१८ बैशाख २०८१, मंगलबार

बलात्कार नियन्त्रण गर्न के गर्ने ?


Rape

बलात्कार समाजिक तथा कानुनी रूपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । बलात्कारको अर्थ हो जबर्जस्ती यौन सम्पर्क गर्नु। दोस्रो पक्षको मन्जुरीबेगर जोरजबरजस्ती यौन सम्पर्क स्थापित गर्नु नै बलात्कार गर्नु हो। यौन सबै जीवित प्राणीका लागि भोजनजत्तिकै आवश्यक क्रिया हो। यौनको अभावमा मानिसमा मानसिक रोगसमेत पलाउने अवस्था हुन्छ। त्यसैले विवाहको प्रलचन आयो। मानव शरीरको भोक– यौनको सभ्य र स्वीकृत सन्तुष्टिका लागि बिहे गर्ने, जोडी एकअर्काप्रति समर्पित रहने, विवाहेतर यौन सम्पर्क नगर्ने चलन चलाइयो । किनकि यौन अदम्य भावना हो । चाहेर पनि यसको शमन सम्भव छैन । यसकारण यसलाई निकास दिने मार्ग विवाह हो भने यौन उच्छृङ्खलताको नियन्त्रणका लागि कानुन र सामाजिक नीति–नियमहरूको बेरा लगाइयो । यौनलाई स्वीकृति र नियन्त्रण मानव समाजको एउटा अद्भूत प्रथा हो, जुन प्राय: सबै मानव समाजमा एकनासले चल्दै आएको छ। बलात्कार एउटा कामुक विचलनका साथै कानुनी रूपमा अपराध हो । यौनेच्छा तीव्र भयो र बलात्कारजस्तो कृत्य हुन गएमा यौन स्वतन्त्रता रहेको भनिएको मुलुकमा पनि क्षमायोग्य मानिंदैन, दण्डनीय नै हुन्छ।

साधारणतया बलात्कार दुई प्रकारका हुन्छन्ः व्यक्तिगत र सामूहिक । कुनै व्यक्तिले डर धाक देखाएर वा बलपूर्वक महिलासँग यौनक्रिया गर्छ भने त्यसलाई व्यक्तिगत बलात्कार भनिन्छ । यदि दुई वा दुईभन्दा बढी व्यक्तिले बलपूर्वक यस्तो कुकृत्र्य गर्छन् भने त्यसलाई सामूहिक बलात्कार भनिन्छ ।

हिजोआज बलात्कार शब्द बढी भद्दा लाग्ने र यसले बलपूर्वक गरिएको यौनक्रियालाई मात्र इंगित गर्ने हुनाले यसको सट्टामा यौन दुव्र्यवहार (सेक्सुअल अब्युस्) शब्द प्रयोग गरिन्छ । तर यौन दुव्र्यवहारको अर्थ अलि फराकिलो छ । यौन दुव्र्यवहार भन्नाले बलात्कारका साथै यौनजन्य अन्य दुव्र्यवहार (जस्तैः कामुक दृष्टिले महिला वा महिलाको कुनै अंग हेर्ने, महिलालाई अश्लिल कुरा गरेर जिस्क्याउने, बलपूर्वक महिलाको स्तन, कम्मर वा कुनै अंग स्पर्श गर्ने तथा चुम्बन गर्ने आदि) लाई समेत जनाउँदछ ।

थुप्रै सामाज शास्त्रीहरूले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहाँ महिलामाथि डर धाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, यो पनि लक्षण हो । अर्को कुरा हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ । तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हुँदैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना घट्ने गर्छ ।

प्रसिद्ध समाजशास्त्री प्रा.डा. डाइना ईएच रसेलले पोर्नोग्राफीका कारणले पनि समाजमा यौन दुव्र्यवहार यसरी बढेको जनाउँछिन । उनको भनाइ छ कि पोर्नोग्राफी पढ्ने तथा हेर्ने व्यक्ति यौन उत्तेजनामा आउँछ र उत्तेजना मेट्ने सहज माध्यम पाएन भने सामाजिक मर्यादा तथा कानुनलाई समेत नजरअन्दाज गरी बलात्कार गर्न समेत अग्रसर हुन पुग्छ ।

बलात्कारको नियन्त्रण गर्ने उपायहरु :

कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेलसजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने, पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ ।

मुख्य रुपमा यौन शिक्षालाई खुलेर सिकाइनुपर्छ । यौन शिक्षाका विषयमा खुलेर बहस हुने हो भने यस्ता घटनामा कमि आउँछ । त्यसको लागि घरबाटै सुरु हुनुपर्छ । आमा बाबुले आफ्ना छोराछोरी दुबैलाई समानव्यवहारका साथै उनीहरु भित्र भएका यौन जिज्ञाशालाई सहज रुपमा खेलेर जानकारी दिनुपर्छ । त्यस्तै विद्यालयमा यौन शिक्षाका बारेमा खुलेर सिकाई हुनु जरुरी । साथसाथै सेल्फ डिफेन्सका कुराहरु पनि सिकाईनुपर्छ । जसका कारण सजिलै कुनै पनि केटी मान्छे बलात्कृत हुन पाउँदिनन् ।

हरेक विद्यालयमा यौन शिक्षाका बारेका खुलेर पढाउने व्यवस्था हुनुपर्छ । राज्यका कानुन व्यवहारमै आउनुपर्छ । कार्यान्वयन भएन भने कानुन बनाएर मात्रै केही पनि हुँदैन । पीडिक पक्ष खुलेआम हिडिरहने र पीडित पक्ष लुकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।

हुन त दण्डसजाय बलात्कारको समाधान होइन । तर पनि दण्ड सजायले केही हदसम्म भए पनि बलात्कारका घटना न्यूनीकरण गर्न सक्षम रहेको देखिन्छ । बलात्कारमा प्रायः पुरुष नै विशेष रूपले अपराधी देखिन्छन् । त्यो किनभने समाजका घटेका अधिकांश बलात्कारका घटना पुरुषद्वारा नै गरिएको देखिन्छ । त्यसैले, यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, समाजिक शिक्षा तथा यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महŒवपूर्ण हुन्छ ।

यसै सन्दर्भमा मनोवैज्ञानिक डा. विलसनको भनाइ उल्लेख गर्न उपयुक्त देखिन्छ । डा. विलसन भन्छन्– एक असल मानिसले आफूलाई महिलाभन्दा श्रेष्ठ हुँ भन्ने अहम् राख्दैन । महिलालाई यौन साधन ठान्दैन । ऊ विवाहित वा अविवाहित जस्तो भए पनि आफ्नो ऊर्जालाई समाजको विकास र भलाइका लागि सदुपयोग गर्छ । एक असल मानिसले बलात्कारको कल्पनासमेत गर्दैन । असल मानिसले अनेक बाहना बनाएर प्रेमका नाममा आफ्नी पत्नी वा केटी साथीलाई समेत बलात्कार गर्दैन । त्यसैले महिलाले पति रोज्दा हरेक रात बलात्कार गर्ने पति होइन, शारीरिक रूपमा आर्कषक तथा बलवान् नभए तापनि एक असल पति रोज्नुपर्छ ।’

हो, डा. विलसनले भनेझैं महिलालाई असल पति वा साथी खोज्न सजिलो छैन । तर महिलाहरूले बलात्कारप्रति सचेत भएर यसबाट बच्ने उपाय अवलम्बन गर्ने तथा आफू यौन दुव्र्यवहार र शोषणबाट पीडित भएको खण्डमा सम्बन्धित निकायहरूमा उजुरी गर्ने साहस देखाउने हो भने घरबाहिर होस् वा घरभित्र होस्, बलात्कारका घटनामा धेरै कमी आउने पक्का छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !