, नेपाली राजनीतिको परिदृश्य

नेपाली राजनीतिको परिदृश्य

राजनीतिलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न

Gopal Bhandari

गोपाल भण्डारी

कवि गोपाल प्रसाद रिमालको महावाणी थियो किः“राष्ट्रको जीवनमा महत्वपूर्ण घटनाहरू एक जुगमा एकदिन एकपटक आउँछन्” । प्रायः सवै देशका संविधान सभाको निर्वाचन एकपटक मात्र हुने गर्दछ । इतिहासका कालखण्डमा राजनीतिमा कहिलेकाही अपवादको नियम पनि लागु हुँदोरहेछ । तर नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका बीचमा सहमति कायम हुन नसकेकोले गर्दा हाम्रो देश नेपालमा दोस्रो पटक संविधान सभाको निर्वाचन गर्नुपरेको तीतो यर्थाथ थियो । यद्यपि विभिन्न चुनौती र अवरोधलाई पार गर्दै दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएकोले देशमा उत्पन्न राजनीतिक र संवैधानिक शून्यतालाई हटाएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणका लागि महत्वपूर्ण आधार निर्माण भएको छ । तसर्थ, संविधान निर्माण भइसकेपछि सवै दलहरूबीच राजनीतिक समझदारी हुनु अत्यन्तै आवश्यक भईसकेको छ ।

भनिन्छ, राज्य एक नैतिक भावको मूर्त रूप हो, यसमा वस्तु, रूप, आत्मा र दृढ स्वतन्त्रताका समिश्रण हुन्छ । राष्ट्र भनेको वास्तवमा माटोको नाम नभई साझा भाषा, साझा संस्कृति, साझा अर्थतन्त्र र साझा मनोभावनाबाट वाँधिएको निश्चित भूभागमा वस्ने मानिसहरूको साझा मन हो । राष्ट्रको रक्षा तथा नेतृत्व गर्न नेताको आवश्यक पर्दछ । राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ । राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ ।

नेपालमा नेता हुन चाहिने मापदण्ड गलत पद्धतिद्वारा चलिआएको छ । सर्वप्रथम व्यक्ति सक्षम भएपछि समाजको सेवा गर्नको लागि राजनीतितर्फ लाग्नुपर्दछ । सानो उमेरैदेखि देशको लागि केही गर्ने भावना हुनु सकारात्मक हो । तर विद्यालय जीवनदेखि नै कुनै पार्टीको खोल ओढेर राजनीतिलाई पेशा बनाउनु धेरै नेपालीहरूको आदत भईसकेको छ । यस्तो संस्कारले देशको मुहार फेरेर समृद्ध नेपाल र सम्पन्न नेपाली बनाउने राजनेताको कहिल्यै पनि जन्म हुदैन । तसर्थ राजनीतिलाई समाज सेवाको रूपमा विकसित गर्न सर्वप्रथम व्यक्ति सक्षम तथा आत्मनिर्भर हुनुपर्दछ । भनिन्छ, “इमान्दार मानिस ईश्वरको सर्वोत्तम सिर्जना हो” । धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति–प्रगतितर्फ अग्रसर गराउँछ । धर्मले व्यक्तिलाई आपत–विपतमा धैर्य धारण गरी कार्य गर्ने, साहसपुर्वक संकटको मुकावला गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्दछ । पवित्रता, स्वच्छता र शुद्घता नै धर्म हो । यसले पाप र पुण्यको विश्लेषण गरेर राम्रो कार्य गर्न मात्र सचेत गर्दछ । यसले कुबाटोमा लाग्न निषेध गर्दछ । अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ । जे मनुष्यले गर्छ त्यसको फल अवश्य पाउछ । दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो । गीतामा पनि भनिएको कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन । तसर्थ जस्तासुकै दुःख र कठिन परिस्थितिमा पनि धर्म नफलौ ।

भावी पुस्तालाई राजनीतिमा आकर्षित गराएर दुरदर्शी राजनेता उत्पादन गर्नको लागि राजनीतिलाई फोहरी खेलको रूपमा नभएर पवित्र समाज सेवाको रूपमा दृष्टिकोण परिर्वतन गरी मर्यादित तथा सम्मानित वनाउनुपर्दछ । एउटा वालकले पनि पछि गएर असल नेता भएर देशको सेवा गर्छु भन्ने वातावरण सिर्जना गराउन सक्नुपर्दछ । नेपालमा वौद्धिक युवालाई राजनीतिमा आकर्षित गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्दछ । परिवर्तित विश्व परिवेश अुनसार प्रतिभाशाली युवा नेताहरूलाई पार्टीमा अगाडि बढन दिने वातावरण सिर्जना हुनुपर्दछ । देश हाँक्ने युवा नेतृत्व आउनु जरुरी छ ।आजको युग भनेको सिर्जनशीलता, क्षमता, योग्यताको आधारमा मानिसको मुल्याङकन हुने युग हो । क्षमता, योग्यता, त्याग र मर्यादाक्रम अनुसार नेताहरूलाई पार्टीमा स्थान दिने संस्कारको विकास हुनुपर्दछ । नेपालका ठूला तथा साना पार्टीहरूका वरिष्ठ नेताहरूको आन्तरिक शीतयुद्धले नेपाली जनतामा गलत राजनीतिक संस्कारको सन्देश दिइ रहनु राम्रो संकेत होइन । पार्टी भनेको कुनै जात, समुदाय र परिवारको नितान्त पेवा होइन । नेपालमा प्रजातन्त्रको नाममा छाडातन्त्रको विकास भने हुन दिनु हुदैन । नत्रभने ती शहिदरुको रगतको अपमान हुनेछ । संसारमा कुनै कुराको स्थायित्व छैन । कुल खन्दान्, धन–सम्पति,राजनीति भनेको तीन पुस्ता सम्म मात्र टिक्दोरहेछ यदि धर्म, कर्म,नैतिकता, छ भने मात्र । नत्र भने एक पुस्तामा नै अन्तय हुन्छ ।

नेपाल जस्तो सानो देशमा दुई वटा मात्र दल हुनआवश्यक छःरिपब्लिकन(गणतान्त्रिक) तथा डेमोक्राटिक (प्रजातान्त्रिक) किनकी राष्ट्रको रक्षा, नेतृत्व गर्न र मुहार फेर्न एक दुई दल तथा एक दुई जना सच्चा राजनेता काफी छ। खाँचो छ,नेपालमा राजनेताको । नेपालमा वि.पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीलाई राजनेताको रूपमा लिन सकिन्छ । विश्वका महान् राजनेताहरू महात्मा गान्धी, अव्राहम लिङ्कन र नेल्सन मण्ेडलाले आफ्नो देशको लागि दिइएको महत्वपूर्ण योगदानलाई विश्वले अनन्तकालसम्म स्मरण गरिरहने छ ।  देशको भाग्य र भबिष्य निर्माणको लागि नेताको मात्र दोष नभई जनताको पनि उतिकै भूमिका हुन्छ । देशप्रतिको आफ्नो उत्तरदायित्व वोध भएका सच्चा असल नागरिक र राजनेताको खाँचो छ नेपाल आमालाई । प्रत्येक नागरिकमा देशले के दियो भन्दा पनि मैले देशको लागि के दिन सक्छु भन्ने भावनाको उजागर हुनु अत्यन्तै आवश्यक छ ।नेपालका अधिकांश नेताहरुमा देशभक्तीको भावना जागृत हुन आवश्यक छ । हाम्रा नेताहरुको रिमोट कन्ट्रोल कहाँ छभन्ने अझसम्म थाहा छैन । नेपाली राजनीतिको तालाचावी नेपाली नेताकै हातमा हुनु आजको नितान्त आवश्यकता हो ।

हाम्रो देश नेपालमा पनि अल्र्वट आइन्स्टाइन, कार्ल माक्स, विलियम शेक्सपियर, लियोनार्दो दा भिञ्ची, मदर टेरेसा, मेडम क्यूरी, अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको खाँचो छ । डा. महाथीर विन मोहम्मद,वाराक ओबामा र नरेन्द्र मोदी जस्ता प्रतिभाशाली नेताको जन्म हुनुपर्ने अत्यन्तै आवश्यक छ नेपाल आमालाई । नत्रभने बुद्घले किराँतेश्वर महादेवको रुपधारण गर्नेछन् पवित्र भूमि नेपालमा । हुनसक्दछ धरै नेपाली आइन्स्टाइन, शेक्सपियर, माक्र्सहरू गाउँमा गाई, भैसी चराउँदै र विदेशको मरुभूमिमा भेडा हेर्दै होलान । दैनिक हजारौंको संख्यामा अध्यागमनमा लाम लाग्ने, अनिश्चित भविष्यको तुवाँलो आँखामा वोकेर खाडी, मलेसिया तथा भारत छिर्ने युवा र शिक्षाको खोल ओठेर रोजगारको लागि अमेरिका, वेलायत, क्यानाडा, जापान र अष्ट्रेलिया जाने युवायुवतीहरूको विषयमा तिनीहरूलाई राष्ट्र निर्माणमा कसरी सान्दर्भिक र अर्थपूर्ण रूपमा ल्याउन सकिन्छ भन्ने कुरा आजको परिवेशमा अत्यन्त आवश्यक भइसकेको छ ।

नेपालका गाउँघरबाट शिक्षा हासिल गर्न शहर पसेका सीमित व्यक्तिहरूको सपना देश निर्माण गर्ने हुन्छ भने “एक पुस्ताको पसिना र खोज” अर्को “पुस्ताको मोज” भन्ने संस्कारमा हुर्किएका शहरिया युवायुवतीको नचाहिदो तडकभडक, लागू पदार्थको सेवन समाजको ठूलो रोग भईसकेको छ । आधुनिकता भनेको ज्ञान, विज्ञानमा परिष्कृत हुनु हो, तर पूरै नक्कल गर्नु चाहि होइन, त्यसलाई विकास गर्नु पनि हो । धर्म, कर्म, नैतिकता, जीवन दर्शनको मूल मर्मलाई भूलेर पश्चिमा संस्कारको नचाहिदो नक्कल गरी व्यक्तिगत स्वार्थमा समाज दौडिरेहको छ ।

नेपालमा पढाईमा अव्वल मानिएका विद्यार्थीहरू वैज्ञानिक, डाक्टर र इन्जिनियर बन्ने प्रचलन छ । एउटा डक्टरले सीमित हजारौं मानिसहरूलाई मात्र स्वस्थ वनाउन सक्दछ भने एक असल राजनेताले देशको र करौडौं जनताको भाग्य र भविष्यलाई कायापलट गर्न सक्दछ । केही सक्षम नेपाली विद्यार्थीहरू छात्रवृत्ति दिएर सरकारी कोटामा डाक्टर, इन्जिनियर पढ्न विदेश पढाउने प्रचलन चलिआएको छ । यसको साथै असल राजनेता वनाउनको लागि विदेशी ठूला–ठूला विश्वविद्यालयहरू शिकागो, हार्वड, क्याम्व्रिज र अक्सफोर्ड सँग नेपाल सरकारको शिक्षा मन्त्रालयले सहकार्य गरेर भौतिकशास्त्र, रसायनशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रविषयहरू पढाउन ती सक्षम विद्यार्थीहरूलाई पठाउनु पर्ने अनिवार्य देखिन्छ । नेपाल राज्यका दुई महत्वपूर्ण पेशाहरू शिक्षण र पत्रिकारितालाई पनि सम्मानित र मर्यादित वनाउनु अत्यन्तै आवश्यक भैसकेको छ । विद्यालय तहमा स्वास्थ्य शिक्षा र नैतिक शिक्षा दुवै पाठयक्रममा अनिवार्य समावेश गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका गणितज्ञ तथा अनुसन्धानकर्ता जेम्स ग्रिमका अनुसार नेपाली झण्डा संसारको सबैभन्दा बढी गणितीय झण्डा भएको कुरा सिद्ध भएको छ । तसर्थ यसको बारेमा पनि चिन्तन गर्न आवश्यक छ ।

विदेशमा प्रधानमन्त्री, राष्ट्रपति भइसकेका सम्माननीय ब्यक्त्विहरु सामाजिक सेवामा र सरकारको सल्लाहकारमा लागेको देखिन्छ । प्रधानमन्त्री भई सकेपछि आफ्नो पार्टी र नयाँ सरकारलाई सल्लाहकारको रूपमा सल्लाह सुझावदिई समाजिक सेवामा लाग्नु भू.पू. प्रधानमन्त्रीहरूको कर्तव्य हो । सत्ता र कुर्सीको चक्रव्यूहमा फस्नु हुदैन । इतिहासले देशको लागि महत्वपूर्ण योगदान गरेका नेताहरूलाई मात्र सम्झन्छ । सम्पूर्ण राजनीतिक दलका नेताहरुले मिलेर नेपाली राजनीतिको घर वलियो वनाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । प्रमुख पार्टीहरूले नयाँ युवा अनुहारहरूलाई राजनीतिमा अवसर दिएर राम्रो राजनीतिक संस्कार विकसित गर्नु टड्कारो देखिन्छ । आजको यूग सूचना, विज्ञान तथा प्रविधिको युग हो । धेरै सभासदहरूले आफूलाई सामाजिक सञ्जाल र प्रविधिप्रति आकृष्ट हुनु अनिवार्य देखिन्छ । बिकट कर्णालीका सभासदहरू भन्दा तराईका पिछडिएको दलित सभासदहरूमा शिक्षाको चेतना अझै कम छ । यसको विकासको लागि सरकार, तराईका मुद्दा उठाउने सवै दलहरू, देशी विदेशी सामाजिक संघसंस्थाहरूको ध्यानाकर्षण गर्न आवश्यक छ ।

धेरै नेताहरूले विदेशी नेताहरू तथा कुटनीतिज्ञहरूसँग व्यवहार गर्दा आफ्नो कुटनीतिक मर्यादा कदापि भुल्नु हुदैन । तसर्थ राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई नेपाली राजनीतिमा संवद्र्धन र सुदृढीकरण गर्नु नितान्त आवश्यक भई सकेको छ । राष्ट्रको ढुकुटी रित्ती सकेको दयनीय अवस्था छ । नेपाल आमाका आँखाबाट झरिरहेको आँसु संबिधानसभाबाट नेपाली माटोमा सुहाउदो संविधान बनेर राष्ट्रको सर्वाङ्गीण विकास भईसकेपछि मात्र रोकिनेछ ।“ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन्” । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ ।

!! जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी !!

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नयाँ नेपाल निर्माणको एउटा सपना