देशको राजधानी हो काठमाडौँ। राजधानी भएपछि धेरै सहनु पर्छ काठमाडौँलाई। एक त देशभरिका मान्छेहरुको ओइरो र साथसाथै तिनीहरुका सपना, आकांक्षा, पूर्वाग्रहहरुको ओइरो र कम्पन पनि।
पृष्ठभूमि:
परापूर्वकालमा मन्जुश्रीले चोभारको नाक आफ्नो खड्गले काटी यो उपत्यकाको पानी बाहिर फालेका थिए रे। फलस्वरूप यो प्राचीन तलाउ मानव बस्तीको लागि उपर्युक्त थलो बन्यो रे। भगवान कृष्णले यो बस्ती बसालेको कहानी पनि यो पंक्तिकारले विद्यालय जीवनमा सुनेको थियो। विभिन्न कालखण्डमा विभिन्न वंशले राज गरे रे यहाँ। जब मल्ल राजाहरुको शासनकालमा गोर्खाली शाहवंशका पृथ्वीनारायण शाहले चन्द्रागिरीको शिखरबाट यो उपत्यका नियाले, तब यसको नक्शा बदलियो र आझसम्म पनि बदलिने क्रम जारी छ। वर्तमान विश्वको नक्शामा नेपालको आकार जत्रो देखिन्छ, यो आकारको किटान गर्न काठमाडौँले केन्द्रिय भूमिका खेलेकै छ। राणा शासनकाल होस् या अहिलेको बहुदल शासनकाल, काठमाडौँ सधैं केन्द्रमै रह्यो र रहिरहेको छ।
कम्पन १:
भौगर्भिक हिसाबले काठमाडौँलाई बसोबासको कसीमा कमजोर देख्छन् विज्ञहरु। यो पुस्ताका बुवा, हजुरबुवाहरुले नब्बे सालको भुकम्प बेहोरे यहाँ। पैंतालिस सालको भुकम्प बेहोरेका पुस्ताले पुनः बहत्तर सालको महाकम्पन बेहोरे यसै उपत्यकामा। जनसंख्याको हिसाबले धेरै मानिसहरु हल्लिए बहत्तर सालभरि र सँगसँगै हल्लिए उनीहरुका सीमित, असीमित चाहनाहरु र आवश्यकताहरु। मानिसको जीवनका दुई प्रमुख सत्य घटना हुन्, जन्म र मृत्यु। बाँकी घटनाहरु मध्ये धेरै चाँही दिमागी कोषहरुका कम्पन मात्र हुन्, जसको अस्तित्व सबैलाई बोध नहुन सक्छ र सत्य नठहरिन सक्छ। पशुपतिनाथको समिपमा रहेको आर्य घाटमा जीवनको विश्राम बिन्दुको साक्षी सीमित आफन्तहरु हुन सक्छन्, तर बहत्तर सालको कम्पनले सबै तहका राजधानीबासीहरु: देश चलाउनेहरुदेखि जुत्ता सिलाउनेहरुसम्म, नुनको सोझो गर्नेदेखि नुनकै बेइमानी गर्नेहरुसम्म, सुनको व्यापार गर्नेदेखि सुनकै तस्करी गर्नेहरुसम्मलाई हल्लाइदियो । कमसेकम जीवनकालमै प्रायः सबैलाई जीवनको गरिमा बोध गरायो यो सालले यही राजधानीमा।
कम्पन २:
प्रकृतिले खरो युद्दभूमिबाट सकूशल फर्काएको थियो। यहाँका बासिन्दालाई फेरि राजनीतिक कम्पनले हल्लायो। गाउँ घरमा खाना पकाउन प्रयोग गरिने दाउरा किन्न यो राजधानीमा तँछाड मँछाड गर्नुपर्ने अवस्था आयो। अब बाँचियो प्रकृतिको पन्जाबाट भन्न नपाउँदै फिर्ता भएको शरीरको पेट पाल्न मानव सृजित संघर्षमा रुमल्लिनु पर्यो केही समय राजधानीबासीलाई । त्यति मात्र होइन, यो शरीर राजधानीको एक ठाउँबाट अर्को ठाउँमा चाँडो पुर्याउन सवारी साधनको जोहो गरेकाहरुलाई इन्धन भर्न समेत एक दुई दिनको लाइन पनि साधारण लाग्न थाल्यो।
कम्पन ३:
प्रकृतिले पनि जोगाएकै थियो, शरीर र सवारी पनि वेगवान् हुँदै थिए। तैपनि वेगवान् शरीर पनि कहिलेकाहीं बिग्रिन्छ। मर्मतै गरेर सहज किसिमले ठिक पार्न सकिन्छ भन्ने कुरामा विश्वस्त एक चिकित्सक प्रकृतिकै पन्जाबाट फुत्किएकाहरुसँग आम राजधानी र देशबासीको स्वास्थ ससम्मान माग्न संघर्ष गर्दै गए ,पटक पटकका आमरण अनसनमा। अर्को कम्पन ल्यायो यसले। यतिखेर यो कम्पनको इपिसेन्टर गोर्खाको बारपाक थिएन।
उपसंहार :
राजधानीको आधुनिक नक्शाको कम्पनको इपिसेन्टर गोर्खाका पृथ्वीनारायण शाह थिए। राजधानीकै बहत्तर सालको प्राकृतिक कम्पनको इपिसेन्टर गोर्खाको बारपाक थियो। र, राजधानीकै स्वास्थ कम्पनको इपिसेन्टर एक चिकित्सक थिए। पटक पटकका कम्पन शैलीहरुसँग राजधानी र राजधानीबासीहरु अभ्यस्त भैसकेका छन्।