८ मंसिर २०८१, शनिबार

सीता जयन्ती तथा सीता उत्पत्ति रहस्य


सीता जयन्ती तथा सीता उत्पत्ति रहस्य

काठमाडौँ । आज वैशाख शुक्ल अष्टमी माता सीता तथा हाम्रो देशको राष्ट्रिय विभुतिको जन्म जयन्ती भएकोले उहाँको स्मरण गरी लौकिकरूपमा श्रद्धा सुमन अर्पण गर्दछु । यसै गरी माता सीता लौकिक भन्दा पनि अलौकिक गुणले सम्पन्न जगज्जननी मूल प्रकृति स्वरूपाको रूपमा सन्त महात्माहरूले जान्दछन् भने वेद उपनिषद् तथा पुराणले पनि यसै मतलाई प्रधानता दिई वर्णन गरेको अनेकन दृष्टान्तहरू पाइन्छन् ।

मां विद्धि मूल प्रकृतिं सर्गस्थित्यन्तकारिणीम् ।। तस्यसान्धििमात्रेण सृजामिन्द मतन्द्रिता ।।
तत्सान्निध्यान्मया सृष्टं तस्मिन्नारोप्यतेऽबुधैः ।। अयोध्यानगरे जन्म रघुवंशेऽति निर्मले ।।–अध्यात्म रा.बाल १।३४–३५

मलाई संसारको उत्पत्ति, स्थिति तथा प्रलय गर्ने सामर्थ्य भएकी मूल प्रकृति मान, मैले नै निरालस्य भएर रामको सन्निधि मात्र पाएर यो विश्व ब्रह्माण्डको रचना गर्दछु । यो मैले रामको साथ पाएर गरेको रचना तथा निर्माणलाई बुद्धिहीन मनुष्य विभिन्न तर्क दिएर यस सृष्टिलाई परिभाषित गर्दछन् । अतएव अयोध्यापुरीको अत्यन्त पवित्र रघुकुलमा रामले जन्म लिनु, रामले विश्वामित्रलाई सहायता तथा उनको यज्ञको ताटका लगायतका राक्षसबाट रक्षण गर्नु, अहिल्यालाई परेको श्रापबाट मुक्त गराई उनको उद्धार गर्नु, जनकपुरमा राजाको दरवारमा गई शिवधनुष भङ्ग गर्नु, मेरो पाणिग्रहण गर्नु, परशुरामजीको गर्व खण्डन गर्नु, र विवाह पश्चात १२ वर्षसम्म अयोध्यापुरीमा म तथा पुरवासी सँग अनेक लीला गरी तिनीहरूको मन मस्तिष्कमा वस्नु, म संगै वनवास जानु, विराधादि राक्षसलाई मार्नु, मायारूपी स्वर्ण मृगलाई मार्नु, मेरो छाँयारूप सीताको रावणद्वारा हरण हुनु, त्यस्यन्तर्गत शबरीलाई दर्शन दिई, जटायु तथा कबन्धलाई मोक्ष प्रदान गर्नु, सुग्रीवादि वानरहरूसँग मित्रता गरी बालिलाई वध गर्नु र उनीहरूको सहायताले मेरो अन्वेषण गर्नु, हनुमानले समुद्र लङ्घन गरी लङ्का दहन गर्नु, समुद्रमा सेतु निर्माण गरी लङ्कालाई घेर्नु, दुरात्मा रावणसँग युद्ध गरी त्यसका पुत्र सहित सम्पूर्ण राक्षसको समूल नष्ट गर्नुका साथै विभीषणलाई लङ्काको राज्य दिएर पुष्पक विमानबाट अयोध्यापुरीमा मेरा साथमा पुनः फर्कनु, श्रीरामजीलाई अयोध्यापुरीको राजपदमा अभिषिक्त गर्नु आदि समस्त कार्य मेरै प्रेरण तथा प्रपञ्चले सम्पन्न भएको हो । मैले पूर्वकालमा नै रावणलाई चेतावनी दिईसकेको थिएँ कि मेरै कारणरूप तेरो र तेरा पुत्र सहित मुलकासुर समेतको पटक-पटक यस लंकामा आई वध गर्नेछु भन्ने वचनको रक्षार्थ मेरो प्रेरणाले नै अपहरित हुन पुगेकी हूँ ।

यास्याम्यहं पुनर्लङ्का राक्षसानां बधाय च । निधनाय दशास्यस्य सपुत्रस्य समन्त्रिणः।।
हनिष्यामि पुनर्गत्वा पुनर्यास्यामि त्वत्पुरीम् । अहं चतुर्थवेलायामद्भुतं मूलकासुरम्।। -आनन्द रामायण सारकाण्ड ३ सर्ग २४४–२४५

पूर्वकालमा मेरा पिता पद्माक्षले लक्ष्मीलाई छोरीको रूपमा पाउँ भनी तप गरेको हुँदा तपका प्रभावले मेरो पद्माको रूपमा जन्म लिएको वखत मेरो स्वयंवरमा आएका राजकुमारले मलाई हरण गर्दा मेरा पिता पद्माक्षसँग भयङ्कर युद्ध हुन गयो त्यसै युद्धमा मेरा पिताको रावणबाट मृत्यु हुन पुग्यो । पछि युद्ध साम्य भएपछि म अग्निमा लुक्न गएँ ।

रावण गयो होला भनि के बाहिर निस्केर बसेकी मात्र थिएँ रावणले मलाई अग्निमा लुकेर वसेको देखि अग्निलाई निभाउन लाग्यो । त्यसले मलाई त फेला पारेन तर त्यहाँ मेरो विम्वको रूपमा पाँच वटा रत्न फेला पारी सन्दुकमा राखी लङ्का गयो र उक्त कुरा आफ्नी रानी मन्दोदरीलाई बतायो । मन्दोदरीले त्यो रत्न लिन जाँदा रत्नको स्थानमा म सुन्दरी कन्या भई वसेको थिएँ मलाई देखेर रावण तेजहिन भयो ।

रावणले राजा पद्माक्षसँगको युद्धको वृतान्त सुनाएपछि मन्दोदरीले यो कूल नाशिनी, विध्वंशकारिणी भएको हुँदा यसले हाम्रो कूल पनि नाश गर्छे । तब कतै वनमा छाडी आओ भनी मन्त्रीहरूलाई अह्राईन् । मन्त्रीहरूले पनि त्यो सन्दुश लिन जाँदा ती कन्याले भनीन् हे रावण ! म तिमी र तिम्रो पुत्रसहितको मृत्युको कारण बनेर लङ्कामा दोस्रो पटक आउने छु । फेरी तेस्रो पटक सय शिर भएको रावण मार्ने छु र चौथो पटक कुम्भकर्णको छोरा मूलकासुरलाई मार्न आउने छु भनी पद्माको रूपमा लङ्कामा नै गै चेतावनी दिएको थिएँ ।

जगत जननी, जनकनन्दिनी माता सीताको यस्तो लीलाको अनेकन दृष्टान्त अनेक पुराणहरूमा वर्णित छन् । तथापि यहाँ उहाँको उत्पत्तिको केही रहस्य पनि उल्लेख गर्न चाहन्छु ।

पूर्वकालमा ब्रम्हाजीबाट प्राप्त वरदानबाट उन्मत्त भै रावण त्रिलोकलाई दुःख दिन लाग्यो । यसै क्रममा एक दिन रावण दण्डकारण्य वनमा ऋषिहरू तपस्या गरीरहेको ठाउँमा गयो । तपस्याको प्रभावले अग्निसमान् तेजस्वी ऋषिहरूलाई देखि आफ्नो शक्ति बृद्धिका लागी बलपूर्वक वाँणद्वारा ऋषिहरूको रगत निकाल्न लाग्यो । ती तपस्या गर्ने ऋषिहरूमध्ये एक जना गृत्समद नामक ब्राह्मणको १०० जना छोराहरू मात्र भएर छोरी नहुँदा छोरीको कामना गरी लक्ष्मी समान मेरो छोरी भै जन्म लिन भगवान्सँग प्रार्थना गरी एउटा कलशमा दुध राखी पूजा आराधना गरी त्यो कलश त्यसै स्थानमा छोडी गएका थिए ।

रावणले ती ऋषिहरूको रगत त्यसै कलशमा थापी घरमा लगेर मन्दोदरीलाई दियो । हे मन्दोदरी ! यो कलशमा सिद्ध ऋषिहरूको रगत छ । यो विषभन्दा पनि कडा छ त्यसैले यसलाई सम्हालेर राख भनी आदेश दिएर आफू देव, दानव, यक्ष किन्नरहरूको कन्या हरण गरी रमण गर्न गयो । मन्दोदरीले आफ्नो पतिको यस्तो पतित चाला देखी जीवन देखी विरक्त भै त्यै विष समान कलशको रगत पिई दिईन् ।

ब्राह्मणले लक्ष्मीलाई छोरीको रूपमा चाहना गरी आराधना गरेको कलश भएकोले त्यसको प्रभाव स्वरूप मन्दोदरीलाई प्रकाशमान गर्भ रहन गयो । गर्भ रहेको चालपाई डराई तीर्थ जाने निहुँले विमानमा चढी कुरूक्षेत्रमा गएर त्यो गर्भलाई पृथ्वीमा गर्भपात गरी त्यहिं गाडी नदीमा स्नान गरी घर फर्कि आईन् । उता राजा जनकले आफ्ना सन्तान नभई सन्तान प्राप्तिका लागी विभिन्न यज्ञ गर्दै जाने क्रममा यज्ञ गर्नाका खातिर यज्ञभूमि निर्माणको लागी सुनको हलो जोत्दा मन्दोदरीले गर्भ पतन गरी वाकशमा राखी गाडेको वाकस हलोको फालिमा अल्झेर कन्या उत्पन्न भएको देखि आश्चर्य माने ।

त्यसै बखत आकाशबाट पुष्पवृष्टि हुन थाल्यो र आकाशवाणी भयो हे राजन् ! यी कन्यालाई आफ्नी सन्तान सरह मानी पालन-पोषण गर । यिनी संसारलाई मंगल गर्ने साक्षात् लक्ष्मीले अवतार लिएको हो भन्ने सुनी राजा जनक अति हर्षित भै सीता नामाकरण गरी उनलाई आफ्नै कन्याको रूपमा पालन-पोषण गर्न लाग्नु भयो भन्ने कुरा वाल्मीकिले भरद्वाज ऋषिलाई सुनाएको प्रसङ्ग अदभुत रामायणमा वर्णन गरिएको पाइन्छ ।

भगवतीसीता जन्मकै बारेमा अर्को एक दृष्टान्त पनि संक्षेपमा वर्णन गर्न चाहन्छु । एक दिन रावणले आफ्ना राज्यमा भएका तथा बसोबास गर्दै आएका सबै बासिन्दाहरूलाई कज्याई वसमा राख्ने इच्छा राखी आफ्ना राज्यमा को-को वस्दछन् ती सबैसँग कर लिने मनसुवा राखी घुम्न जाँदा एउटा जंगलमा धेरै ऋषिहरू तपस्या गरीरहेको देखी ती तपस्वीहरूसँग पनि कर माग्न लाग्यो । ती ऋषिहरूले हामीहरू पात-पतिङ्गगरबाट कुटी बनाई यहि जंगलमै फलेको कन्दमूल खाई तपस्या गरीएकाहरूसँग के सम्पत्ति छ र दिनु ।

हामीहरूलाई कर माफी दिनु भनी अनुरोध गर्दा रावणले मानेनन् । तसर्थ, करका रूपमा के दिने भनि व्याकुल भई विचार गर्न लागेका थिए त्यसै बखत ती तपस्वीहरूको अन्तष्करणमा वेद माताले रावणको समूल नष्ट गर्ने धेय राखी आफ्नो औंलाबाट दुई दुई थोपा रगत देओ ! त्यसै रगतबाट मैले जन्म लिई त्यसको अन्त्यको तारतम्य मिलाउँछु भनी आज्ञा भयो । ऋषिहरूले पनि वेद माताको आज्ञा अनुसार आफ्ना औंलाबाट रावणलाई करको रूपमा रगत दिए । रावणले ऋषिका रगत चाँदीको भाँडामा थापी लङ्कातर्फ गयो र मन्दोदरीलाई यो विष समान छ सम्हाली राखेस् भनी आफू घुम्न हिड्यो ।

आफू हुँदा हुँदै आफ्ना श्रीमान्ले अन्य परस्त्रीहरूसँग मनोविनोद गरेको देखि दिक्क भएर मर्छु भनी आत्महत्या गर्ने अभिप्रायले विष समान् त्यो वस्तुलाई पान गरीन् । त्यो ऋषि रगत पान गरेपछि मन्दोदरीको गर्भ रहन गयो । रावण अन्यत्र भएको बखत त्यो गर्भ रहन गएको कुराले मन्दोदरी चिन्तित भईन् । त्यो गर्भपात गर्दा एक तेजश्वीनी कन्याको उत्पत्ति भएको देखी डराई त्यसै भाँडामा राखी आफ्ना सेविकाहरूलाई लङ्काको सीमाभन्दा बाहिर फाली आउनु भनी आज्ञा गरीन् ।

सेविकाहरूले पनि उक्त भाँडालाई अवध (हालको जनकपुर अर्थात्, मिथिला क्षेत्रमा) मा लगि माटोले पुरी आए । त्यसै बखत मिथिलामा जल वृष्टी नभएर खडेरी परेकोले बृष्टी यज्ञ गर्न भूमि शुद्धि गर्ने क्रममा राजा जनकले हलो जोत्दा हलोको फालीमा उक्त भाँडो अड्किएर साथै आयो र त्यस भाँडामा के छ भनि हेर्दा एक अति सुन्दर र तेजश्वीनी कन्या देखी राजा जनकले विस्मात मान्दा आकाशबाणी भयो ।

हे राजन ! “यी कन्या जगत जन्नी हुन् । यीनलाई आफ्नै सन्तान सरह पोषण गरी राख्नुहोस्” भन्ने कुरा सुनेपछि हर्षित भई राजा जनकले ती कन्यालाई आफ्नै सन्तानसरह पालन-पोषण गर्नु भयो । ती कन्या नै माता सीताको रूपमा उत्पत्ति भएकी थिइन् भन्ने केही फरक प्रसङ्ग मणिरत्न रामायणमा उल्लेख गरेको पाइन्छ । त्यस्तै रावणादि राक्षसबाट पृथ्वी माता गौरूप धारण गरेर ब्रह्माको साथमा विष्णु भगवान् सँग पृथ्वी उद्धारार्थ धर्म रक्षाको लागी प्रार्थना गर्न वैकुण्ठ जानु भयो ।

तव भगवान् विष्णुले पृथ्वी उद्धारार्थ भूमिमा अवतार लिन्छु, सव देवताहरूलाई पहिले नै वानरणादि रूपमा जन्म लिन आदेश दिनु भयो र पहिले नै दुन्दुभी गन्धर्वीले मन्थराको रूपमा कैकेय देशमा जन्म लिई सकेकी थिईन् । सीताजीको पनि त्यसै प्रयोजनका लागि स्वयं लक्ष्मीजीले अवतार लिएको हो भन्ने पौराणिक मान्यता छ । हाम्रो देशले उहाँलाई राष्ट्रिय विभुतिको रूपमा मान्यता प्रदान गरेको स्मरण गराउन चाहन्छु । अस्तु ! लेखक धर्म संस्कति विषयक अन्वेषक हुनुहुन्छ भने नेपाल प्रज्ञा प्रतिष्ठानबाट उहाँको रामायण रहस्य नामक कृति पनि प्रकाशित छ ।

*काठमाडौँको कपन निवासी लेखक सुरेन्द्रप्रसाद सिग्देल धर्म संस्कति विषयक अन्वेषक हुनुहुन्छ । उहाँको नेपाल प्रज्ञा प्रतिष्ठानबाट रामायण रहस्य नामक कृति प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !