छोरी मलाई माफ गर, तिम्रो बाबा हिरा बन्न सकेन”


आज मलाई छोरीले प्रश्न गरी, “बाबा हिरा र ग्राफाइटमा के फरक छ ?”
मैले जवाफ दिएँ, “ग्राफाइट र हिरा दुबै एउटै चिजबाट बन्छ तर फरक यती हो कि ग्राफाइट कम तापक्रममा बन्छ तर हिरा धेरै तापक्रममा बन्छ।”
छोरीले बिचैमा प्रश्न गरी, “हैन बाबा हिरा टल्किन्छ तर ग्राफाइट टल्किँदैन”।
“त्यो पनि हो छोरी, दुबै हो। ” मैले भनें।
“थाहा छ बाबा, हिरा किन टल्किन्छ?”
“किन छोरी तिमी नै भन त।” मैले प्रतिप्रश्न गरेँ।
छोरीले भनी, “किनकी हिरा टल्किनको लागि धेरै मेहिनत गर्छ, धेरै तातो सहन्छ, त्यसैले हिरा चम्किन्छ।”
केही बेर सोची अनि फेरी सोधी, “बाबा तपाईं हिरा जस्तो कि ग्राफाइट जस्तो ?” यो प्रश्नले मलाइ झसङ्ग बनायो।

“बाबा! मेरो साथीले भनेको डाक्टर भनेको हिरा अरे, अनि मास्टर भनेको ग्राफाइट अरे। उसको बाबा त हिरा अरे। तेरो बाबा हिरा कि ग्राफाइट भनेर सोधेको उसले मलाई। अनि मैले सरलाई सोधेको हिरा र ग्राफाइटमा के फरक छ भनेर, सरले त्यही भन्नु भएको।”

“छोरी आज मसँग तिमीलाई दिने जवाफ छैन कि म के हुँ। तर मलाई विश्वास छ कि एक दिन तिमी आफैँले पत्ता लगाउने छौ कि म को हुँ। त्यस दिन छोरी मलाई माफ गरिदिनु कि तिम्रा बाबा हिरा बन्न सकेन।”

म आशावादी होइन, झन् निराशावादी त हुँदै होइन। आशा र निराशाबीचको एउटा सङ्घार छ जहाँ म उभिएको छु। उभिएको पनि के भन्ने! हराइरहेको छु। जीवन सङ्घर्ष हो भनेर सुनेको जुग भयो। खै यो सङ्घर्ष हो वा होइन त्यो त समयले नै जानोस्। एउटा जीवन जिउन सिकेको हो टाक्क टुक्क। झट्ट आँशु झार्न नसकिने र खुलेर हाँस्न पनि नसकिने यो संक्रमणकालीन अवस्थामा भित्र चित्त नबुझी नबुझी गाह्रैसँग निकालेको मन्द मुस्कान बाहेक खासै अरु निकाल्न गाह्रो पर्दोरहेछ। बचपनदेखि जवानीसम्मको अनुभव बटुलेकै हो यहाँसम्म आउँदा। बृद्दावस्थाको अनुभव नभए पनि अनुभुति गर्न सकिन्छ। पढेर या परेर जे जसरी भए पनि केही सिकियो जिन्दगीमा जस्तो लागेकै हो।

इन्ट्रेस्ट भएर हो कि होइन त्यो त थाहा भएन तर बाँच्नको लागी एउटा आधार चाहिएर जागिर खोजेको हुँ। मलाई भन्न लाज छैन कि जागिर नपाएपछि सबैभन्दा सजिलो काम मास्टरी गर्न भनौँ पढाउन। सुरुमा कनिकुथी दुइ चार अङ्ग्रेजी फुटाउँदै पढाउन थालेको कुरा भन्न मलाई लाज छैन । सुरुमा मैले पढाएको विद्यार्थीले बुझे कि बुझेनन् तर पढाउने कुरा आफैँले नबुझेको यथार्थ अझै नाच्छ मेरो स्मरणमा। पेट पाल्न र काठमाण्डौमा अढिन त्यो जागिर टिकाउनु पर्ने बाध्यता ममा थियो। बाध्यता भएपछि जसरी पनि सिक्दो रहेछ मान्छेले। कतै जानेर त कतै नजानेर, कतै खोजेर त कतै सोधेर जानियो पढाउन। भनौँ बनियो यो आजकलको मास्टर साब ।

सपना सबैले देख्छन् होला तर केही सपना अधुरै हुँदो रहेछ। सपना देख्नु र सपना पुरा गर्नु फरक कुरा हो छोरी। छोरी तिमीलाई थाहा छ तिम्रो बाबा एउटा टिचर हो। ऊ आफैँ हिरा बन्न सक्तैन। किनकी हिरा हेर्दा जति राम्रो देखिन्छ त्यति कडा पनि हुन्छ। म त सिसाकलमको भित्र रहेको ग्राफाइट जस्तै हुँ छोरी जो आफु घोटिन्छ र अरुलाई बनाउँछ। तिमीले यो बुझ्नुपर्छ छोरी हिरा आफु टल्किन्छ तर प्रयोगकर्तालाई टल्काउँदैन तर ग्राफाइट आफु टल्किँदैन तर प्रयोग गर्नेवालालाई चम्काउँछ। त्यसैले म आफु होइन, तिमीलाई चम्काउन चाहन्छु छोरी, आफैँ रित्तिएर, आफैँ सिद्दिएर भनौँ सँधै घोटिएर। छोरी ! आफु चम्किनु ठुलो कुरा होइन, आफ्नो सानो प्रयासले अरुलाई चम्काउनु सबैभन्दा ठुलो कुरा हो । बाँच्न सिक्नु र बचाउन सिक्नु फरक कुरा हो छोरी। तिमीले सुनेको ठिक हो। डाक्टरले बचाउन सिक्छ, त्यसैले ऊ हिरा हो। तिमी हिरा नै बन्नु छोरी। तर मलाइ माफ गर तिम्रो बाबा हिरा बन्न सकेन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !