१३ पुस २०८१, शनिबार

स्थानीय तह निर्वाचन : ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’


महिला नेत्री

बलेवा । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक कर्मचारी, निर्वाचन अधिकृतको नियुक्ति र सामग्रीको जोहोसम्मका काम गरिरहेको छ ।

आयोगले जस्तै दलहरूले पनि आ आफ्ना सङ्गठन , भेला, बैठक तथा सभालाई तीव्र बनाएका छन् । निर्वाचन नजिकिँदै गर्दा बागलुङमा सरगर्मी बढेको छ । खेतलादेखि, सडकका चोक, पसल तथा गाउँघरमा हुने भेटघाटमा समेत सम्भावित उम्मेदवारको चर्चा र टिप्पणी सुरु भएका छन् ।

सबैतिर उम्मेदवारको चर्चा चुलिँदा पुरुषहरूकै नाम अघि छ । अघिल्लो निर्वाचनमा महिला प्रमुख शून्य रहेको बागलुङमा यसपटक पनि सोही अवस्था आउने गरी चर्चा सुरु भएका छन् । यद्यपि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने अहिलेसम्म लगाउन सकेका छैनन् । दलहरूले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि स्थानीय तहमा वडादेखि प्रमुखसम्मका नाम कार्यकर्ताले ल्याउन थालेका छन् ।

कतिपयले पुरानैलाई पुनः दोहो¥याउने मनसायले चर्चा चलाएका छन् भने कतिपयले नयाँ र अनुभव भएकालाई मौका दिनुपर्ने छलफल चलाउन थालेका छन् । सबै दलबीच चर्चा र छलफलको निष्कर्ष समान भए पनि विषय, लैङ्गिकता र व्यक्तिबारे विविधता देखिएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये अघिल्लो निर्वाचनको समयमा छ वटामात्रै महिला उपप्रमुख भएका छन् । प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था भए पनि तालमेल र गठबन्धनका नाममा दलहरुले कानुनसमेत छल्न दुई दलका फरक–फरक उम्मेदवारलाई उठाएर दुवै पदमा पुरुष नै आउने वातावरण बनाए । फलस्वरुप चारवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुष नै छन् ।

यसपटकको निर्वाचनमा पनि सम्भावित उम्मेदवारका नामको सूचीमा महिलाको नाम निकै कम सुनिने गरेको छ । त्यसमा मुख्य पदका लागि झन् महिलाको नाम र चर्चाको विषय नै बन्न सकेको देखिँदैन । यहाँ क्रियाशील रहेका दलका केही महिना पहिला भएका अधिवेशनबाट नेतृत्व छनोट गर्दा कुनै पनि दलबाट पालिका प्रमुखमा महिलालाई जिम्मेवारी दिइएको छैन । दलभित्रै महिलालाई नेतृत्व दिन हिच्किचाएका दलहरूले स्थानीय तहको नेतृत्वमा महिला ल्याउने सम्भावना काम देखिनु अर्को कारण हो ।

यहाँ क्रियाशील रहेका ठूला दलका महिला नेतृहरूले बहस र छलफल थालेका छन् । तर उनीहरुले थालेको बहस र छलफललाई नजिकबाट नियालेर पनि नजरअन्दाज गरिरहेका दलहरुका उम्मेदवार महिला हुनेमा विश्वस्त हुने ठाउँ छैन । समावेशीका हिसाबले बागलुङमा अघिल्लोपटक दलित, जनजातिको उपस्थिति देखिएको थियो । दलित समुदायबाट नगरप्रमुख बनेका देवकुमार नेपाली र मगर समुदायको बाहुल्य रहेको बागलुङमा प्रमुख र उपप्रमुख गरेर ११ जनजाति समुदायका उम्मेदवारले चुनाव जितेका थिए ।

जिल्लामा अघिल्लो निर्वाचनमा ८५ वडामध्ये दुईवटा वडामा मात्रै महिला उम्मेदवारले जितेका थिए । यसपटकको निर्वाचनमा वडामा समेत एकाधबाहेक नेतृत्वमा महिला उम्मेदवारको चर्चा कम छ । “महिलालाई उप र चुपमा मात्रै ल्याउने प्रवृत्तिका विरुद्ध एकताबद्ध भएर जाने भनेका छौँ”, नेकपा (माओवादी केन्द्र)की नेतृ कुसुम बुढाले भनिन्, “स्थानीय तहको नेतृत्वमा अब महिलाको सहभागिता बढाउन दलहरू लाग्नुपर्छ ।” अवसर पाए महिलाले पनि नेतृत्व गर्न सक्ने भन्दै महिलाले सार्वजनिक समारोहमा भाषण गर्न थालेका छन् । “हामीले जे गरिरहेका छौँ, त्यो नै नेतृत्व पाउनका लागि काफी छ”, ताराखोला गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले सङ्केत गरिन्, “ अब नेतृत्व गर्न महिला अघि आउनैपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !