स्थानीय निर्वाचनमा बढ्दो मत बदरमा जिम्मेवार आखिर को ? - Nepalpatra Nepalpatra स्थानीय निर्वाचनमा बढ्दो मत बदरमा जिम्मेवार आखिर को ? - Nepalpatra
१० मंसिर २०७९, शनिबार

स्थानीय निर्वाचनमा बढ्दो मत बदरमा जिम्मेवार आखिर को ?


मतगणना सुरु फाइल फोटो

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकामा सोमबार बिहानसम्मको मतगणनामा प्रमुख पदमा १८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्राप्त विवरणमा उपप्रमुख पदमा झण्डै ४० प्रतिशत मत बदर भएको छ । उपप्रमुखमा विजयी हुने उम्मेदवारले प्राप्त गर्ने मतभन्दा निकै बढी मत बदर हुने स्पष्ट देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वीरगन्ज महानगरमा ९३ हजार ४७३ खसेकामा प्रमुख पदमा ६३ हजार १४७ मत सदर हुँदा बदर हुने मत सङ्ख्या १७ हजार ७६९ छ । उपप्रमुखमा ४३ हजार हजार ३५३ मत सदर हुँदा ३७ हजार ३७१ मत बदर भएको छ । उपप्रमुखमा सदर मतभन्दा बदर मत जम्मा छ हजार हाराहारी मात्रै फरक छ ।

महानगरमा सत्ता साझेदार दलको एउटा गठबन्धन र नेकपा (एमाले) नेतृत्वको अर्काे गठबन्धन चुनावी मैदानमा थियो । गठबन्धन गरेकाले प्रमुखमा नेपाली काँग्रेसको उम्मेदवारी परेन भने उपप्रमुखमा एमालेको उम्मेदवारी छैन । मतगणनामा खटिएका अधिकारीहरु गठबन्धन भएकै कारणले धेरै मत बदर भएको दाबी गर्छन् ।

वीरगन्जको प्रमुखमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह ४६ हजार २१५ र उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका इम्तियाज आलमले कुल २५ हजार १५८ मत प्राप्त गर्नुभयो । दुवै दलको चुनाव चिन्ह रुख र सूर्य मतपत्रमा यथावत रहँदा उम्मेदवार नभएको चिन्हमा धेरै मत गएको पाइएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्ले महानगरका वडा तहमा बदर सङ्ख्या कम भए पनि महानगरमा भने उम्मेदवार नभएका चिह्नमा बढी मत गएकाले धेरै बदर देखिएको बताए ।

यो क्रम विराटनगरमा पनि देखिएको छ । प्राप्त विवरणअनुसार विराटनगरमा प्रमुखमा २४ र उपप्रमुखमा ३८ प्रतिशत मत बदर भएको छ । त्यहाँ पनि उम्मेदवार नै नभएको चिह्नमा अधिकांश मत परेको छ । चितवनको भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेल यसपालि ठूलो मात्रामा मत बदर भएको पाइएको बताए ।

उनले भरतपुरमा सबैभन्दा बढी उपप्रमुखमा मत बदर भएको जानकारी दिए । उपप्रमुखमा देखिएको मतान्तर हुनुमा पनि बदर मतले सघाउ गरेको उनले सुनाए । भरतपुर महानगरमा गठबन्धनका तर्फबाट काँग्रेसका चित्रसेन अधिकारी उपप्रमुखमा उम्मेदवार छन् ।

आज बिहानसम्मको मत परिणाममा अधिकारीले ४८ हजार ९८८ मत प्राप्त गर्नुभएको छ । एमालेको समर्थनमा उम्मेदवारी दिएकी राप्रपाकी हिमला गुरुङले २८ हजार ५२० मत ल्याएकी छन् । यो बीचमा बढी मतान्तर देखिनुमा उम्मेदवार नै नभएको सूर्यमा बढी मत गएको छ ।

कतिपय मतदाताले अर्काे दलको चुनाव चिन्हमा मत हाल्न मनले नमानेर पनि बदर हुने जानी जानी आफ्नै चुनाव चिन्हमा मत हालेका छन् । एमाले चितवनका एक कार्यकर्ताले आफूले पनि सूर्यमा नै मत हालेको बताए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १५ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल ११ लाख मत खसेकामा एक लाख ८२ हजार मत बदर भएको बताए ।

मतपत्रमा स्थानीय तह निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका निर्वाचन चिह्न राखिएका छन् । निर्वाचनमा गठबन्धन गरेका कतिपय दलले पालिकाभित्रका कुनै पदमा आफ्नो उम्मेदवार नउठाएर अर्को दलका लागि छाडिदिएका छन् । उम्मेदवार नै नभएको चिह्नमा पनि प्रशस्त मत खसेको छ । ललितपुर महानगरपालिकाको उपप्रमुख पदमा दलहरुको साझा उम्मेदवारको मतभन्दा उम्मेदवार नै नभएको चिह्नमा खसेको मत बढी छ ।

काठमाडौँ महानगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले मतगणना दोहोर्याइ पाऊँ भनी निर्वाचन अधिृकतको कार्यालयमा निवेदन दिएका छन् । उनले कलम चिह्न पाएका छन् । कांग्रेसले पाएको रुख चिह्नबाट उपप्रमुख पदमा उम्मेदवारी नपरी खाली रहेको छ । तर सो चिह्नमा पनि केही मत खसेको पाइएको छ ।

उनले उम्मेदवार नभएको निर्वाचनमा मात्र मत सङ्केत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रुख चिह्नको मतसङ्केत भए पनि आफू उम्मेदवार भएको कलम चिह्नको मतसङ्केतलाई पनि बदर मानी गणना गरेको र यसबाट मतपरिणाममा असर पुगी उपविजेताले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्था देखिएको बताए ।

काठमाडौँ महानगरपालिकामा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत मात्र बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यी त प्रतिनिधि घटना हुन् । यसपटकको स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा बढी नै मत बदर भएको अनुमान छ ।

ही वैशाख ३० मा भएको सङ्घीय लोकतान्त्रिक गाणतन्त्रात्मक व्यवस्थापछिको दोस्रो स्थानीय तहको निर्वाचनअन्तरगत कतिपय स्थानीय तहमा विजयी उम्मेदवारको भन्दा बढी मत बदर भएको छ भने कतिपय स्थानीय तहमा ५० प्रतिशतको हाराहारीमा मत बदर भएको छ ।

गणनापश्चात बदर मतको यकिन तथ्याङ्क

अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । केही पालिकाको मतगणना जारी छ । निर्वाचन आयोगबाट बदरमतको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । स्थानीय निर्वाचनमा देशभर बदर भएको मतको यकिन तथ्याङ्क सङ्कलन गरिने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “कतिपय स्थानीय तहमा मतगणना जारी छ, केहीमा गणना अझै शुरु हुँदैछन्”, उनले भने, “सबै परिणाम आइसकेपछि बदर मतको बारेमा यकिनका साथ भन्न सकिन्छ ।”

पदगत मत बदर भए पनि मतपत्र नै पूर्ण रुपमा बदर हुने अवस्था भने न्यून हुने उहाँको भनाइ छ । “पूर्ण बदर निकै कम र पदगत बदर बढी हुन सक्छन्”, उनले भने । मतपत्रमा केरमेट गरेको, मतपत्रभन्दा बाहिर स्वस्तिक छाप लगाएको, स्वस्तिक छापको सट्टा अन्य छाप तथा ल्याप्चे लगाएको अवस्थामा मात्र मतपत्र पूर्णरुपमा बदर हुने प्रवक्ता पौडेलको भनाइ छ ।

यसपालि मतदान गर्न पाउने अधिकार पाएका मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना थिए । त्यसमध्ये ६४ प्रतिशत मतदान भएको थियो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार प्रतिशतभन्दा बढी मत बदर भएको थियो ।

निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले मतदानकै दिन यसपटकको निर्वाचनमा मत बदर बढी हुने प्रक्षेपण गरिसकेको थियो । जियोकको प्रक्षेपणअनुसारकै परिणाम नतीजा देखाउँदै गएको छ ।

उम्मेदवार नै नरहेका निर्वाचन चिन्हमा समावेश भएको मतपत्र रहेकाले सबैभन्दा बढी मत बदर हुन सहयोग पुर्याएको हो । त्यस कारण पनि उक्त मतपत्रको औचित्य र वैधतामाथि प्रश्न समेत उपस्थित रहेको पाइएको जियोकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मतपत्र अनावश्यक रुपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिह्नको बारेमा थाहा पाउन सक्ने अवस्था नरहेको तथा मतदाताले सूसुचित र विवेकपूर्ण मत सङ्केत गर्न व्यवधान हुनु जस्ता कारण मत बदर भएका छन् ।

यसपालि मतदाता शिक्षाको समेत अभाव रह्यो । विगतमा एक महिना अघिदेखि नै मतदाना शिक्षा सञ्चालन हुन्थ्यो । तर यसपटक भने त्यस्तो अवस्था रहेन । तनहुँका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल उम्मेदवार नभएको चिह्नमा छाप धेरै लगाएको पाइएको र केहीले भने ल्याप्चे हानेको देखिएको बताए । “उम्मेदवार छ छैन, थाहा छैन, एकलाइनै चुनाव चिह्नमा धमाधम मत हालेको देखियो”, ढकालले भने, “मतदाता शिक्षा कम हुँदा र दलले पनि मतदातालाई राम्ररी जानकार बनाउन सकेन अनि बदर संख्या बढी भयो ।”

उम्मेदवारहरु ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिह्नको बारेमा निश्चित ढङ्गले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति व्यापक र प्रभावकारी हुनु पर्नेमा त्यसको अभाव अति नै खड्किएको जियोकले सार्वजनिक गरेको छ ।

कस्तो अवस्थामा बदर ?

निर्वाचन आयोगले यसपालि दैनिक बुलेटिन निकालेको थियो । तर त्यो विद्युतीय रुपमा निकालिएको बुलेटिन मतदातासम्म पुग्न सकेन । सबै मतदाता प्रविधिमा पोख्त पनि छैनन् । प्रविधिको प्रयोग गर्नेहरुका हकमा भने बुलेटिनमार्फत मतदाता शिक्षा राम्रो भएपनि त्यसको प्रयोग गर्नेहरुको सङ्ख्या निकै न्यून रह्यो ।

आयोगले जारी गरेको सूचनामा सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएमा औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएमा, मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिए वा च्यातिएमा उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएमा, उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएमा, कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएमा मत बदर हुने अवस्था छ ।

निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएमा, मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएमा, आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएमा मतपेटिकाभन्दा बाहिर राखिएमा, जाली मतपत्र भएमा मत बदर हुने आयोगको भनाइ छ । मत बदर हुने अवस्थालाई न्यूनीकरण गर्न आयोग, राजनीतिक दल र आम मतदाता पनि उत्तिकै सचेत र जागरुक हुनुपर्ने अवस्था रहेको यसपटकको स्थानीय तह निर्वाचनले प्रष्ट देखाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !