१२ बैशाख २०८१, बुधबार

‘भ्रष्टाचार गर्नु भनेको महापाप हो’


घूसको अफर

नवलपुर । भनिन्छ कि भ्रष्टाचार गर्नु भनेको महापाप हो । भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र सम्वृद्धिविरोधी गतिविधि हो । भ्रष्टाचार एक अनैतिक, अनियमित, अवान्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो ।

नेपालमा जताततै भ्रष्टाचार व्याप्त छ । मौलाएको भ्रष्टाचारले मुलुकलाई खोक्रो बनाइरहेको छ । सरकारी कर्मचारीको भ्रष्टाचारयुक्त सोचले नागरिकलाई सरकारी कार्यालयहरूप्रति आकर्षण गर्न सकेको छैन । नेपालमा सोझा नेपाली जनताले घुस नदिई सरकारी कार्यालयमा समयमै काम हुने असम्भव जस्तै भएको छ ।

विगत केही समयअघिदेखि नै बनेका सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सूत्र जप्दै आएपनि व्यवहारमा लागू भएको छैन । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।’ यो उद्गार नेपालका दुई तिहाई बहुमतलको सरकारका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको हो ।

उनी प्रधानमन्त्री रहँदा हरेक सार्वजनिक कार्यक्रममा यहि कुरा दोहोर्‍याउथे । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को भिजन पूरा गर्ने भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने भन्थे पनि । भ्रष्टाचार हाम्रो जस्तो मुलुकको लागि अझपनि मुख्य चुनौती विषय रहेको छ । यो हटाउन अझसम्म पनि सोचेजस्तो सजिलो छैन् ।

संयुक्त राष्ट्रसंघीय महासभाले अक्टोबर ३१, २००३ मा ९ डिसेम्बरलाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेको पाइन्छ । जसअनुसार सन् २०२०देखि नेपालमा पनि यो दिवस मनाउदै आएको छ ।

तर नेपालमा यस्को पालना भएको देखिएको छैन। राजाहरूको पालामा भन्दा लोकतन्त्र सासन पद्धतिमा खुलेर भ्रष्टाचार गरेको पाइन्छ। भ्रष्टाचार कै कारण आज देशको अवस्था धेरै पछाडि परेको अनुमान गर्न सकिन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको टीआईले नेपालमा गत वर्ष भन्दा अहिले भ्रष्टाचार झन् बढेको’ प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल सरकारले खण्डन गरेको विषयलाई लिएर विभिन्न कोणबाट टीका-टिप्पणी भइरहेको छ ।

पब्लिक भ्रष्टाचारमा मुछिनु स्वभाविक हो तर बाहालवाला मन्त्री नै भ्रष्टाचारमा संलग्न हुनु भनेको नाङ्गो नाच हो भन्दा खासै फरक छैन । यसरी भ्रष्टाचार गर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको बदनाम भएको समाचार स्रोत ले देखाएको छ ।

हाल भुटानी शरणार्थी सम्मबन्धी केसमा नेपालीलाई शरणार्थी बनायर गराइएको भ्रष्टाचार यो सबैभन्दा ठूलो अन्तराष्ट्रिय अपराध हो । यसलाई ढाक छोप गरिएमा यसको परिणाम नराम्रो देखिन सक्छ ।

लोकतन्त्र सासन व्यवस्था आफैंमा राम्रो होइन जस्तो मलाई लागेको छ। लोकतन्त्रमा आफै राजा र रैती बनेर देखाउने काम गलत छ ।१७ हजारको बलिदानबाट प्राप्त लोकतन्त्र धरापमा पर्न सक्ने र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको बनेको छवि समाप्त हुने खतरा बढेको छ ।

यदि नेपाललाई कालो सुचिमा राखियो भने युवा विदेश लखेट्नुको परिणाम भयानक हुने र देशमा गृहयुद्ध हुन सक्ने आँकलन गर्न सकिने अवस्था नआउला भन्न सकिन्न । भोली नेताहरु देश छोडेर भाग्नुपर्ने अवस्था आउन सक्छ ।

नेपालको छवि राम्रो बनाउन भ्रष्टाचारका सवै फाइल खोलेर ट्रान्सपरेन्सी इन्टरनेशनलको टीआईले भने अनुसार नेपालबाट भ्रष्टाचार समाप्त पारेर अन्तर्राष्ट्रिय स्तरमा समेत भ्रष्टाचार समाप्त पारेको उधाहरण देखाउन सक्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !