७ श्रावण २०८१, सोमबार

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्रकुमार विश्वकर्मा


महेन्द्रकुमार विश्वकर्मा

भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ ।

“पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ”, विश्वकर्माले भने, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुख्र्यौली पेसा हो । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्याउन जुटेको छु । यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु ।”

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जङ्गबहादुर विश्वकर्मा र बुवा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले बताए । तत्कालिन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ । त्यो समयमा खुकुरी चढाएवापत रु एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए ।

“भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ”, उनले भने, “मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ ।”

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी रु एक हजार पाँच सयदेखी रु ३० हजारसम्ममा बिक्री गर्दै आएको बताए । यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको बताए । आफुले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले जानकारी दिए ।

अठार वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि विश्वकर्माले पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको बताए । “भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु”, उनले भने, “गुणस्तरका कारण बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महङ्गा छन् । अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ । पहिलो पटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ ।”

कालिगड विश्वकर्माका दुई छोराले पनि यही पेसा गर्दै आएका छन् । बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक रु २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए । गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । पुख्र्यौली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पुर्याउने लक्ष्यले स्नातक तह पढेर पनि कालिगड पेसा गर्दै आएको ज्ञानेन्द्रको भनाइ छ । मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनी बताउछन् ।

“यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ”, उनले भने, “हाम्रो गाउँमा विगतमा १० परिवार कालिगड रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ । यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगड पेसा गर्दै आएको छु । यसबाट आम्दानी पनि राम्रै छ ।”

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ । खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा सङ्कटमा पर्ने अवस्था छ । व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ । राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

“यो व्यवसाय सञ्चालन गर्न धेरै नै समस्या छन्”, विश्वकर्माले भने, “दैनिक कामकाजका लागि कोइला, बिँड र दापका लागि चाहिने काठसँगै गुणस्तरीय फलाम पाउन मुस्किल पर्छ । बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजार छैन । बिचौलियाको मारमा हामी उत्पादक परेको अवस्था छ । सरकारले बजारीकरणका साथै आवश्यक सहयोग दिए सहज हुने थियो ।”

बजारको राम्रो व्यवस्था नहुँदा मेहनतअनुसारको आम्दानी लिन कठिनाइ हुने गरेको विश्वकर्माको उनको भनाइ छ । एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठूलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ । आफूले बनाएको खुकुरीमा बाउबाजेले जस्तै घरेलु औजार उपकरणको सहायताले पुरानो शैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने भएकाले आकर्षकसँगै लामो समयसम्म टिकाउ हुने उनको भनाइ छ ।

पछिल्लो समय गुणस्तरभन्दा पनि सजिलोको बाहनामा पुरानो शैलीमा भोजपुरे खुकुरी बनाउने चलन हराउँदै गएको छ । गुणस्तरीय ढङ्गले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिए पनि खुकुरी केही समयमा बिग्रने विश्वकर्मा बताउछन् । सस्तोका नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको उनले बताए ।

“भोजपुरे खुकुरी भन्नेबित्तिकै बनावट र आकार नै विषेश प्रकारको हुन्छ”, विश्वकर्माले भने, “घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै आकर्षक देखिन्छ । तर उपभोक्ताले सस्तो खोज्ने चलन छ । बजारमा पाउने खुकुरी र हामीले बनाएको भोजपुरे खुकुरीमा फरक छ ।”

खुकुरी बनाउने पराम्परागत शैलीलाई यथावत राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे यसलाई बचाइराख्न टेवा पुग्ने कालिगड विश्वकर्मा बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !