मैले देखेको वर्तमान विद्यार्थी राजनीति अवस्था Nepalpatra मैले देखेको वर्तमान विद्यार्थी राजनीति अवस्था
१ कार्तिक २०७८, सोमबार

मैले देखेको विद्यार्थी राजनीति


विद्यार्थी राजनीति

उच्च माध्यमिक तहको अध्ययन गर्दासम्म राजनीतिसँग मेरो सम्बन्ध भनेको रेडियो र टेलिभिजनमा बज्ने समाचार सुन्नेसम्म मात्रै थियो । राजनीतिको परिभाषा, दर्शन आदिको ज्ञान ममा थिएन तर राजनीतिको प्रभाव सबैको जीवनमा प्रत्यक्ष-प्रत्यक्ष रुपले रहेको हुन्छ र नागरिकको जीवनशैली अनि राष्ट्रको उन्नति दुवै राजनीतिमा निहित हुन्छन् भन्ने नै राजनीति प्रतिको मेरो बुझाई थियो ।

राष्ट्रिय स्तरका राजनीतिक घटनाक्रमसँग आफूलाई अद्यावधिक राख्ने मेरो बानी थियो । यो बानीले गर्दा राजनीतिमा केही रुची हुन थालेको हो की भन्ने भाव हुन थालेको थियो । उच्च माध्यमिक शिक्षापछि स्नातक तहको अध्ययनका लागि आफू भर्ना हुन लागेको कलेजमा विद्यार्थी संगठनहरु रहेको कुराले म उत्साहित भएको थिए । राजनीति अनि नेतृत्वको बारेमा सिक्न पाइएला भन्ने अपेक्षा थियो ।

कलेज जान थालेपछि मेरो अपेक्षा र विद्यार्थी राजनीतिको वास्तविकतामा आकाश-पातालको फरक पाए । विद्यार्थी संगठनहरु छाडातन्त्रमा चलेका रहेछन् । न कुनै विधि, न कुनै पद्दति, न त अनुशासन नै । न कुनै भिजन, न त एजेन्डा नै, न त कुनै छलफल, न त निष्कर्ष नै । संगठनहरुमा विचार र भिजन भएकाहरु भन्दा हुलदंगा, होहल्ला र भाडभैलो गर्नेहरुको बढी प्रभुत्व थियो । विद्यार्थी संगठनहरुमा लागेकाहरुको मुख्य गतिविधि भनेको नै नेतृत्वमा पुग्नको लागि होडवाजी गर्ने थियो ।

कलेज भनेको अध्ययन र अध्यापनसँगै खोज र अनुसन्धान हुनुपर्ने ठाउँ हो । हाम्रा अधिकांश कलेज अनि विश्वविद्यालयमा खोज र अनुसन्धान त टाढाको कुरा, राम्रोसँग पठनपाठन पनि हुदैन, न त समयमा नै परिक्षा अनि समयमै नतिजा प्रकाशन हुन्छ । यस्ता आधारभूत समस्याको समाधान गर्न त विद्यार्थीमा जागरुकता छैन भने अरु कुराको अपेक्षा राख्न ठाउँ नै छैन ।

हामीले कहिले गर्ने खोज र अनुसन्धान ? हामी आयातीत प्रविधिमा निर्वर छौ । हाम्रा स्थानीय स्तरका समस्याका सामाधान आयातीत प्रविधिले गर्न सक्दैनन् । यी समस्याको समाधान गर्न यही नै खोज हुन आवश्यक छ । यी मुद्दालाई विद्यार्थी राजनीतिले समेटेको छैन ।

चार वर्षे स्नातक तहको अध्ययनमा, राजनीतिक चेतना र व्यवहारको आधारमा मैले विद्यार्थीहरुलाई तीन वर्गमा विभाजन गर्छु । पहिलो वर्ग : राजनीतिमा कुनै चासो नराख्ने, राजनीति फोहोरी खेल हो भन्ने मन्यता राख्ने । दोस्रो वर्ग : राजनीतिको मूलभूत ज्ञान नभएको तर राजनीतिको नजिक हुँदा कुनै प्रकारको लाभ लिन सकिन्छ भन्ने भावबाट मुलत: प्रभावित भएर विद्यार्थी संगठनमा आवद्ध हुनेहरु । यो वर्गमा पर्नेहरु धेरैको पारिवारिक पृष्टभूमि राजनीतिसँग नजिक हुन्छ । तेस्रो वर्ग : कम्तिमा पनि राजनीति भनेको समाज र राष्ट्रको समृद्धिसँग गाँसिएको हुन्छ भन्ने चेत भएका र त्यसैले यसम रुचिको साथै संलग्नता हुनुपर्छ भन्ने भाव हुनेहरु । दोस्रो वर्गको संगठनमा बढी प्रभाव थियो ।

अहिलेको विद्यार्थी राजनीति जस्तो संस्कारमा हुर्किरहेको छ त्यसको आधारमा राजनीति अनि राजनीतिसँगै जोडिएको राष्ट्रको भविष्यमा आशावादी हुने ठाउँ नै छैन । विद्यार्थी राजनीतिमा अझै बाढी सहभागिता अनि संस्कारमा व्यापक सुधारको खाँचो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !