८ पुस २०८१, सोमबार

साेह्र श्राद्ध र पितृदर्शन


रामचन्द्र दाहाल र पितृदर्शन

काठमाडौँ । आजभाेलि साेह्र श्राद्ध चलिरहेकाे छ, अधिकारप्राप्त व्यक्तिहरु तिथिअनुसार श्राद्ध गरिरहेका छन् । श्राद्धका बारेमा थुप्रै कथा र प्रसंगहरु चल्ने गरेका छन् र म पनि यसै श्राद्धकै बारेमा केही प्रसंग अलिक फरक किसिमले प्रस्तुत गर्दैछु । श्राद्धका बारेमा जति चर्चा गरेपनि अधुरै रहन्छ । हामीहरु भक्तिभाव र श्रद्धापूर्वक आफ्नो पितृको श्राद्धकर्म सम्पन्न गर्छाैं । पिण्डदान गर्छाैं, ब्राह्मण भाेजन गराउँदै दानदक्षिणा आदि पनि गर्छाैं । तर यस सन्दर्भमा कतिपयले प्रश्न पनि गर्ने गरेका छन् कि मरेर गएका आफ्ना पितृहरुले यो कर्म कसरी देख्छन् ? अनि यसको लाभ कसरी पाउँछन् ? यसकारण श्राद्ध गर्नुकाे कुनै औचित्य नै छैन भनी ब्याख्या गर्नेहरुको ठुलै जमात हुने गरेको छ ।

एक्काइसाैं शताब्दीमा पनि पुरातनवादीहरु झैं रुढिवादमा अल्झिने मान्छे छन् भनेर आफूलाई वुज्रुग ठान्नेहरुकाे पनि जमात कम छैन । कतिपयले भन्ने गर्दछन् कि नाम गाेत्र उच्चारण गरेर बाेलाएपछि आफ्नो पितृ प्रत्यक्ष देखिनु पर्ने हाे तर देखिदैनन् । यसरी आफूलाई अत्याधुनिक ठान्नेहरु पूर्वीय दर्शनकाे मर्मलाई नबुझी निन्दा गर्ने गर्दछन् । के साँच्चै पितृहरुकाे दर्शन हुँदैन त ? अनि हुन्छ भने कसरी ? अनि कसले दर्शन गरे ? यी विविध प्रश्नहरु आम मानिसमा हुनु स्वभाविक नै हो । म यसै सन्दर्भमा यहाँहरुलाई महाभारत र रामायणका केही गहकिला प्रमाणसंगै कसरी सशरीर आफ्ना समस्त पितृहरुकाे दर्शन कुन स्वरुपमा गर्न सकिन्छ चर्चा गर्नेछु ।

यस प्रश्नकाे उत्तर खाेज्न पूर्वीय वाङ्मयकाे अथाह भण्डारमा प्रवेश गरेर त्यस सागरबाट माेती झिक्नै पर्दछ । पूर्वीय दर्शनका षट्दर्शनमध्ये “याेगदर्शन” एउटा महत्वपूर्ण दर्शन हाे । यस दर्शनकाे विभूतिपादमा विभिन्न सिद्धिहरुकाे वर्णन गर्दै अष्टाङ्ग याेग अमुक श्रेणीमा पुगेपछि आफ्ना पितृहरुकाे दर्शन पाइन्छ भनेर उल्लेख गरिएकाे छ तर त्यसका लागि याेग साधनाकाे खाँचाे पर्छ । अहिलेकाे व्यस्त जीवनमा त्यस्ताे साधना कसले गर्ने ? रामायण र महाभारत आदि ग्रन्थहरुमा यससँग सम्बन्धित थुप्रै प्रसंगहरु छन् तर यहाँ केही प्रतिनिधिमूलक घटनाहरुका बारेमा चर्चा गराैं ।

भगवान् श्रीराम जतिबेला वनवासमा थिए त्यस बेला उनले वनमै पिता दशरथकाे श्राद्धकर्म सम्पन्न गरे । सीताले आफ्नै हातले सबै श्राद्ध सामग्री तयार पारेकी थिइन् । श्राद्ध सम्पन्न गरेर जब ब्राह्मणहरु भाेजन गर्न बसेका थिए । ती ब्राह्मणहरुलाई देखेर आफ्नाे कुटीभित्र पसे । जब ब्राह्मणहरु भाेजन गरेर प्रस्थान गरे तब रामले सर्वज्ञ भएर पनि सीतालाई त्यसरी लुक्नुपर्ने कारण साेधे । अनि सीताले भनिन्-

पिता तब मया दृष्टाे ब्राह्मणाङ्गेषु राघव ।
दृष्ट्वा त्रपान्विता चाहमपक्रान्ता तवान्तिकम् ।
याहं राज्ञा पूरा दृष्टाे सर्वालङ्कार भूषिता ।
सा स्वेदमलदिग्धाङ्गी कथं पश्यामिभूमिपम् ।

हे राघव ! निमन्त्रित ब्राह्मणहरुका शरीरमा तपाईका पिता दशरथलाई देखें । त्यसकारण म लज्जित भएर लुक्न पुगेकी हुँ । मेरा ससुराले मलाई विभिन्न आभूषण र गरगहनाले सुसज्जित देखेका थिए तर अहिले पसिना र मैलाले युक्त मलाई नदेखुन् भनेर लुकेकी हुँ । रामायणकै अर्काे प्रसङ्ग यस्ताे पनि छ – जव राम वनवासमा थिए, त्यस बेला एक पटक पिता दशरथकाे श्राद्ध आयाे । श्राद्धकै तयारीका लागि राम कतै जानू भएकाे थियाे । यता श्राद्धकाे घडी बित्न लागेकाे थियाे । ठीक त्यसैबेला राजा दशरथ प्रत्यक्ष प्रकट भएर सीतालाई भन्न थाले-” हे सीते ! श्राद्धकाे घडी बित्न आँट्याे, तसर्थ तिमीसँग जे वस्तु छ त्यही मलाई देऊ । तर बिडम्बना सीतासँग कुनै पनि श्राद्धको सामाग्री थिएन । अत: उनी आश्चर्यचकित भइन् । अब के गर्ने ? के न गर्ने ? भन्ने अन्याेलमा परिन् । फेरि दशरथले भने-” याे नदी किनारकाे बालुवालाई जे सम्झेर मलाई दिन्छ्याै त्यही हुन्छ ।” सीताले पनि त्यसै गरिन् । नभन्दै त्याे बालुवालाई जे-जे सम्झिन् त्यही त्यही भयाे । दशरथ तृप्त भएर फर्किए । उता राम फर्केर आउँदा अघि नै श्राद्ध सम्पन्न भएकाे देखेर आश्चर्यचकित भए । याे पितृदर्शनकाे प्रसङ्ग मात्र हाेइन श्राद्ध गर्दा सम्बन्धित तिथि भित्रै गर्नुपर्छ, तिथि कटाउनु हुँदैन भन्ने बलियाे प्रमाण पनि हाे ।

यसै गरी महाभारतमा पनि एउटा प्रसङ्ग यस्ताे छ – एकपटक भीष्म पितामहकाे निष्ठाकाे परीक्षा गर्न देवताहरुले एउटा आश्चर्यजनक काम गरे । एकदिन उनी आफ्ना पिता सन्तनुकाे श्राद्ध गर्दै थिए र पिण्डदान गर्ने बेला भएकाे थियाे, जब उनले आफ्ना पितालाई पिण्ड दिन खाेजे ठीक त्यति बेला उनका अगाडि साक्षात सन्तनुकाे हात प्रत्यक्ष देखे । अब पितामह आश्चर्यचकित भई, पिण्ड पिताका हातमा राखिदिनु कि शास्त्रीय विधि अनुसार कुश माथि राखिदिनु ? अन्त्यमा उहाँले निर्णय गरे कि म यी सबै काम शास्त्र विधि अनुसार नै गर्दैछु । कुनै लाैकिक मातापिताकाे आज्ञा मानेर हाेइन । शास्त्रमा त पिण्ड कुशमाथि नै राख्नुपर्छ भनिएकाे छ । अतः भीष्मले पिताकाे ममता र स्नेह हुँदाहुँदै पनि विधि अनुसार नै पिण्ड कुशमाथि नै राखे । यसरी भीष्म पितामहकाे शास्त्र निष्ठा देखेर देवगण पनि आश्चर्य चकित भए। अनि सन्तनुलाई लिएर देवताहरु देवलाेकतिर गए । यसरी हाम्राे पूर्वीय दर्शनमा पितृदर्शनका बारेमा श्राद्धको अनेकन वर्णन गरेकाे पाइन्छ । यस आधुनिक युगमा पितृदर्शनका बारेमा के कस्ताे खाेज अनुसन्धान हुँदैछ भन्ने बारेमा चर्चा गरौ- पितृविद्या पूर्वीय परम्पराकाे उच्चतम उपलब्धि हाे ।” छान्दाेग्याेपनिषद्” मा नारद र सनत्कुमारकाे संवादमा विभिन्न विद्याकाे चर्चा हुँदा पितृविद्याकाे पनि उल्लेख पाइन्छ तर ती कतिपय प्रमाणहरु लुप्तप्राय: भईसकेका छन् र केही बाकी छन् भने पनि प्राचीन ग्रन्थमा मात्र सीमित छन् ।

पाश्चात्य विद्वानहरु पनि भारतीय ग्रन्थका यस्तै लेखहरुबाट प्रभावित भएर आफ्ना नयाँ अनुभवद्वारा तत्तत विद्याकाे अन्वेषणमा प्रयत्नशील छन् । पितृविद्याका सम्बन्धमा पनि “Spiritualism” का नाममा आफ्ना विचारहरुलाई जनमानसमा ल्याइरहेका छन् । कुनै मान्छेलाई माध्यम बनाएर त्यसमा मृतकको आत्मालाई बाेलाएर विभिन्न सन्देशहरु लिने गरिन्छ । यस विषयमा अध्ययन र अभ्यास गर्ने मानिसहरुले मृतककाे चित्र खिंचेर लिनेगरेका छन् । लिम्बू, राई लगायतको संस्कृतिमा पनि मृतकलाई बिजुवाले मन्त्र द्वारा आफ्नाे आङमा बाेलाएर कतिपय अज्ञात कुराहरु बाेलाउने गरेका छन् जुन यथार्थ परक पाईएको छ । जब त्यो आत्मा धामी (बिजुवा)को जिउमा आउँछ, घरका साना मसिना देखि ऋण तिर्न र बाँकी कोहि बीच भएका गोप्य बिषयसमेत उजागर गरेर प्रमाण पेश गर्ने गरेको यत्रतत्र देखिएको र सुनिएको छ, याे पनि पितृविद्याकै प्रसङ्ग हुन् । अमेरिकाका धेरैजसाे थियासाेफिष्ट विद्यालयहरुमा त याे विषय पाठ्यक्रममा नै राखिएकाे छ । विज्ञानलाई प्रयाेगात्मक रुपमा पढाए जस्तै पठनपाठन गराउने गरिएकाे छ ।

भारतमा पनि पितृविद्याकाे नवीन संस्करणका रुपहरु विकसित हुँदैछन् । वी. डी. ऋषि (मद्रास), प्राे. नन्दलाल (पञ्जाव) आदि विद्वानहरुले सफल प्रयाेगद्वारा सम्पूर्ण दर्शकहरुलाई आश्चर्य चकित पारिदिएका छन् । स्व. पण्डित केदारनाथ शर्मा ऋषिकुल ब्रह्मचर्याश्रम, हरिद्वारबाट पितृदर्शन सम्बन्धि साहित्य प्रकाशन गर्ने गर्थे । यसै गरी पञ्जावबाट ” परलाेक” नामक पत्रिका प्रकाशन हुने गर्दथ्याे र त्यसमा पितृदर्शन सम्बन्धि थुप्रै रचनाहरु प्रकाशित भएका छन् । यसैगरी लाहाेरबाट “ब्रह्मदर्शन” नामक मासिक पत्रिका प्रकाशन हुन्थ्याे । त्यसमा प्राय: स्वर्गीय स्वामी रामतीर्थकाे आत्माबाट प्राप्त विषयवस्तु प्रकाशित हुन्थे । हिन्दी साहित्यका पुराना लेखक प. द्वारिकाप्रसाद चतुर्वेदीले यस विषयमा धेरै प्रगति गरेका थिए । उनी सुरदास, तुलसीदास आदि महाकविका आत्मालाई आह्वान गर्दथे र ती आत्माबाट प्राप्त कतिपय पद्यरचना समयसमयमा पत्रपत्रिकामा प्रकाशित हुन्थे । यस्तै अन्य थुप्रै प्रसङ्ग स्मरणीय छन् ।

हुन त सपनाकाे विश्वास गर्नु हुँदैन भनिन्छ तर पूर्वमा त यस विषयका पनि थुप्रै ग्रन्थहरु छन ती मध्ये “स्वप्नसिद्धान्त” नामक ग्रन्थ मसँगै सुरक्षित छ अत: तपाई हामीले देखेका यससँग सम्बन्धित सपना पनि प्रमाणित नै हुन् । तपाईंले पनि आफ्ना दिवंगत मातापितालाई देख्नु भएकै हाेला त्याे पनि पितृदर्शन नै हाे ।

अत: नेपालीहरुको महान चाड बडा दशै तथा दिपावलीको सानिध्यमा सबै धर्मावलम्बीहरुले आफ्ना पित्रीहरुलाई सम्झिएर महान चाड आफ्नो मौलिकता अनि सस्कार अनुसार मनाउदा सुनमा सुगन्ध हुनेमा दुइमत नै छैन ।

सन्दर्भ ग्रन्थहरु

१. रामायण – गीताप्रेस
२. महाभारत – गीताप्रेस
३. ब्रह्मदर्शन पत्रिका – लाहाेर
४. परलाेक पत्रिका – पञ्जाव
५. स्वप्नसिद्धान्त – वाराणसी
६. अन्य विविध पत्रपत्रिका

३८ बर्ष लामो शिक्षण पेशामा रहेका रामचन्द्र दाहाल, ताप्लेजुङको बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा प्रधानाध्यापक भई हाइड्रोपावर इन्जिनियरिङ विषयको पढाइ सुरु गराई जिल्लालाई शिक्षामा ठूलो टेवा पुर्याउन सफल ब्यक्तित्व हुन् । लेखन र पुराणवाचनमा निकै सिद्धि कमाएका दाहाल आफ्नो शिक्षण पेशाबाट २०७९ फागुनदेखि निवृत्त भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !