४ आश्विन २०८१, शुक्रबार

अस्तव्यस्त काठमाडौं


Kathmandu-Valley

केही समय वा वर्ष बिदेश बसेर नेपाल फर्किएका हाम्रै नेपालीहरूले ‘फर्केर आउँदा नेपालको तस्वीर उदेक लाग्दो पाएँ’ भनेर बताउँदा मलाई त्यो मान्छेप्रति भाउन्न भएर रिस उठ्थ्यो । जिन्दगीको विडम्बना, आँफूलाई पनि परदेशी नै हुन केही विवशता र जीजीविषाका रहरहरूले वाध्य बनाए । एकाध वर्षमा स्वदेश फर्किनु पर्ने सन्दर्भ र परिस्थिति आउने नै भए, आखिर हाम्रा हाँगाबिँगा जता छरिएका भए पनि जरा त स्वदेशमा नै गाडिएका छन् । तर स्वदेश फर्किएर प्रथम गासको रूपमा आँफूले हासिल गर्ने अनुभवहरूले भने प्रतेक पटक दाँतमा ढुङ्गा लगाउने परिस्थिति बनाएका छन्, यसपालि पनि मैले खुशी हुनुपर्ने सन्दर्भ र घटना फेला पार्न सकिन । यसो भन्दा बाहिर बसेर स्वदेशको कन्तो खन्ने शठ-बुज्रुकमा म पनि दरिउँला तर पनि इमान्दारिता पूर्वक भन्ने हो भने मैले स्वदेशमा आशा र भरोसा कहीँ कतै फेला पारिन । मुलुक दश वर्ष उताको भन्दा हरेक क्षेत्रमा मूल्यवत्ता, संस्कार, परिष्कार र आशा-अपेक्षाका पक्षमा जतासुकै खस्केको हो कि भन्ने निराशाववादिताले मलाई यस पटक पनि निर्लिप्त गाँजेको छ ।

काठमाडौं, देशको मुटु र मष्तिष्क दुवै हो, जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाडौं जनसंख्याको चाप, भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो, यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा रमेको पशुपति क्षेत्रको एउटा गँजडी साधु जस्तो देखिन्छ हाम्रो राजधानी शहर अहिले । शरदबाट हिउँदतर्फ प्रवेश गर्दा बिहानी जाडो, हुस्सुको शुरुवाती परिचय, धुलाम्मे परिवेश अनि मान्छेहरूको सर्वत्र कोलाहलबीच यो कुनै मुलुकको राजधानी नभएर एउटा मध्ययुगको भग्नावशेष किल्ला होकि जस्तो प्रतीत हुन्छ । काठमाडौं उपत्यकाका तीनवटा पुराना शहरहरूको आधुनिक आवादी वा जनसंख्याको कुनै आधिकारिक आँकडा कतै छैन तर वर्षेनी बनिरहेका घर, अपार्टमेण्ट र आवासगृहको संख्या नै दशौँ हजारमा छ यहाँ । आधिकारिक आँकडा नभए पनि ५ लाख जनसंख्याका लागि बनाइएको उपत्यकाको सीमित पूर्वाधारले अहिले आफ्नो क्षमताभन्दा १५ गूणा बढी लगभग ७५ लाखलाई थामेर घिस्रेको छ भनिन्छ । यातायातका साधनको कुरा गरी साध्य छैन तर यो यातायाताका साधनहरूको भीडमा माइक्रोबस नामको एउटा साधनलाई भने सबै अग्राधिकारहरू हासिल छन् जस्तो देखिन्छ, मानौँ संघीय राजधानी काठमाडौंको रैथाने जात यही ‘माइक्रो बस’ नै हो । काठमाडौंमा मात्र लगभग १० लाख बढी मोटरसाइकल गुड्छन् । हुन पनि किन नहोस् राजधानीको भीड छिचोलेर हिँड्ने कुनै चलायमान जीव वा निर्जीव छ भने त्यो यही हो । यही साधनले स्कूल, कलेज र महा वा विश्वविद्यालयका शिक्षकदेखि धेरै जागिरेको जागिरको भरोसा र जीवन बोकेर सडकमा गुडेको छ।

काठमाडौंमा पूर्वाधार निर्माणको कुनै योजना र लक्ष्य त केही देखिएनन्, यसको प्रमाण स्वरूप बिगत २ दशकदेखि नसकिएको मेलम्ची परियोजनाको गाथा र कथा हाम्रा अगाडि छँदैछ । एउटा आधुनिक शहरको कुरा त छोडौँ, सामान्य आवश्यकताका सुविधाहरूको व्यवस्थाका कार्यक्रमहरु कतै पाइपलइनमा पनि छैनन् । तर पनि केही ठूलाठुला मल, महल र अग्ला अग्ला आवासग्रृहहरूको निर्माण भैरहेको देखिन्छ, कतिपय चलिसकेका पनि छन् । यो ब्रगेल्ति छरिएको अव्यवस्था र योजना बिहीनताका बीच यस्ता निर्माण र सुविधाहरू अनि यहाँ भीड बन्न पुग्ने मध्यम वर्गदेखि अति धनाढ्यसम्मका सुविधाग्राहीहरूले भने काठमाण्डुको जीवन भित्रको अर्को वर्गको पनि प्रतिनिधित्व गर्दो रहेछन् कि जस्तो अनुभव भयो । फाइभ स्टार होटलको रेष्टुरेण्टदेखि, मेगामल र क्यासिनोहरूमा समेत अहिले ९० प्रतिशत भन्दा बढी नेपाली नै ग्राहक रहने तथ्य सुन्न पाउँदा नेपाल गरीब मुलक भए पनि यहाँका जनता त धनी हुन कि भन्ने भ्रम पर्न सक्छ । यस्तो खालको टिप्पणी मैले एकजना बिदेशी मित्रको मुखबाट नै सुनेको पनि हुँ र म आँफै यो कुरा सही पो हो कि भन्ने भ्रममा पुगेको छु । तर वास्तविकता अवश्य त्यस्तो हैन ।

पूर्वधार सुविधा शून्य भए पनि, काठमाडौंमा घडेरी र घरको जोहो गर्नु अबका दिनमा चानचुने औकातले भ्याउने कुरा रहेन । घर र घडेरीको विषयमा कुरा गर्दा शुरुवाती युनिट १ रहेछ । १ भनेको १ करोड ! पिउने पानी, बिजुली र अन्य जीवनका आधारभूत सुविधाबाट बञ्चित नै हुनुपरे पनि, काठमाडौंवासी हुनुको स्टाटस अब धेरै माथि पुगेको छ । हुनत मुलुकका अरू शहरहरूको स्टाटस पनि कम छैन ! हर्दम मुखमा मास्क लगाएर, ८ सिटे माइक्रोबसमा ३० जना कोचिएर सास्तीले यात्रा गर्दा पनि काठमाडौंले कसैलाई पराइ भनेर हुत्याएको छैन-विशालहृदयी छ पशुपतिनाथको काठमाडौं । महंगीले आकाश ‍भन्दा पनि माथि अरू छुने कुरा भए छुन खोज्दैछ, तर नेपालीहरूलाई यी कुरा किन मुद्दा बनेका छैनन् देख्दा अचम्म लाग्छ । राजनीतिका स-साना मुद्दामा पार्टी पार्टी बनेर तथानामको तमाशा गर्न पछि नपर्ने हाम्रो जीवन र प्रयास, जनजीविकाका मुद्दामा कतै देखा पर्दैन । राजनीतिको तमाशे जात्रा त चलेकै छ, तर सरकारी कार्यालय र अड्डामा पुग्दा १५ वर्षे क्रान्तिको कुनै असर र प्रभाव कतै सुधारका लागि पसेको देखिन्न, बरू कर्मचारीको मनोवृत्ति र विकृति संस्थागत बनेको देखिन्छ राजनितिक संरक्षणको आशीर्वादमा । बलिया दलहरूको फेरो समातेर गर्न नपाइने कुनै कुरो छैन । हरेक काम जायज छ समूहमा गरेपछि, नजायज भन्नेहरू प्रतिगामी, यथास्थितिवादी वा क्रान्ति विरोधी हुनसक्छन् । उता परम्परा र सभ्यताको धुनी जगाउनेहरूको बिलखबन्दी र अकर्मण्यताको बयान पनि छैन । सबै दल, वर्ग, युनियन र विचारका कर्मचारी संगठित बनेर आ-आफ्ना व्यक्तिगत र पार्टीगत झोली बोकेर सम्पूर्ण विकृतिलाई संस्थागत रूप दिन दिलोज्यानले खटिएका दखिन्छन् । धन र लाभका लागि हाम्रो ‘कलेक्टीभ कन्ससनेस’ फोकस्ड भएको देखिन्छ । चियापसल, सरकारी अफिस र कलेजहरूमा पुग्दा हाम्रो मुलुकका मूर्धन्य व्यक्तित्वहरू तीनवटा कुरामा केन्द्रित देखिन्थे – घरघडेरी, पार्टी-भोज (सुरा-सुन्दरी सहित), र राजनीति (दल, कर्मचारी युनियन र अरू तिक्डम् ) । मानौँ, हाम्रा चिन्तनका विषयहरू अरू केही बाँकि रहेनन् ।

म क्षमा चाहन्छु ती चिन्तनशिल सकारात्मक सोच र कर्मठ उत्कण्ठाले ओतप्रोत सीमित काठमाडौंवासीहरू संग जसले संस्कार, सम्भावना र सभ्यताको सानो बत्तिलाई निभ्न नदिएर जोगाइरहनु भएको पनि होला , यदि मैले काठमाडौंको अलिक बढी बदख्वाईँ गरेको छु भने । तर मेरो मानसमा अनि समय दैनिकीका पछिल्ला पानाहरूमा काठमाडौंले सँधै निराशा मात्र थप्दै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !