७ बैशाख २०८१, शुक्रबार

नयाँ नेपाल निर्माणको एउटा सपना


पृष्ठभूमि : नयाँ नेपाल निर्माणको एउटा सपना देखिरहँदा म हृदयदेखी सम्झना चाहन्छु तलको राष्ट्रिय गीतलाई एक पटक ।

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा एउटा मानिस खोजिरहेछु 

गीतकार तथा संगीतकार बिश्वनाथ वराल प्रेमले रचना र संगीत दिनुभएको तथा गायक शिशिर योगीले गाउँनु भएको राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट राष्ट्रिय गीत सच्चा देशभक्त नेपालीको नशानशामा रगत संगसंगै बग्छ । यो राष्ट्रिय गीतले देशको राष्ट्रियता, स्वाधीनालाई जोगाउने देशभक्त दुरदर्शी नयाँ राजनीतिक शक्तीलाई हाक्ने साहसी, परम प्रतापी महान मानव नेपालको छोरोको परिकल्पना गरेको छ ।

जसले शक्ति सत्ता पाउदा पनि त्यसको दुरुपयोग नगरोस, महेन्द्र मल्ल जस्तो अरुको दुखलाई आफ्नै दुख सम्झिीयोस । खाचो छ हाम्रो मातृभुमिलाई राजनेताको । बिश्वको ब्यबहारिक सत्य कुरा नेता दुरदृष्ठी र पथप्रदशक हुनैपर्छ । नयाँ नेपाल निर्माणको सपनाको ढोका खोल्दै काठमाडौं उपत्यकाको सडक बिस्तार गरी पुरै शहरको मुहार फेरेकोमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको योगदानलाई सलाम ।

नेपालमा बलियो इच्छाशक्तियुक्त प्रतिबद्ध र जुझारु साहसी राजनीतिक नेतृत्वको आवश्यकता हुन्छ । साच्चै देशको माया गर्ने यौटा महान् युगपुरुष (देशभक्त राजनेता) खोजी रहेछु । नेपालको मुहार फेर्न प्रधानमन्त्री केपी ओलीले जे सपना देखे, देखाईरहेका  छन् र देखाउनेछन्  त्यो एकदमै सान्दर्भिक र प्रशशनीय थियो, छ र हुनेछ तर देश र जनताको हितलाई केन्द्रमा राखी जनताको अपेक्षा अनुसार सोचलाई ठोस कार्यन्वयन गर्नु पनि उतिकै जरुरी छ ।

उनमा यो माथिको राष्ट्रिय गितले खोजेको युगपुरुषको केहि गुणहरु देखिएको छ । हाल देशलाई उज्यालोतर्फ लागेका रहेका पूर्व उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ नेपालको सपनालाई सकार पार्ने तर्फ लम्की रहेकामा हृदयदेखी सलाम । 

दृष्ठान्त

नेपालको इतिहासलाई फर्केर हेर्दा यो देशमा कुनै पनि शक्तिले आफ्नो सांम्राज्य खडा गर्न सके न कुनै संम्राज्यबादी शक्तिहरूसंग घुडा टेक्न बाध्य हुनुपर्याे । एसियामा कसैको पनि उपनिवेश नभएको दुई देशमध्ये नेपाल र थाइल्याण्ड हो। त्यसैले नेपालको गर्विलो इतिहास विश्वसामु उपस्थित छ । हाम्रो देश नेपालमा अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको खाँचो छ ।

डा. महाथीर विन मोहम्मद, वाराक ओबामा जस्ता प्रतिभाशाली नेताको जन्म हुनुपर्ने अत्यन्तै आवश्यक छ नेपाल आमालाई । यतिमात्र होइन अल्र्वट आइन्स्टाइन, कार्ल माक्स, विलियम शेक्सपियर, लियोनार्दो दा भिञ्ची, मदर टेरेसा, मेडम क्यूरी, अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको पनि आवश्यक पर्दछ ।

आधुनिक मलेसिया निर्माता डा. महाथीर विन मोहम्मदको सवल नेतृत्वदायी भूमिकाबाट मलेसिया आर्थिक विकासको लागि मार्ग प्रशस्त गराए । आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन युकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो । विश्वका महान् राजनेताहरू महात्मा गान्धी, अव्राहम लिङ्कन र नेल्सन मण्डेलाले आफ्नो देशको लागि दिइएको महत्वपूर्ण योगदानलाई विश्वले अनन्तकालसम्म स्मरण गरिरहने छ ।

ब्याख्या

ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । देशको भाग्य र भबिष्य निर्माणको लागि नेताको मात्र दोष नभई जनताको पनि उतिकै भूमिका हुन्छ । देशप्रतिको आफ्नो उत्तरदायित्व वोध भएका सच्चा असल नागरिक र राजनेताको खाँचो छ नेपाल आमालाई । प्रत्येक नागरिकमा देशले के दियो भन्दा पनि मैले देशको लागि के दिन सक्छु भन्ने भावनाको उजागर हुनु अत्यन्तै आवश्यक छ । नयाँ नेपाल निर्माणको भावना र सोच सबैमा सशक्त हिसाबले उजागर हुनुपर्छ ।

महान् वैज्ञानिक आन्इस्टाइनका अनुसार ज्ञानभन्दा कल्पनाशक्ति धेरै शक्तिशाली हुन्छ किनकि ज्ञान सीमित छ, तर कल्पनाशक्ति असीमित हुन्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटाले उद्देश्य लिनु के उडी छुनु चन्द्र एक भनेको केही समयपछि मात्र निल आर्मस्ट्रङ चन्द्रमामा अवतरण भए । सोच नै कुनै सफलताको आधार अवश्य हो । दार्श्निक जी बद्रीलार्ड आफ्नो कृति ‘द सिमुलाक्रम’मा सोच व्यवहारभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्छन ।

विश्वका सफल व्यक्तिहरु भन्छन सपना देख, असफल व्यक्तिहरु भन्छन धेरै सपना नदेख । सपना देख्नुपर्छ, उदेश्य राख्नुपर्छ तर त्यस अनुसार कार्य सम्पादन गनुपर्दछ । विकास त्यहीँबाट सुरु हुन्छ, जसले सपनालाई विपनामा बदल्न खोज्छ । जसले सपना देख्दैन, सपनालाई विपनामा परिणत गर्न चाहँदैन र सपना देखे पनि त्यसलाई केलाउने प्रयत्न जसले गर्दैन, त्यो मान्छे मूर्ख शिवाय केही हुन सक्दैन । हामी हाम्रो जीवनकालमा ३ भागको १ भाग सुतेर बिताउँछौं भने ६ वर्ष जति सपना देखेर । हाम्रो हरेक रातको औसत २ घण्टा सपनामा बित्छ ।

मानव मस्तिष्क र पशुपंक्षीको मस्तिष्कको बिचको अर्को एउटा ठुलो भिन्नता के पनि हो भने पशुपंछीलाई मैले सपना देखें भन्ने कुरा पनि थाहा हुँदैन, निद्रा खुलेपछि सपना नै पूर्णत बिर्सिहल्छन, र प्रभाव पनि शुन्य हुन्छ । जर्मन बैज्ञानिक Kekule ले Benzene को Molecule Structure पत्ता लगाउन कति कोशिस गरे, तर सकेनन् । सपनामा सर्पहरु मुखमा पुच्छर हाली गुजुल्टिएको देखे । जब बिउंझिए अरु Organic Compound जस्तै Linear Structure होइन की Benzene को Circular Structure हुँदोरहेछ भन्ने कुराको ज्ञान खुल्यो ।

हाम्रा नेताहरूले नेपाललाई आगामी १० वर्षभित्र सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने कल्पना गर्न थालेका छन् । साँच्चै नै नेपाललाई यी मुलुकहरूको स्तरमा पु¥याउने हो भने ती देशहरूमा विगतमा भएका विकास प्रक्रियालाई बुझ्नुपर्दछ र त्यसबाट पाठ पनि सिक्नुपर्दछ । यसका लागि उनीहरूले जस्तै हामीले पनि आफ्नो वैज्ञानिक दक्षतामा वृद्धि गर्नुपर्दछ ।

अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । सपना सपना मात्र नहोस,सपना बिपना भई साकार बनोस । नेपाललाई सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने सबै नेपालीहरुको सपना साकार पार्नै पर्दछ । हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ ।

कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । हाम्रो नेपाललाई विश्वको नमुना देश बनाउनुपर्दछ । नेपाल बनाउनको लागी हामीमा इच्छाशक्ति चाहिन्छ ।

२०७२ साल १२ वैशाखमा आएको महाविनाशकारी भूकम्पले मुलुकको सम्पूर्ण संरचनालाई तहसनहस पार्नुका साथै मुलुकलाई महाविपत्तिमा धकेले पनि यसले नयाँ नेपालको निर्माण गर्नका लागि नयाँ आधारसमेत निर्माण गरिदिएको छ । यो प्राकृतिक विपद्ले महाविनाश ल्याए पनि यसलाई अवसर र चुनौतीको रूपमा लिएमा यसले समृद्ध र उन्नत नेपालको निर्माण गर्न सघाउ पुयाउँछ ।

राजनीतिले गर्न नसकेको नवनिर्माण भूकम्पको झट्काले गर्न सक्ने सम्भावनाहरू छन । सबै नेपालीको ओठमा हाँसो फर्काउनु आवश्यक छ । शोकलाई शक्तिमा बदलौं र नयाँ नेपाल निर्माणमा जुटौं । नेपाल हाम्रो घर हो, सपना हो, यसको पुननिर्माण गरौ । सम्पुर्ण नेपालीहरुले पाठ सिकेर नयाँ नेपाल निर्माणमा एकजुट भएर अघि बढ्नुपर्दछ । नयाँ नेपाल निर्माणको विस्तृत खाँकासहितको योजना नै अघि सार्न सकेका छन् । हामी सबै नागरिकहरु आफूसँग जे स्रोत, साधन र क्षमता छ, त्यसलाई प्रयोग गर्दै नव नेपाल निर्माणका लागि अग्रसर हुनुपर्ने अवस्था आएको छ । नयाँ नेपाल निर्माणका लागि हामी कसरी अघि बढ्न सक्छौ त ? यसवारे गम्भीर छलफल र विचार विमर्श हुन जरुरी छ ।

जनता विकास चाहन्छ । विकास बिना सम्पन्नता सम्भव छैन । सिंगै नेपालको भुगोल, प्राकृतिक स्रोत साधन, जनशक्ति, आदिको राम्रो अध्ययन गरेर विस्तृत योजना तयार पार्नु पर्छ । विज्ञ, राजनीतिज्ञसहितको टिमवाट विस्तृत अध्ययन गरी तयार पारिएको यस्तो प्रारम्भिक योजनामाथि खुल्ला छलफल चलाइनु पर्छ र जनतावाट समेत सुझाव माग्नुपर्छ । सबैतिरको सुझाव प्राप्त भएपछि यो योजनालाई तत्कालिन (१–२ वर्षसम्म), अल्पकालीन (३–८ वर्षसम्म ) तथा दीर्घकालीन (१०–१५ वर्षसम्म) रुपमा पूरा गर्ने लक्ष्य तोकी कार्यान्वयनमा लगिहाल्नु पर्छ । हामी नेपालको विकासका लागि “एक गाउँ, एक समुह, एक एकीकृत योजना” को नीति अबलम्बन गर्नुपर्छ ।

हामी प्राकृतिक स्रोत, साधन र संस्कृतिमा संसारमै धनी छौ । नेपाललाई संसारकै सुन्दर र सर्वश्रेष्ठ देश बनाउन सकिन्छ । यस्तो मुलुक चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड भएको छ । जसद्धारा प्राकृतिक स्रोत, साधनको समुचित उपयोग गरेर तथा पर्यटकहरूलाई आर्क्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसबारेमा पनि राज्यले विशेष पहल गर्नु जरुरी देखिन्छ र त्यसको लागी उचित वातावरण बनाउनु पर्दछ । राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनुपर्छ

हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । केही दशक अघिसम्म विकासोन्मुख मुलुकको दर्जामा रहेका एसियाका कैयौं मुलुकहरू हाल विकसित मुलुकका सदस्य बनिसकेका छन् ।

हामीले सशस्त्र युद्घ भोगेको १० वर्षको अविधिमा नै थाइल्यान्ड, मलेसिया, सिंगापुर, ताइवानजस्ता छिमेकीको प्रगतिबाट हाम्रो गणतन्त्रले सिक्नुपथ्र्यो । ३ करोड जनसंख्या भएको मलेसियामा २ करोड सवारीसाधन रहेको तथ्यांक देखिन्छ । लगभग ३० वर्ष पहिले समान आर्थिक अवस्था रहेको मलेसिया २०२० बाट विकसित राष्ट्रमा उक्लने तयारीमा छ । हामीलाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुन पनि निकै कठिन छ ।

सरकारले पोखरा, धरान र ललितपुर उपमहानगरपालिकालार्ई हरित सहर’ र काठमाडौं उपत्यका, लुम्बिनी र निजगढलार्ई स्मार्ट सिटी’का रुपमा विकास गर्ने गरेको घोषणालाई अघि बढाई हाल्नुपर्छ । पूर्व पश्चिम बिधुतीय रेलमार्ग र उतर–दक्षिण करिडरको काम तिब्रताका साथ अघि बढाउनुपर्छ । नेपाल सरकारले सन् २०३० सम्ममा देशभर ९३५९३५ किलोमिटर सडक विस्तार गर्ने योजना र सन् २०३० सम्ममा नेपालका ९९% घरधुरीमा विधुत् सुविधा उपलब्ध गराउने योजना अघि बढाई हाल्नुपर्छ ।

खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । सन् १९९० कै परीक्षण अनुसार मकवानपुर धियालको तीनभंगाले-कालोपानी खोला क्षेत्रमा करीब ५ सय १२ मिटरको लम्बाइ र १५ मिटर मोटाइमा युरेनियम भण्डार रहेको अन्वेषण गरिएको छ । भविष्यमा देश संघीयतामा गएर अद्योगिकरणतर्फ प्रवेश गर्दा हाम्रो पुरै ८३००० मेगावाट जलविद्युत क्षमता पर्याप्तनहुन सक्दछ ।

सानो १ मेगावाटको बिजुली उत्पादन गर्न समेत लगभग १५ करोड रुपैंया चाहिन्छ । यसको तुलनामा आणविक उर्जा धेरै सस्तो हुन जान्छ । पानी–पानी मात्र होइन अब खानीमा पनि लगानी गर्नुपर्छ । खानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने सङ्कल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पना मात्र हुन्छ

उपसंहार

दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र ताइवानजस्ता देशहरूले आफूलाई विकासोन्मुख देशको सूचीबाट विकसित देशको खुट्किलोमा पुयाई सकेका छन् भने हाम्रा निकट छिमेकी भारत र चीन अठोटका साथ प्रगतिका पथमा द्रूत गतिले लम्किरहेका छन् । यी दुवै राष्ट्र सन् २०२५ सम्ममा विश्वकै शक्तिशाली आर्थिक केन्द्रका रूपमा स्थापित हुने अनुमान अर्थशास्त्रीहरू गर्दछन् । यी देशहरूले प्राप्त गरेको आर्थिक उन्नतिका कारणहरू मध्ये एक प्रमुख कारण यिनीहरूले समयमा नै राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधिको महत्वलाई स्पष्ट बुझ्नु र आत्मसात् गर्नु हो ।

विगतका केही दशकमा यी मुलुकहरूले विज्ञान तथा प्रविधिका उच्चस्तरीय संरचनाहरूमा गरेको विकास अनुकरणीय छ । विकसित मुलुकहरूमा वैज्ञानिक क्षमताको विकास एकदिनमा भएको होइन । विज्ञान तथा प्रविधिका विकासका लागि दशकौंसम्म ती मुलुकका राजनीतिक नेतृत्वले लिएको दृढ अठोटका कारण यो सम्भव भएको हो ।

विश्वका उदाउँदा छिमेकी देशहरू भारत र चीन दुवै अन्तरिक्ष युगमा प्रवेश गरी सकेकोले गर्दा नेपालमा पनि विज्ञान प्रविधिको विकास गर्न इच्छाशक्ति भएको राजनेता, राजनीतिक प्रतिवद्धता र राष्ट्रिय विज्ञान नीति तत्कालै बनाई पाइला चाली हाल्नु पर्दछ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु पर्दछ

!! जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी !!

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नेपाली राजनीतिको परिदृश्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !