९ फाल्गुन २०८०, बुधबार

नाट्य महोत्सव : मैथिली सभ्यता र पहिचान उन्नयनको प्रयास


जनकपुर साहित्य महोत्सव

जनकपुरधाम । ठिहिर्याउँदो जाडो, रातको १२ बजेसम्म कार्यक्रम । त्यसको कुनै प्रवाह नगरी दर्शकले खचाखच भरिएको हुन्थ्यो जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको परिसर । एक दिन वा एकघण्टा होइन, यस्तै भइरह्यो यही माघ १८ देखि २२ गतेसम्मका पाँच दिन ।

आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी समयको हिसाबकिताब गर्दै भन्छन्, “प्रत्येक दिन १७ घण्टाको कार्यक्रम हुन्थ्यो । सुरुमा त दर्शक नआउने पो हुन् कि भन्ने लागिरह्यो ! जसैजसै कार्यक्रम र दिन लम्बिँदै गए, त्यसैत्यसै आकर्षण पो थपियो बरु । महोत्सवका पाँचै दिन, सत्रै घण्टा स्थानीयले रातबिरात वा जाडोको प्रवाह नगरी आनन्द लिनुभयो ।”

त्यसरी दैनिकजसो कार्यक्रममा सहभागी भई आनन्दविभोर हुनेमध्ये एक थिए जनकपुरधाम—४ निवासी बिमल पण्डित । उनी सकेसम्म महोत्सवका सबै सत्रमा उपस्थित हुन्नुभयो । नभए सामाजिक सञ्जालको माध्यमबाट भए पनि आनन्द लिए । त्यसको एउटै कारण थियो, मिथिला र मिथिलाबासीहरुको सभ्यता एवं पहिचानसँग जोडिएका विविध विषयमाथिको चर्चा परिचर्चा ।

“मिथिला र मैथिली सभ्यता तथा पहिचानका लागि सुरुको दिन निकालिएको शोभा यात्राले नै मलाई हरेकदिन कार्यक्रममा जान बाध्य बनायो”, साहले भने,“तर त्यहाँ गएर कुनै पनि दिन किन आएछु भनेर पछुताउनु परेन । आफ्नो कला, संस्कृति, पहिचान र सभ्यताको कुरा उठेपछि आनन्द लाग्ने रहेछ ।”

उनी मात्रै होइन, ७२ वर्षिय रामदेव यादवले कार्यक्रमबारे धेरै चर्चा र चासो सुनेपछि आफू पनि त्यहाँ जान बाध्य भएको बताए । “म त चियापसले हुँ । मेरो पसलमा थरिथरिका मान्छेहरु आउँछन् । धेरैको मुखबाट त्यही महोत्सवको चर्चा सुनेपछि म पनि फुर्सद निकालेर त्यहाँ जान बाध्य भए”, यादवले सुनाए,“चियापसलबाट समय निकालेर हेर्न गएका सांस्कृतिक प्रस्तुती र नाट्कबाट धेरै प्रभावित भए । तर मैले हेर्न नभ्याएका अरु विषयहरु पनि त्यत्तिकै राम्रो थियो भन्ने कुरा चियागफमा सुन्ने गरेको छु ।”

पाँच दिनको अवधिमा विविध विषयमाथि विचार मन्थन भयो । यद्दपि प्रस्तुतिका विधा फरकफरक हुन्थे । विमर्श, नाटक मञ्चन, कवि गोष्ठी, मिथिला चित्रकला तथा हस्तकला प्रदर्शनी, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा अन्य संगोष्ठी । भाषा, विधा र प्रस्तुतिका शैली फरकफरक भए पनि सारमा मिथिला र मैथिली सभ्यता तथा पहिचानको निजत्व, महत्व एवं प्रभुत्वबारे पुनर्ताजगीको प्रयास हुन्थ्यो । सँगसँगै मिथिलाको कला, संस्कृति र भाषा संस्कृतिबारे एकखालको आवेग उत्पन्न गराउन, युवा पुस्तामा त्यसको महत्व विस्तार तथा पुस्तान्तरणका लागि उद्वेलित गर्ने प्रयत्न हुन्थ्यो ।

महोत्सवलाई नजिकबाट हेर्नुभएका स्थानीय परमेश्वर कापडी सुस्ताएको पुरानो पुस्ता र आफ्नो सभ्यता एवं पहिचानबारे खासै चासो नराख्ने युवा पुस्तालाई पुनर्ताजगी गर्न महोत्सवले महत्वपूर्ण माध्यमको काम गरेको बताउछन् । उनी भन्छन्,“मिथिला र मैथिली सभ्यताबारे जानकार पुरानो पुस्ता सुस्ताउदै गएको छ । नयाँ पुस्तालाई धेरै चासो छैन । यस्ता महोत्सव तथा कार्यक्रमहरुले नै हो यी दुबै पुस्तालाई जागृत गर्ने । त्यसैकारण यस महोत्सवले आम जनतामा मैथिली सभ्यताको सम्पूर्णता देखाउन निकै प्रयत्न गरेको छ ।”

कापडीले कला, साधना, विचार मन्थन र चिन्तन परम्पराको केन्द्र रहेको जनकपुर (मिथिला) को गरिमा र आवेगलाई सम्झाउन, चम्काउन र यहाँको समाजसँग भएको विविधतालाई महोत्सवले प्रभावकारीरूपमा प्रस्तुत गर्न सफल भएको बताए । त्यसैगरी मैथिली विकास कोषका सदस्य सचिव एवं वरिष्ठ पत्रकार श्यामसुन्दर शशी पनि मैथिली सभ्यताको विगतलाई सम्झाउन, कतिपय गलत अभ्यासबारे पछुताउन र भविष्यका लागि चिन्तित हुँदै असल योगदानका लागि संकल्प गर्न महोत्सवमा गहन विमर्श भएको बताउछन् ।

“महोत्सवको पाँच दिनमा जल्दाबल्दा विषयहरू सामाजिक सञ्जाल, नयाँ दलको उदय र पुराना दलको उपस्थिति, युवा चिन्तनदेखि पहिचानका मुद्दाहरू उठान ग¥यौ । आफनो गौरबगाथालाई सम्झिन साहित्य, कला, संस्कृति प्रदर्शनको काम भयो”, कापडी भन्छन्,“सबैभन्दा महत्वपूर्ण विषय विविध कारणले मिथिलाको भाषा संस्कृतिलाई जाती विशेषको भनेर अथ्र्याउने गरिएकामा मिथिलाको भूगोलमा बस्ने सबै जातजाति मैथिल र यहाँका सबै भाषिक तथा सांस्कृतिक सम्पदा हाम्रा साझा सम्पत्ति हुन् भन्नेमा एउटा बुझाई बनाउन थोरै भए पनि सफल भएका छौँ ।”

त्यसैगरी साहित्यकार तथा नाट्यकर्मी रमेश रञ्जन जनकपुर अर्थात मिथिलाको ‘गौरवशाली अतित र ऊर्जायुक्त वर्तमान’ राजनीतिक सत्तास्वार्थका कारण ओझेलमा पर्दै गएकाबेला महोत्सवले अस्तित्व रक्षाका लागि जागृत हुन अभिप्रेरित गरेको टिप्पणी गरे । “जनकपुरले मानव सभ्याताको आरम्भदेखि नै ज्ञान, विज्ञानको अनुसन्धान, उत्खनन्, परिस्कृत एवं त्यसको संग्रह गर्ने थलोका रूपमा एउटा गौरबशाली विरासत बनाएको छ । त्यही विरासतबाट प्राप्त भाषा, साहित्य, कला, संस्कृतिको उन्नयन र विकासका लागि महोत्सवले विगतदेखि नै विमर्श गरिरहेको छ । यो पटक पनि देश, विदेशका विद्वानहरूलाई राखेर ज्ञानको उत्खनन् र आदानप्रदान गर्न अत्यन्तै मिहेनत भएको छ”, उनको कथन छ ।

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भने महोत्सवले विभिन्न विषयवस्तुको माध्यमबाट यहाँको चिन्तन एवं परामर्श परम्परालाई जागृत गर्न प्रयत्न गरेको र अब त्यसका निष्कर्षलाई योजनावद्धरूपमा कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुहुन्छ । “महोत्सवमार्फत मिथिला र मैथिली साहित्य, कला, संस्कृति एवं सभ्यता, देशको राजनीतिक तथा अन्य परिस्थितिबारे गहन विमर्श भएको छ । त्यहाँ धेरैले केही प्रतिवद्धता पनि जाहेर गर्नुभयो । अब हरेक दिन, हरेक सत्र र विषयमाथिको विमर्शका निष्कर्ष एवं प्रतिवद्धता कार्यान्वयनका लागि पहल गर्न सक्नुपर्छ”, डा. विमलले सुझाव दिनुभयो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको माध्यमबाट समग्र मधेशलाई एकैथलोमा उभ्याउने र मिथिलाको चिन्तन परम्परालाई जागृत गर्ने चाहना एकहदसम्म सफल भएको बताउनुभयो । तर मञ्चमा व्यक्त विचार र प्रतिवद्धता कार्यान्वयन भएको दिन त्यसको सफलतालाई थप मूल्याङ्कन गर्नु उपयुक्त हुनेमा उहाँको पनि सहमति छ ।

“मिथिलाको समाज, यहाँको आर्थिक, सामाजिक एवं राजनीतिक समस्या, यहाँको सोच, द्वन्द्व र त्यसको निकासका लागि विविध विषयमा गहन विमर्श भयो । अब त्यसको परिणाम देखिनुपर्छ । त्योमध्ये स्थानीय तहका प्रमुखहरुले आगामी शैक्षिक सत्रदेखि नै मातृभाषा शिक्षा र प्रदेश तहका नेता एवं मन्त्रीहरुले प्रदेश भाषाका विषयमा प्रतिवद्धता जनाउनुभएको छ । त्यस्ता अनेकन विषयमा गरिएका प्रतिवद्धता पूरा गर्न हामी निरन्तर झक्झक्याइरहने छौँ”, चौधरीले भने ।

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई मधेशको उत्सवका रूपमा स्थापित गर्ने योजनाअनुसार आफूहरू अगाडि बढिरहेको बताउने अध्यक्ष चौधरी विगतका महोत्सवबाट पाठ सिक्दै यो श्रृङ्खला र यो श्रृङ्खलाबाट पाठ सिक्दै आगामी श्रृङ्खलालाई थप भव्य र सभ्य बनाउन लाग्नेसमेत बताउछन् । “विगतको सिकाइबाट यो पटक हामीले मुस्लिम समुदायलाई समेट्ने प्रयास गर्यो । एकैथलोमा धेरै विषय समेट्ने प्रयास गर्दागर्दै दलित समुदाय, यहाँका ५२ कुटी ७२ कुण्ड, सार्वजनिक सम्पत्तिमाथिको विमर्श छुटेको छ । आगामी दिनमा ती र अरु विषय समेटेर अगाडि बढ्ने छौँ”, चौधरीले भने ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मधेश प्रदेशमा पहिचान, सभ्यता र भाषिक उन्नयनको कुरा उठिरहेका बेला महोत्सवले स्थानीय, प्रदेश र सङ्घीय सरकारमा प्रभाव पर्नसक्ने व्यक्तिहरुको ध्यानाकर्षण गर्न सफल भएको बताए । जातीय, भाषिक र सांस्कृतिक विविधतायुक्त नेपालमा दोस्रो धेरै बोलिने मैथिली भाषा र त्योसँग जोडिएका सभ्यताको समेत संरक्षणमा सबै तहतप्कालाई जागृत गर्नु सराहनीय भएको बताउँदै नगरप्रमुख साहले कला, संस्कृति र भाषाबारेको सन्देश युवापुस्तामा सम्पे्रषण गर्न महोत्सवले महत्वपूर्ण मञ्चको काम गरेको बताए ।

“नेपालका धेरै सभ्यता, मौलिक विशिष्टतायुक्त कला—संस्कृति, रहनसहनमध्ये मिथिलाको आफ्नै छुट्टै प्राचिन एवं समृद्ध परम्परा छ । त्यसको जगेर्ना गर्नु सबै तहका सरकार र अन्य सरोकारवालाहरुको दायित्व हो । महोत्सवको विभिन्न विमर्श सत्रबाट त्यो दायित्व बोध हामीलाई पनि भएको छ । त्यसैकारण मैले त कक्षा एकदेखि आठसम्म मैथिली मातृभाषाको पाठ्यक्रम लागू गर्ने प्रतिवद्धता नै जनाइसकेको छु”, साहको भनाई छ ।

मैथिली विकास कोष, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको सह—आयोजनामा महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा सम्पन्न महोत्सवको यो चौथो श्रृङ्खला हो । महोत्सव २०७३ सालदेखि सुरुभएको थियो ।

चौथो महोत्सवका विधि विषयमध्ये महोत्सवको पहिलो दिन जनकपुरको रंगभूमी मैदान १२ विघाबाट निकालिएको शोभायात्रामा स्वस्फूर्तरूपमा सरिक यहाँका रैथाने समुदायको उपस्थिति र झाँकीहरु साँच्चै हेर्नलायक थिए । त्यहाँ बयबृद्धदेखि युवा, विद्यार्थी, व्यवसायी, महिला तथा बालबालिकाले आफ्नो पहिचान झल्काउने पहिरनसहित सहभागिता जनाएका थिए । त्यसलगत्तै उद्घाटन सत्रमा हिन्दु, मुस्लिम धर्मावलम्बीका आस्था झल्किने प्रस्तुति तथा तामाङ सेलो र झिझियाजस्ता नृत्यमार्फत सिङ्गो देशको चित्र देखाउने प्रयास भएको थियो । सधैं घुम्टोमा देखिने मुस्लिम धर्मावलम्बी किशोरीहरूलाई समेत सहभागी गराएपछि आयोजकको सर्बत्र प्रशंगा भइरहेको छ ।

त्यसबाहेक ‘नव घर उठ्य, पुरान घर…?’ शीर्षकको विमर्शमा नेपालको राजनीतिक परिदृश्य, नयाँ दलहरुको उदय र पुराना दलहरुको उपस्थितिमाथि बृहंगम बिमर्श भयो । त्यस्तै, अहिलेको चासो र चर्चाको विषय ‘सामाजिक सञ्जाल कि जञ्जाल’ माथिको विमर्शले धेरैलाई उद्वेलित गर्यो । जनकपुर गाथाः व्यक्ति चित्र, मिथिला मधेशः उर्बर कि जर्जर र मधेशमा नयाँ संकटका रुपमा देखापरेको पानी अभावको विषय ‘पानीविना अकाल पड़लै अकाले हो राम’ शीर्षकमाथिको विमर्शमा चुरेको अनियन्त्रित दोहन, अव्यवस्थित पूर्वाधार निर्माण र नागरिक सचेतनाको अभावमा मधेशले निकट भविष्यमा पानीको चरम संकट भोग्नेबारे ध्यानाकर्षण गरियो ।

त्यसबाहेक मिथिलामा सिमान्त, भाषा एक नाम अनेक, मातृभाषा शिक्षा, मिथिला चित्रकलामा समकालीनता, कहिले भेटिएला प्रदेश भाषा, चौकठिसँ चानदिस, मैथिली साहित्यमा युवा लेखनजस्ता विभिन्न २० वटा विषयमा विमर्श भयो । नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बंगाली गरी पाँचवटा भाषामा सातवटा नाटक प्रस्तुत गरियो ।

त्यसैगरी विमर्श र नाटक मञ्चनपछि सधैँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपाल तथा भारतका थुप्रै गायक गायिकाले भरपूर मनोरञ्जन दिए । स्थानीय सुनिल मल्लिक, डा. आभाष लाभ, नविन मिश्र, संगीता देव, नेहा प्रियदर्शनी, स्मृति मिश्र र भारतीय कलाकारहरू रंजना झा, प्रिया मल्लिक, पुनम मिश्र, अमर आनन्द, जुली झालगायतले दिनहुँ राती १२ बजेसम्म गर्ने सांगीतीक प्रस्तुतिले जनकपुर गुञ्जायमान भएको थियो । नाटक र मिथिला चित्रकला प्रदर्शनी कार्यशालाले पनि धेरैलाई रोमाञ्चित बनाएको थियो ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छ । मधेशले सङ्घीयताको जननीका रूपमा गौरब गर्ने गर्छ । सात प्रदेशमध्ये मधेश र मधेशीको पहिचान झल्कने गरी प्रदेशको नाम ‘मधेश’ र राजधानी जनकपुर राख्न सकेकामा यहाँ अझ बढी गौरबबोध छ । तर आदिमकालमा तत्कालीन मिथिलाको केन्द्रका रूपमा रहे पनि यस क्षेत्रका गौरबगाथा, इतिहास, सभ्यता र पहिचान विकास, विस्तार तथा संरक्षणमा राज्य व्यवस्थाले भूमिका नखेलेकामा ठूलो दुखमनाउ पनि छ ।

त्यसैकारण पछिल्लो समय मधेश प्रदेश सरकारले यहाँको इतिहास लेखन गर्दैछ । यहाँका प्राज्ञिक मञ्चमा मिथिला कला, संस्कृति र भाषा पुनस्र्थापित गर्नुपर्नेमा निरन्तर विमर्श हुँदै आएका छन् । त्यसैको एउटा उत्कर्ष थियो—जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव । उल्लेखित विषयमाथिको निष्कर्ष र प्रतिवद्धतालाई कार्यान्यन गर्न र गराउनसकेमा महोत्सवको ओज थप बढ्ने विश्वास गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !