७ बैशाख २०८१, शुक्रबार

राम नवमी : धार्मिक महत्वको पर्व  


राम नवमी

चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् अाज राम नवमी, असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले अाजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलङ्का, फिजी टापू, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरुको अायोजना गर्ने गर्दछन् ।

हिन्दू धर्ममा आस्थावान जो कोही राम नवमीका दिन सबेरै नुहाइधुवाइ, शुद्ध बनी राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्दछन् । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकिय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभयो । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्रीरामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभयो । यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

राम नवमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । यसै दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दशैँ मानिन्थ्यो । चैतको गर्मीका कारण असोजको नवरात्रमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैँ भनिन्छ ।  आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिअाएकोछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !